आज कुकुर तिहार : ब्यारेकमा ‘फौजी कुकुर’ को पूजा


प्रकाशित मिति : कार्तिक १७, २०७८ बुधबार

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

यस्तैगरी कुकुर तिहारको अवसरमा नेपाली सेनाले भक्तपुरको गठ्ठाघरस्थित भैरव बहान गुल्ममा पालिएका कुकुरको पूजा गरेको छ । गुल्ममा रहेको डग केनलमा हाल जर्मन सेफर्ड २३, लेब्राडोर ५५ र ककर स्पाइनल ७, गोल्डेन रिट्रिभर २ र मालिनोइज १ बच्चा कुकुर रहेका छन् ।

विभिन्न जातका ८८ वटा तालिम प्राप्त कुकुरको पूजा गरिएको थियो । कुकुरलाई यमराजको दूतको रूपमा र भगवान भैरवको वहानको रूपमा पुजिने गरिन्छ ।

कुकुर पाल्नाले मुटु र मधुमेहजस्ता रोग नलाग्ने आधुनिक वैज्ञानिक मान्यता छ । वैवस्वत मन्वन्तर कुलमा जन्मिएको कुकुर अहिले लोकप्रिय घरपालुवा जनावरका रूपमा समेत स्थापित भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com