Follow @khasokhasmag

हिंसाले विदेशिन बाध्य !


प्रकाशित मिति : जेष्ठ २१, २०७४ आईतबार

नेपालमा हिंसाको पीडामा मल्हम लगाउन विदेश जान चाहे पनि उनीहरूले विदेशमा समेत थप हिंसा खेप्नुपरेका उदाहरण पनि भेटिन्छन् ।
 लक्ष्मी बस्नेत
काठमाडौं । राजधानीमै घर भएकी एक महिला अहिले विदेश जाने अन्तिम तयारीमा छिन् । उनी विदेश जान लाग्नुको कारण हो, पारिवारिक कलह । उनको बिहे गरेको ४ वर्ष भयो । पहिलो वर्ष त श्रीमानसँग राम्रो सम्बन्ध रह्यो । त्यसपछिका दिनहरूमा आफूलाई श्रीमानले गलत रूपमा हेर्न थाले । ‘लोग्नेले नै कुट्न थालेपछि अरूले त जे पनि गर्छन् ।

हुँदाहुँदा त सासू, ससुरा र आमाजूसमेत भएर कुट्न थाले । दिनदिनै कुटाइ खाएर बस्नुभन्दा बाहिर जान्छु । मरे पनि उतै मरुँला,’ उनी भन्छिन् । उनी खास त अभावमा भन्दा पनि सुरक्षित हुन विदेश जान चाहेकी हुन् । आफ्नो दुई वर्षको बच्चालाई माइतीमा राखेर उताबाट खर्च पठाइदिने सोच उनको छ । उनी भन्छिन्, ‘अहिले मलाई राम्रो देश अनि राम्रो कामभन्दा पनि जसरी पनि चाँडै विदेश पुग्नु छ । राक्षस परिवारबाट छिट्टै अलग हुन चाहन्छु । एउटै उपाय देखेकी छु । त्यो हो बाहिर जानु ।’

उनीजस्तै अधिकांश महिला हिंसामा परेर हतारमा विदेश जाँदा गलत ठाउँमा पुग्ने गरेका छन् । उनीहरू नेपालमा हिंसाको पीडामा मल्हम लगाउन विदेश जान चाहे पनि विदेशमा समेत थप हिंसा खेप्नुपरेका उदाहरण पनि भेटिन्छन् । सन् २०११ मा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय र श्रम मन्त्रालयअन्तर्गतकै एक परियोजनामार्फत गरिएको अध्ययनले पनि घरेलु हिंसा पनि महिला बिदेसिनुको मुख्य कारण भएको निष्कर्ष निकालेको थियो ।

हेटैाँडा हाँडीखोलाकी नीता (नाम परिवर्तन) पनि घरायसी कामका लागि कुवेत पुगिन् । हतारमा जाँदा उनी त्यहाँ पुगेको पहिलो दिनदेखि नै थप पीडित बनिन् । श्रीमानले रक्सी खाएर कुटपिट गर्ने र तीन छोराछोरीको लालनपालन र पढाइ खर्चको जोहो गर्ने कुनै उपाय नदेखेर व्यक्तिगत भिसामा बिदेसिएकी नीता आफूलाई सुरुदेखि नै मालिक्नीले कोठामा थुनेर कुटपिट गरेको बताउँछिन् ।
केही महिनाअघि काठमाडौंको एक संरक्षण गृहमा भेटिएकी उनले केही पत्रकारबीच त्यो घटना सुनाइरहँदा उनको आँखा रसाएको थियो । अपत्यारिलोजस्तो लाग्ने कहानी एकपछि अर्को भन्दै जाँदा अरूका पनि आँखा रसाएका थिए । उनी भन्छिन्, ‘अढाइ वर्ष बसेँ । सुको पैसा पनि ल्याएको छैन ।

जीउभरि घाउ, नीलडाम, घाउको खाटा र दुःखको पोको मात्रै भयो ।’ युवा उमेरमा कमाएर दिन फेरिएला कि भन्ने आसले बिदेसिएकी उनी अहिले मानसिक रूपमा समेत विक्षिप्त भएकी छिन् भने यातनाले शरीर पनि थङ्थिलो भएको छ । दुई वर्षको व्यक्तिगत भिसामा गएकी उनी फर्किने अवस्था नभएर ६ महिना बढी त गैरकानुनी रूपमा (ओभरस्टे) बसिन् । पछि जसोतसो भिसाको म्याद सकिएकाले मालिकले नै प्रहरी कार्यालयमा लगेर छोडिदिए । त्यसपछि उनी नेपाल फर्किने समूहमा परिन् । उनी विगत सम्झँदै भन्छिन्, ‘जेलमा पनि प्रहरीले लात्तैलात्ताले हान्थ्यो ।’ जसोतसो उनी शरीरभरि घाउ बोकेर रित्तो हात नेपाल आइन् ।

रानकी रंगीता विकको पीडा पनि उस्तै छ । २२ वर्षमै विदेश गएकी उनले साउदीमा तीन र कुवेतमा दुई वर्ष बिताइन् । कुवेतमा पाएको यातना सम्झिँदा झस्किँदै उनले थपिन् , ‘त्यहाँको सबै कुरा बिर्सिने उपाय कसैले सिकाइदिए हुन्थ्यो ।’ दुःख गरेर दुई–चार पैसा कमाएर उनी नेपाल आउँदा उनका पतिले अर्को बिहे गरिसकेछन् । आफ्नो व्यक्तिगत जीवनको खुसी, सुख र हाँसो सकिएको गुनासो गर्दै उनी भन्छिन्, ‘भोको पेट बस्न परे पनि बिदेसिने दिदीबहिनीलाई खाडी मुलुक नजान सुझाव दिने र आफ्नोजस्तै पीडा व्यहोरेकाहरूलाई जोगाउने प्रयास गर्नेछु ।’

गरिबी र स्वदेशमा रोजगारीको अभावले नेपाली युवा रोजगारीका लागि बिदेसिनु मुख्य कारण हो । महिला बिदेसिनुमा अर्को पनि कारण देखिएको छ, त्यो हो– घरेलु हिंसा । विभिन्न अध्ययनले पनि यसलाई पुष्टि गरिसकेको छ । बिदेसिएपछि महिला भएकै कारण हुने हिंसा र विभेद अन्त्य गरिनुपर्नेचाहिँ राज्यको जिम्मेवारी हो भन्छन् यस क्षेत्रमा कार्यरत अधिकारकर्मी ।

पौरखी सचिव सत्रकुमारी गुरुङ भन्छिन्, ‘विभेद कानुनले गरेको छैन । सोच र संरचनाले गरिरहेको छ ।’ पछिल्लो २० वर्षको अवधिमा नेपालमा छुट्टै श्रम मन्त्रालय बन्यो । विभाग, बोर्ड बन्यो । वैदेशिक रोजगारी ऐन २०६४ आयो । ऐनको दफा ८ ले कामका लागि विदेश जाने सन्दर्भमा लिङ्गका आधारमा विभेद गरिने छैन भनिएको छ । तर, ऐन घरेलु कामदारसम्बन्धी निर्देशिका २०७२, महिलाका लागि बन्देज लगाउने खालको छ ।

यसले गर्दा नीति–नियमसम्बन्धी व्यवस्था नै महिलाका लागि विभेदपूर्ण हुँदा अवैध बाटोको प्रयोग गरी महिला बिदेसिएका छन् । विशेषगरी कामका लागि महिला कुवेत, लेबनान, इजरायल, बहराइन जाने गरेका छन् ।पछिल्लो समय भने लिबियालगायत मध्यपूर्वी मुलुकका साथै अफ्रिकी मुलुकमा समेत अवैध बाटो हुँदै महिलालाई पु¥याउने गरेको पाइएको छ । पौरखीका अध्यक्ष मञ्जु गुरुङ सरकारको अप्ठ्यारो व्यवस्था, नयाँनयाँ नीति–नियमले गर्दा स्वीकृति लिएर जाने महिला घटे पनि गैरकानुनी बाटोबाट जानेहरू बढेको बताउँछिन् ।

सरकारले महिलालाई विदेश जान २४ वर्ष पूरा हुनुपर्ने भनेको छ । यसरी लगाएको उमेरको हदबन्दी पनि ऐनविपरीत रहेको गुरुङको भनाइ छ । झन्डै एक वर्षदेखि दुई वर्षभन्दा सानो बच्चा भएका आमालाई पनि विदेश जान नदिने व्यवस्था सरकारले गरेको छ । उनको भनाइ पनि त्यही छ, ‘हदबन्दी र प्रतिबन्धित प्रावधानकै कारण पनि महिला गैरकानुनी प्रक्रिया र अवैध बाटोबाट बिदेसिने क्रम बढेको हो । उनी थप्छिन्, ‘ढोका बन्द भएपछि झ्यालबाट भए पनि मान्छे निस्किन खोजिहाल्छ नि ।’

पछिल्लो समयमा महिला बेचबिखन, दलालको फन्दामा फसेको, अवैध बाटो हुँदै बिदेसिएको भन्ने घटनाहरू बढ्दै गएको छ । फेरिँदो बेचबिखनको स्वरूपले पनि वैदेशिक रोजगारीको प्रलोभनमा फस्ने र बेचिने बढ्दै गएका छन् । अधिकारकर्मीहरू महिलाको यस्तो घटना झन् डरलाग्दो हुँदै जाने आँकलन गर्दै यसमा सरकारकै कमजोरी बढी ठान्छन् । पौरखी नेपालले गरेको एक अध्ययनअनुसार कामका लागि जाने झन्डै ९० प्रतिशत महिला आर्थिक, सामाजिक, सांस्कृतिकलगायत कुनै न कुनै कारणले विभेदको सिकार भएरै घर छोडेको देखिएको छ ।

तर, नेपाल सरकारअन्तर्गतको वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे गैरकानुनी रूपमा जानेलाई रोक्न अप्ठ्यारो छ भन्नुहुन्छ । ‘धेरै कमाउने, घरमा छलेर, उमेर ढाँटेरसमेत जानेलाई के गर्न सकिन्छ र ?’ उहाँको उल्टै प्रश्न छ । तथ्याङ्कगत रूपमा घट्नु वा बढ्नुभन्दा पनि कानुनी रूपमा गएर त्यहाँ गरेको श्रमको मूल्य पाए हुन्थ्यो भन्ने धेरैको भनाइ छ । गैरकानुनी रूपमा बिदेसिने महिलामा यौन शोषण, बलात्कार, यातना, कुटपिटजस्ता हिंसा हुने गरेको पाइएको छ ।  (संचारिका फिचर सेवा) (लक्ष्मी, काठमाडौंमा कार्यरत पत्रकार हुन् ।) तस्विर गुगलबाट साभार गरिएकाे हाे ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com