पखालाबाट छिटो निको हुन आहार विशेषज्ञका टिप्सहरु, के खानुपर्छ ? के खानुहुँदैन ? 


प्रकाशित मिति : मंसिर ५, २०७८ आईतबार

कहिलेकाँही खानपान नमिल्दा पखला लाग्ने गर्छ । कहिले मसलायुक्त खाना वा बोसोयुक्त खानाका कारण पनि पखला लाग्न सक्छ । ब्याक्टेरिया वा भाइरसको असन्तुलन, पाचन असन्तुलन, कतिपय एन्टिबायोटिक औषधीका कारण समेत पखला लाग्नसक्छ ।

दिनमा तीनपटक वा त्यो भन्दा बढी पातलो दिसा भएमा पखला लागेको अवस्थाका रुपमा परिभाषित गरिन्छ । र, पखाला निको हुँदासम्म दुईतीनदिन कुर्न नसक्ने अवस्था समेत हुनसक्छ । यस्तो अवस्थामा पखालाबाट छिटो मुक्त हुन आहार विशेषज्ञहरुले केही टिप्सहरु दिएका छन् ।

सेतो डाइट

सेतो डाइटका रुपमा चिनिने खानाले पखाला छिटो निको पार्न मद्दत गर्छ । केरा, भात, स्याउको सस र सेतो टोस्टले पखाला छिटो निको पार्न मद्दत गर्छन् । यि खानामा हुने तत्वले दिसा निर्माण गर्न सहयोग गर्छन् । ओटमिल, उसिनेको वा पोलेको आलु, छाला नभएको चिकेन, सेतो माछा, अण्डाको सेतो भाग, नरम टोफु, पनिर र दही पनि पखाला लागेको बेला खानु उपयुक्त हुन्छ । यी खाना पखाला खराब भएको बेला खानुपर्छ र दिसा कडा हुँदै गएपछि अरु खाना थप्दै जानुपर्छ ।

सादा दही वा मोही

दही असल ब्याक्टेरियाको श्रोत हो, जसलाई प्रोबायोटिक्स भनिन्छ । यो स्वस्थ्य आन्द्रा बनाउनका लागि उपयोगी हुन्छ । ल्याक्टिक एसिडले पखाला लागेको बेला नोक्सान गर्नसक्ने भएकाले सामान्यतया यस्तो अवस्थामा दुग्धजन्य पदार्थ नखान भनिएपनि दही र मोही भने अपवादमा पर्छन् । दैनिक एक कप मोही वा सानो कचौराको एक कचौरा दही खाएमा शरिरले पखालासहित मिल्काएको राम्रो ब्याक्टेरिया शरिरमा पुनः प्राप्त हुन मद्दत पुग्छ ।

झोलिलो खाना

पखाला लाग्दा झोलपदार्थ खानुपर्छ । हरेक पटक पातलो दिसापछि कम्तिमा एक कप झोलपदार्थ खानुपर्छ । पानी, फलफूलको जुस, क्याफिन नभएको सोडा (कोक), नुनिलो सुप उपयुक्त छनौट हो । नुनले शरिरको तरलता नष्ट हुनबाट रोक्न मद्दत गर्छभने चिनीले शरिरलाई नुन सोस्न सघाउँछ ।

खान नहुने खाना

पखाला लागेको बेला अझ खराब बनाउने खालका खानाहरु खानु हुँदैन । क्याफिनयुक्त पदार्थ (कफी), रक्सी, आलुबखडाको जुस, सुकाएका फलफूल, चिनीको साटो प्रयोग गरिने गुलिया पदार्थ, बोसोयुक्त खाना, भुटेको खाना, तारेको खाना र मसलायुक्त खाना खानुहँुदैन ।

भातको माड

पखाला लागेको बेला भातको माड खाएमा शरिरमा पानीको कमी हुन पाउँदैन । साथै स्टार्चले पखालाको अवधि घटाउनुका साथै दिसा निर्माणमा मद्दत गर्छ । एक कप चामलमा दुई कप पानी मिसाएर दश मिनेट उमालेर माड बनाउन सकिन्छ । पानी सेतो भएपछि त्यसलाई चामलबाट अलग गरेर थोरै नुन वा चिनी मिसाएर खान सकिन्छ ।

प्राय पखाला औषधि नखाएपनि केही दिनमा निको हुन्छ । माथि उल्लेखित तरिका अपनाउँदा पनि पखाला निको नभए चिकित्सकको सल्लाह लिएर औषधि सेवन र उपचार गर्नुपर्छ ।

यी सामान्य जानकारीहरुमात्र हुन् । स्वास्थ्य समस्या भएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com