पेट्रोलियम पदार्थको मूल्य घटाउन भण्डारमा रहेको तेल झिक्ने घोषणा गर्दै बाइडेन


प्रकाशित मिति : मंसिर ७, २०७८ मंगलबार

अमेरिकामा बढेको पेट्रोलियम पदार्थको मूल्य घटाउने प्रयास स्वरुप अमेरिकी राष्ट्रपति जो बाइडेनले भण्डारण रहेको तेल झिक्नेबारे घोषणा गर्ने भएका छन् । रणनीतिक पेट्रोलियम भण्डारबाट ५० मिलियन ब्यारल तेल झिक्नेबारे बाइडेनले मंगलबार औपचारिक घोषणा गर्ने भएका छन् ।

तेल झिक्ने घोषणा चीन, भारत, दक्षिण कोरिया, यूके लगायतका मुख्यरुपमा तेलको खपत गर्ने देशहरुसँगको समन्वयमा हुन लागेको ह्वाइट हाउसले जनाएको छ । रणनीतिक पेट्रोलियम भण्डार अमेरिकाको डिपार्टमेन्ट अफ इनर्जीले संचालन गरेको पेट्रोलियम पदार्थको भण्डारण हो ।

अमेरिकाको लुजियाना र टेक्सासको भण्डारमा ७१४ मिलियन ब्यारल तेल भण्डारण गर्न सक्ने क्षमता रहेको छ । अहिले अमेरिकासँग ६२१ मिलियन ब्यारल तेल भण्डारमा रहेको जनाइएको छ । सन् १९७३ देखि १९७४ सम्म तेलमा लगाइएको रोकपछि अमेरिकाले सन् १९७५ देखि भविश्यमा आउनसक्ने आपतकालिन अवस्थाका लागि भन्दै तेलको भण्डारण सुरु गरेको हो ।

झण्डै एकदर्जन डेमोक्रेटिक सांसदहरुले भने बाइडेनलाई भण्डारणमा रहेको तेल झिकेरमात्र नभई अमेरिकाबाट तेलको निर्यात समेत रोकेर पेट्रोलियम पदार्थको मूल्यबृद्धिको सामना गर्न आग्रह गरेका छन् । अमेरिकामा पेट्रोलियम पदार्थको मूल्यबृद्धि चर्को बनेपछि घटाउने योजनाका लागि बाइडेन समक्ष दवाव बढेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com