कोरोनाको नयाँ भेरियन्टका कारण अमेरिकाले लगायो ८ देशबाट अमेरिका आउन प्रतिबन्ध


प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार

दक्षिण अफ्रिकामा फैलिएको कोरोनाको नयाँ भेरियन्ट र उत्परिवर्तनका कारण अमेरिकाले ८ देशबाट अमेरिका आउनमा रोक लगाएको छ । सोमबारदेखि लागु हुनेगरी अमेरिकाले दक्षिण अफ्रिका र अन्य ७ देशबाट अमेरिका आउनमा रोक लगाउने घोषणा गरेको छ ।

अमेरिकाले साउथ अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिविया, लेसोथो, इस्वाटिनी, मोजाम्विक र मालावीबाट अमेरिका आउनमा रोक लगाएको हो । ती देशबाट अमेरिकी ग्रिनकार्ड र अमेरिकी नागरिकलाई आउन भने रोक लगाइनेछैन । अमेरिका र दक्षिणी अफ्रिकी चिकित्सकबीच शुक्रबार भएको बैठकपछि यस्तो प्रतिबन्धको घोषणा गरिएको हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पनि शुक्रबार कोरोनाको नयाँ भेरियन्टबारे जानकारी दिइएको थियो । विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्टको औपचारिक नामाकरण गरिसकेको छ भने भेरियन्ट अफ कन्सर्न बताइसकेको छ ।

दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ संक्रामक भेरियन्ट भेटिएपछि यसले विश्वभर चिन्ता र त्रास बढाएको छ । नयाँ भेरियन्टले प्रतिरोध प्रणालीमा बढी आक्रमण गर्ने र छिटो फैलिने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

बी वान वान ५२९ नामको नयाँ भेरियन्ट दक्षिण अफ्रिका, बोट्स्वाना, बेल्जियम र इजरायलमा पुष्टी भइसकेको छ । बेल्यिजम नयाँ भेरियन्ट भेटिएको पुष्टी हुने पहिलो युरोपियन मुलुक हो ।

इटली, अष्ट्रिया, फ्रान्स, जापान, यूके, सिंगापुर, नेदरल्याण्ड, माल्टा, मलेसिया, मोरक्को र फिलिपिन्सले अफ्रिकाका कम्तीमा ६ देशबाट आफ्नो देशमा आउन प्रतिबन्ध लगाइसकेका छन् ।

स्पेनले पनि दक्षिण अफ्रिका र बोत्सवानाबाट यात्रा प्रतिबन्ध लगाउने भएको छ । नोभेम्बर ३० देखि लागु हुनेगरी यात्रा प्रतिबन्ध लगाउने तय भएको हो । जर्मनीले ठूलो संख्यामा उत्परिवर्तन भएको नयाँ कोभिड १९ को फैलावट रोक्न दक्षिण अफ्रिकाबाट हुने धेरैजसो यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको कार्यवाहक स्वास्थ्य मन्त्री जेन्स स्पानले शुक्रबार बताएका छन् ।

शुक्रबार रातिदेखि शुरु हुने नयाँ नियमहरूले दक्षिण अफ्रिका र सम्भवतः छिमेकी राष्ट्रहरूलाई असर गर्ने स्पानले बताएका छन् । यद्यपि जर्मन नागरिकलाई भने प्रवेश अनुमति दिइएको छ । खोप लगाए पनि उनीहरू स्वदेश आइपुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com