नोभेम्बर ८ पछि अमेरिका प्रवेशका लागि भ्याक्सिन अनिवार्य


प्रकाशित मिति : आश्विन २९, २०७८ शुक्रबार

आगामी नोभेम्बर ८ देखि विभिन्न देशहरुबाट अमेरिका प्रवेशमा लगाइएको रोक हटाइने भएको छ तर अमेरिका प्रवेशका लागि कोरोनाबिरुद्धको भ्याक्सिन भने अनिवार्य गरिने भएको छ । अमेरिकाले कोरोना महामारीपछि ब्राजिल, चीन, यूके, साउथ अफ्रिका, चीन, इरान, आयरल्याण्ड र शेंगेन क्षेत्रबाट विदेशी नागरिकहरुलाई अमेरिका प्रवेशमा रोक लगाउँदै आएकोमा नोभेम्बर ८ पछि उक्त रोक हटाइने भएको हो ।

तर भ्याक्सिन अनिवार्यको नियम विश्वको कुनै पनि मुलुकबाट अमेरिका प्रवेश गर्ने विदेशीहरुका सन्दर्भमा लागु हुनेछ । गत सेप्टेम्बरमा नै ह्वाइटहासले कोरोना सम्बन्धि मापदण्डहरुमा परिवर्तनको घोषणा गरेको थियो । सोही अनुशार आगामी परिवर्तन हुन लागेको अधिकारीहरुले बताएका छन् ।

अमेरिका प्रवेशका लागि स्वीकार गरिने भ्याक्सिनको विवरण भने अझै सार्वजनिक गरिएको छैन । साथै नोभेम्बर ८ देखि लागु हुने यो नियमको औपचारिक घोषणा पनि भइसकेको छैन । नयाँ नियम अनुशार अमेरिका जानका लागि विमान चढ्नु अगाडि नै यात्रुले भ्याक्सिनको पूर्ण डोज लगाएको प्रमाण पेश गर्नुपर्नेछ । कुन कुन भ्याक्सिन स्वीकार गरिने भन्नेबारे विस्तृत विवरण सीडीसीले सार्वजनिक गर्ने भएको छ ।

अमेरिकाको एफडीएबाट स्वीकृत भ्याक्सिन र विश्व स्वास्थ्य संगठनबाट स्वीकृत भ्याक्सिनहरु लगाएकाहरुलाई अमेरिका प्रवेशको अनुमति दिइने अपेक्षा गरिएको छ । अमेरिकाले जोन्सन एण्ड जोन्सन, मोडेर्ना र फाइजरको भ्याक्सिन स्वीकृत गरेको छ । तर विश्व स्वास्थय संगठनले थप भ्याक्सिनहरु पनि स्वीकृत गरेकाले यी बाहेकका अन्य भ्याक्सिन लगाएकाहरुलाई पनि अमेरिका प्रवेशमा अनुमति दिइने अपेक्षा गरिएको छ ।

भ्याक्सिन स्वीकृत नभएका उमेर समुहका बालबालिकाहरु लगायत केहीलाई भने छुट समेत दिन सकिनेछ । कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुका लागि पनि कोरोना परीक्षणको नेगेटिभ रिपोर्टको नियम भने यथावत नै रहने अपेक्षा गरिएको छ । अर्थात् अमेरिका प्रवेशका लागि नोभेम्बर ८ देखि कोरोना नेगेटिभ रिपोर्ट र पूर्णरुपमा भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।

अमेरिकाले नोभेम्बरदेखि स्थलनाकाहुँदै क्यानडा र मेक्सिकोबाटसमेत प्रवेशको अनुमति दिने भएको छ । अत्यावश्यक बाहेकका अन्यलाई गतबर्षदेखि क्यानडा र मेक्सिकोको स्थलनाकाबाट प्रवेशमा रोक लगाइदै आएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com