नोभेम्बर ८ पछि भ्याक्सिन नलगाएका अमेरिकनलाई समेत अमेरिका प्रवेशमा कडा नियम


प्रकाशित मिति : आश्विन ३०, २०७८ शनिबार

अमेरिकाले नोभेम्बर ८ पछि भ्याक्सिन नलगाएका अमेरिकनहरुलाई समेत अमेरिका प्रवेशमा कडा नियम लागु गर्ने भएको छ भने भ्याक्सिन नलगाएका गैर अमेरिकनहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने भएको छ । भ्याक्सिन नलगाएका अमेरिकनहरुलाई नोभेम्बर ८ पछि पनि अमेरिका प्रवेश त दिइने छ तर उनीहरुले अमेरिका फर्कने विमान चढ्नुभन्दा एक दिन अगाडि कोरोनो परीक्षण गरेर नेगेटिभ रिपोर्ट ल्याउनुपर्नेछ । साथै उनीहरु अमेरिका आइसकेपछि पनि कोरोना परीक्षण लगायतका अतिरिक्त नियमहरुको पालना गर्नुपर्नेछ ।

अहिलेसम्म भ्याक्सिन लगाएको प्रमाणविना नै कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गरेर अमेरिका आइरहेका देशहरुबाट पनि नोभेम्बर ८ पछि भ्याक्सिन नलगाएका विदेशीहरु अमेरिका आउन पाउनेछैनन् । तर भ्याक्सिन लगाएकाहरु ब्राजिल, चीन, यूके, साउथ अफ्रिका, चीन, इरान, आयरल्याण्ड र शेंगेन क्षेत्रबाट पनि आउन पाउनेछन् ।

गत सेप्टेम्बरमा नै ह्वाइटहासले कोरोना सम्बन्धि मापदण्डहरुमा परिवर्तनको घोषणा गरेको थियो । सोही अनुशार नयाँ नियम कार्यान्वयनमा आउन लागेको हो ।

नयाँ नियम अनुशार अमेरिका जानका लागि विमान चढ्नु अगाडि नै यात्रुले भ्याक्सिनको पूर्ण डोज लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।
अमेरिकाको एफडीएबाट स्वीकृत भ्याक्सिन र विश्व स्वास्थ्य संगठनबाट स्वीकृत भ्याक्सिनहरु लगाएकाहरुलाई अमेरिका प्रवेशको अनुमति दिने जनाएको छ ।

जस अनुशार जोन्सन एण्ड जोन्सन, मोडेर्ना र फाइजरको अतिरिक्त आष्ट्राजनेको वा कोभिशिल्ड लगाएकाहरु पनि अमेरिका आउन सक्नेछन् । तर रसियन भ्याक्सिन स्पुत्निक भी लगाएकाहरुलाई अमेरिका प्रवेश दिइनेछैन । विश्व स्वास्थ्य संगठनबाट स्वीकृत अन्य भ्याक्सिनलाई पनि मान्यता दिइनेछ ।

भ्याक्सिन स्वीकृत नभएका उमेर समुहका बालबालिकाहरु लगायत केहीलाई भने छुट समेत दिन सकिनेछ । कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुका लागि पनि कोरोना परीक्षणको नेगेटिभ रिपोर्टको नियम भने यथावत नै रहने छ । अर्थात् अमेरिका प्रवेशका लागि नोभेम्बर ८ देखि कोरोना नेगेटिभ रिपोर्ट र पूर्णरुपमा भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्नेछ । भ्याक्सिनको प्रमाणसहित पेश कोरोना परीक्षण रिपोर्ट भने तीनदिनभित्रकोलाई मान्यता दिइनेछ ।

अमेरिकाले नोभेम्बरदेखि स्थलनाकाहुँदै क्यानडा र मेक्सिकोबाटसमेत प्रवेशको अनुमति दिने भएको छ । स्थलनाकाबाट भ्याक्सिन लगाएकाहरु प्रवेश गर्दा कोरोना परीक्षणको रिपोर्ट अनिवार्य गरिएको छैन । अत्यावश्यक बाहेकका अन्यलाई गतबर्षदेखि क्यानडा र मेक्सिकोको स्थलनाकाबाट प्रवेशमा रोक लगाइदै आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com