सकृय राजनीति छाडेर च्याउखेतीमा लागेकी दिलकुमारीलाई अन्तर्राष्ट्रिय पुरस्कार


प्रकाशित मिति : आश्विन १९, २०७८ मंगलबार

कन्ये च्याउको व्यावसायिक खेती गर्दै आउनुभएकी पाल्पाकी दिलकुमारी रोकामगर वुमन वल्र्ड समिट फाउन्डेसन (डब्लुडब्लुएसएफ) जेनेभा,स्वीटजरल्यान्डबाट पुरस्कृत हुनु भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ भूतखोलास्थित पाल्पा बुटवल सडक खण्डमा कन्ये च्याउको व्यावसायिक खेती गर्नुभएकी दिलकुमारी रोकामगर वर्ष २०२१ का लागि विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने दश महिलाको सूचीमा पर्नुभएको छ । उहाँले वुमन वल्र्ड समिट फाउन्डेसन (डब्लुडब्लुएसएफ) जेनेभा, स्वीटजरल्यान्डबाट हरेक वर्ष प्रदान गरिने एक हजार डलर राशिको पुरस्कार प्राप्त गर्नुभएको हो ।

“च्याउ खेतीबाट यति ठूलो सफलता पाइएला भन्ने लागेको थिएन, सिर्जनशील महिलाको छनोटमा परी अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा व्यवसायमा औधी खुसी लागेको छ”, दिलकुमारी भन्नुहुन्छ । उहाँ साहसी र अग्रणी सिर्जनशील महिलाका रुपमा छनोटमा पर्नुभएको हो ।

डब्लुडब्लुएसएफले हरेक वर्ष ग्रामीण क्षेत्रमा अहोरात्र खट्ने विश्वभरका दश महिलालाई सम्मान गर्दै आएको छ । उहाँलाई अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसका दिन यो पुरस्कार प्रदान गरिनेछ । “हामीजस्ता महिलाले गरेको मिहिनेत, काम र सङ्घर्षको मूल्याङ्कन हुँदा व्यवसायमा जोस, जाँगर थपिएको छ, अन्तर्राष्ट्रिय स्तरको पुरस्कार प्राप्त गर्नु नै मेरो लागि जीवनको ठूलो सफलता हो,” उहाँले खुसी हुँदै भन्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विगत एक दशकदेखि यस व्यवसायमा आबद्ध दिलकुमारीले व्यवसायलाई थप गर्दै जाने बताउनुहुन्छ । गत साउनदेखि स्थायी संरचना तयार पारी व्यवस्थित तरिकाले खेती गर्ने उद्देश्यका साथ उहाँ लाग्नुभएको छ । “बाह्रै महिना खाली नहुने गरी उत्पादन गर्न स्थायी संरचना तयार पार्दैछु, च्याउ खेतीले आयस्रोत राम्रो बनेको छ भने देश तथा विदेशमा पनि मलाई चिनाएको छ, अब व्यवसायलाई विस्तार गर्दै जाने हो,” उहाँले भन्नुभयो ।

उहाँको फार्ममा हाल एक हजार सात सय बल्ब च्याउ छन् । एक दशकअघि दुई सय बल्बबाट व्यवसाय थालनी गर्नुभएकी दिलकुमारीलाई हाल च्याउ खेतीले दाम मात्र होइन राम्रो पहिचान बनाइदिएको छ । गत वर्ष च्याउ बिक्रीबाट रु सात लाख आम्दानी गर्नुभएकी उहाँ यस वर्ष करिब नौ लाखसम्म कमाई गर्ने लक्ष्य राख्नुभएको छ । धेरै उत्पादन हुँदा दैनिक एक क्विन्टलसम्म च्याउ घरबाटै बिक्री गर्ने दिलकुमारीले सिद्धार्थ राजमार्गमा व्यवसाय भएकाले पनि बिक्री गर्न झन्झट नभएको बताउनुहुन्छ । यहाँ उत्पादन भएको च्याउ पाल्पा तथा बुटवल बजारमा खपत भइरहेको छ ।

उहाँ भन्नुहुन्छ, “असारमा राखेको बीउबाट च्याउ उम्रिएर यस वर्ष साउनदेखि नै धमाधम बिक्री भइरहेको छ, फार्मबाटै बजार मूल्य हेरेर थोकमा प्रतिकिलो रु २१० देखि २२० मा अहिले खपत हुँदैछ, व्यापारी यहीँ आएर च्याउ खरिद गर्ने हँुदा धेरै सजिलो छ ।”

राजनीति गर्ने क्रममा रोल्पाबाट कपिलवस्तु हँुदै पाल्पा आइपुग्नुभएकी उहाँलाई यहाँको परिवेशबारे धेरै जानकारी पाएपछि पाल्पामै बसेर व्यवसाय गर्ने सोच राखेर च्याउ खेती गरेको बताउनुहुन्छ । रोल्पाको दुर्गम थवाङ गाउँपालिकाको उवामा जन्मनुभएकी दिलकुमारी सशस्त्र द्वन्द्वका बेला नेकपा माओवादी केन्द्रमा आबद्ध रही हतियार बोकेर सक्रिय राजनीतिमा लाग्नुभएको थियो । शान्ति सम्झौतापश्चात् उहाँ आयआर्जनमूलक व्यवसाय गर्ने मनसाय बोकेर यहाँ आइपुग्नुभएको हो ।

च्याउ खेतीमा प्रोत्साहन गर्दै व्यवसाय सुरु गर्दाका क्रममा साबिक जिल्ला कृषि विकास कार्यालय पाल्पाले रु २५ हजार अनुदान दिएपछि यस व्यवसायमा उत्साह बढ्दै जाँदा अहिले वर्षमा च्याउबाट लाखौँ कमाउन सकिने भएको उहाँको अनुभव छ । दिलकुमारीले आफूमात्रै होइन गाउँका अन्य छिमेकी महिलालाई पनि यस व्यवसायमा लाग्न प्रेरित गराउँदै च्याउ खेती गर्ने प्रविधि सिकाउने गर्नुहुन्छ ।

उहाँलाई यस व्यवसायमा परिवारको राम्रो साथ छ । श्रीमान् तुलारामसँगै द्वन्द्वकालीन समयमा माओवादीमा आबद्ध रही सक्रिय राजनीति गर्नुभएकी दिलकुमारीले व्यवसायका लागि पाल्पा रोज्नुभयो । च्याउ खेतीमा लगानी धेरै काम गर्न नपर्ने र बजार मूल्य राम्रो, बजारमा च्याउको माग बढ्दो रहेको हुँदा व्यावसायिक खेती गरेर मनग्य आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com