देशका अधिकांश भू–भागमा वर्षा जारी,धानबालीमा क्षति


प्रकाशित मिति : कार्तिक १, २०७८ सोमबार

बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षा समेत भएको छ । पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु सुस्त गतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन प्रभाव रहने मौसमविद् मञ्जु बसीले बताउनुभयो ।

काठमाडौँ उपत्यकामा बदली रहनुका साथै हल्का वर्षा समेत भइरहेको छ । उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ । देशको पश्चिमी भेगमा भारी वर्षा भएको छ । महाशाखको पछिल्लो विवरणमा दिपायलमा १६६, डडेलधुरामा १५५, घोराहीमा १३३, भैरहवामा ११२, धनगढीमा ९० र पोखरामा ५६ मिलिमिटर वर्षा भएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

साथै, सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही स्थान र प्रदेश नं २, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । रातिको समयमा पनि प्रदेश नं १र लुम्बिनी प्रदेशका थोरै स्थान, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज काठमाडौँ अधिकतम तापक्रम २५ र न्यूनतम न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

धानबालीमा क्षति

आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण पाकेको धानबालीमा ठूलो क्षति पुगेको छ । दसैँअघि नै जिल्लाका अधिकांश क्षेत्रमा धान पाकेर पहेँलो भए पनि किसानले दसैँ चटारोका कारण धान काट्न भ्याएका थिएनन् ।

दसैँ टीका लगाएर किसान धान काट्न सुरु गरेका थिए । “दुई दिनसम्म धान काट्यौँ, अहिले लगातारको पानीले पाकेको धान सखाप पारेको छ, अब कसरी धानलाई भित्र्याउने भन्ने चिन्ता छ”, दङ्गीशरण गाउँपालिका–३ का ३५ वर्षीय किसान खुशीराम चौधरीले भन्नुभयो । उहाँले थप्नुभयो, “यसपटक समयमा नै पानी परेपछि धान रोपाइँ पनि समयमा गरौँ, मलको अभाव पनि थिएन । धान पनि राम्रो थियो तर अहिले घरमा भित्र्याउन लाग्दा पानी परेर ठूलो क्षति भयो ।”

पानीले खेतबारीका धानसँगै तोरी अन्य बाली साथै तरकारीमा समेत क्षति पु¥याएको किसानले बताएका छन् । तुलसीपुर–६ का किसान नन्दु चौधरीले आफूहरूका मात्र नभई धेरैको खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी भिजेको बताउनुभयो । उहाँले वर्षभरि खाने धान काटेको दुई दिनमा खेतमा पानी भरिएकाले कतै धान झर्ने हो कि भन्ने चिन्ता लागेकोसमेत बताउनुभयो ।

लगातारको कात्तिके झरीले जिल्लाको घोराही, लमही, भालुवाङ, पश्चिम दाङका किसानलाई बाँकी रहेको धान पनि कसरी भित्र्याउने भन्ने समस्याले पिरोलेको छ । कतिपय ठाउँमा काटेको धान खेतमै भिजेको छ भने कतै पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । त्यस्तै पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ देवीपुरमा काटेर गह्रामा सुकाएको धान अविरल वर्षाले बगाएर लगेको स्थानीय पत्रकार अञ्जना चौधरीले जानकारी दिनुभयो । उहाँले आफू पनि दसैँअघि नै धान काट्नका लागि गाउँमा गएको घरपरिवार तथा मजदूरी लगाएर चार दिनसम्म काटेर खेतमा राखेको धान अविरल वर्षापछि आएको बाढीले बगाएर लगेको बताउनुभयो ।

जिल्लामा अधिकांश क्षेत्रमा किसानको पाकेको धानमा लगातारको वर्षाले क्षति पु¥याएको र अहिले पनि वर्षा जारी रहेकाले क्षतिको यकिन विवरण आउन नसकेको कृषि ज्ञानकेन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार यस वर्ष जिल्लाको कूल ३९ हजार ६०० हेक्टर क्षेत्रफल जग्गामा धानखेती गरिएको छ । ज्ञानकेन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्णशङ्कर जातका धानको खेती गरेका छन् । यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा–२, सुक्खा–३ जातका धानको खेती गरिएको बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com