धार्मिकरूपमा जति पवित्र मानिन्छ सेती नदी,पछिल्लो समय त्यतिनै दुर्गन्धित बन्दै


प्रकाशित मिति : मंसिर ९, २०७८ बिहीबार

विमल बहादुर विष्ट / सेती नदीलाई पवित्र मानिन्छ । यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको सेती नदीमा दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि दुर्गन्धित बन्दै गएको छ ।

पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्लाको प्रमुख व्यापारी केन्द्रबाट निस्किने फोहर सिधैँ सेती नदीमा फालिने गरेका कारण बर्सेनि फोहर तथा दुर्गन्धित बन्दै गएको हो । प्रदूषणकै कारण अहिले नदीको पानी पिउन र स्नान गर्न नसकिने अवस्था रहेको स्थानीयवासी बताउँछन् ।

“सदरमुकाम दिपायल, पिपल्ला किनारका बस्तीका सबै फोहर नदीमै जान्छ”, स्थानीयवासी तथा व्यापारी रामबहादुर विष्टले भन्नुभयो । उहाँका अनुसार बजार क्षेत्रको फोहर सेतीमै बिसर्जन गरिन्छ । किनारका बस्तीको ढल निकास पनि नदीमै छाडिएको छ । अझ कतिपय ठाउँमा मलमूत्रसमेत नदीमै मिसाइएको सहजै देखिन्छ । यसले सेती नदी दिन प्रतिदिन दूषित बन्दै गएको हो । कुहिने नकुहिने सबै प्रकारका फोहर सेतीमा मिसाउँदा पानी दूषित बन्दै गएको हो ।

“यहाँका व्यापारी तथा स्थानीयवासीले घरको ढल र प्लास्टिकजस्ता फोहोर सधैँ नदीमा फाल्ने गरेका कारण दिन प्रतिदिन दुर्गन्धित बन्न थालेको छ”, उहाँले भन्नुभयो, “नगरपालिकाले ढल निकासको व्यवस्थापन गर्न नसक्दा बजारमा निस्किने फोहर तथा स्थानीयवासीले ढल सिधँै नदीमा फाल्ने गरेका छन्, यसले बर्सेनि सेती नदी दुर्गन्धित बन्दै गएको छ ।” बजारबाट निस्किने फोहर तथा ढल नदीमा मिसाउने विषयमा पटक–पटक दिपायल सिलगढी नगरपालिकामा जानकारी गराउँदासमेत व्यवस्थापनका लागि नगरपालिकाले खासै चासो नदेखाएको स्थानीयवासीको आरोप छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बजारबाट निस्किने फोहर व्यवस्थापनका लागि जमिन नपाएका कारण समस्या हुँदै आएको नगरपालिकाले जनाएको छ । धार्मिक आस्था बोकेका पवित्र सेती नदीमा फोहर थुप्रिन थालेपछि पानीको शुद्धता हराउँदै क्षारियपना बढ्दै गएको अर्का स्थानीयवासी घनश्याम पाठकले बताउनुभयो । उहाँले भन्नुभयो, “सेती नदी हिमालबाट बगेर आउँछ, यो पवित्र नदी हो, यसैमा फोहर मिसाउँदैछन, यो क्रम नरोकिए अबका केही वर्षमा यो नदी वाग्मती नदी जस्तै फोहर हुनेछ ।”

फोहरको मात्रा बढ्दै जाँदा नदीमा बस्ने जलचर प्राणी हराउँदै जान थालेको उहाँको भनाइ छ । यतिमात्र होइन, गर्मी होस् वा जाडो, यहाँका नागरिक सेती नदीको पानी खानका लागि प्रयोग गर्ने भएकाले फोहर तथा दुर्गन्धित हुन थालेपछि विभिन्न खाले रोगको सङ्क्रमण देखिने अवस्था रहेको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक आइजङ् कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, “दिपायलमा पानीको समस्या हुन्छ, यहाँका नागरिकले प्रायः खानका लागि सेती नदीकै पानी प्रयोग गर्छन, त्यही पानी फोहर भए रोगको सङ्क्रमण बढ्ने नै भयो ।” यहाँका स्थानीयवासीले नदीको पानीमा नुहाउने, गाईवस्तुलाई खुवाउने, बालुवा झिक्ने र दाउरा सङ्कलन गर्ने जस्ता काम गर्दै आएका छन् ।

यहाँको शिखर नगरपालिकाको बानीडुग्रीसैनदेखि दिपायल सिलगढी नगरपालिकाको नारिदाङसम्मका नागरिकले सेती नदीको पानी प्रयोग गर्दै आएका छन् । खोला तथा नदीको संरक्षण र सरसफाइको जिम्मेवारी स्थानीय तहको भए पनि यहाँका दुई स्थानीय तह दिपायल सिलगढी र शिखर नगरपालिकाले नदीमा फोहर व्यवस्थापनका लागि पहल नचालेकाले यस्तो समस्या उत्पन्न भएको दिपायलका स्थानीयवासी कर्णबहादुर द्वारियाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “फोहर व्यवस्थापनका लागि नगरपालिकाले कुनै पहल चाल्दैन, बजारको फोहर र घरका ढल जति नदीमा छन्, कसरी सेती नदी सफा र शुद्ध हुन्छ ।” उहाँका अनुसार नदी किनारका कयौँ घरको शौचालयको सेफ्टीट्याङ्की अहिले पनि छैनन् । मदिराका बोतल जथाभावी फालिएका देखिन्छन् । घर तथा बजारबाट निस्किने फोहर नदी तथा खोलामा सिधैँ फाल्न नपाउने कानूनी व्यवस्था भए पनि त्यसको वास्ता नगरी नदीमा फोहर व्यवस्थापन गरिएकाले समस्या भएको कानून व्यवसायी शङ्करदीप मडैले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी तथा खोलामा सिधैँ फोहर व्यवस्थापन गर्न नपाइने कानूनी व्यवस्था छ तर त्यसको कार्यान्वयन नहुँदा समस्या भएको देखिन्छ ।”

सेती नदीमा फोहरको मात्रा बढ्दै जाँदा भविष्यमा विकराल समस्या आउने वातावरणविज्ञको भनाइ छ । “घरभित्र र घर बाहिरबाट निस्केको फोहरका कारण महाकाली नदीको पानीमा दूषितको मात्रा बढ्दै गएको छ । यसको असर जलचर तथा मानव स्वास्थ्यमै पर्छ”, वातावरणविज्ञ भन्छन्, “यसतर्फ सबैले समयमै सोच्नुपर्छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com