अमेरिकन सीडीसीबाट कोरोना संक्रमणको उच्च जोखिमयुक्त देशको सुची अपडेट, नेपाल अति उच्च जोखिममै


प्रकाशित मिति : आश्विन १२, २०७८ मंगलबार

अमेरिकन सीडीसीले कोरोना संक्रमणको उच्च जोखिमयुक्त देशको सुची अपडेट गरेको छ । जोखिमका आधारमा विभिन्न ४ प्रकारका सुचीहरु बनाएको सीडीसीले नेपाललाई भने अति उच्च जोखिमकै सुची अर्थात् सबैभन्दा खराब चौथो स्तरकै सुचीमा राखेको छ ।

सोमबार अपडेट गरिएको सुचीमा नर्वेलाई जोखिमयुक्त देशको सुचीबाट अति उच्च जोखिमयुक्त देशको सुचीमा राखिएको छ । कोरोना सम्बन्धि प्रतिबन्धहरु खुकुलो बनाएको नर्वेलाई सबैभन्दा बढी जोखिमयुक्त देशको सुचीमा राखिएपनि छिमेकी देशहरु स्वीडेन र डेनमार्कलाई भने तेश्रो स्तरको उच्च जोखिमयुक्त देशको सुचीमा राखिएको छ ।

त्यस्तै बुल्गेरियालाई पनि तेश्रोबाट चौथो स्तरको सुचीमा राखिएको छ । विगत २८ दिनमा हरेक एकलाख जनसंख्यामा ५ सयभन्दा बढी संक्रमित भएमा उक्त देशलाई अमेरिकन सीडीसीले अतिउच्च जोखिमयुक्त देशको सुचीमा राख्ने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार ६ वटा नयाँ देशहरुलाई तेश्रो स्तरमा सुचिकृत गरिएको छ । बंगालादेश, इक्वाटोरियन गायना, पानामा, सेन्ट बार्थेलेमी, सिंगापुर र स्लोभाकियाको स्थीतिमा सुधार आएको भन्दै तेश्रो स्तरमा राखिएको छ । यीमध्ये बंगालादेश, पानामा र सेन्ट बार्टस् चौथो स्तरबाट तेश्रोमा गएका हुन् भने अन्य देशहरु दोश्रोबाट तेश्रोमा गएका हुन् ।

सीडीसीले चौथो स्तरमा रहेका देशमा सकभर यात्रा नगर्न अमेरिकनहरुलाई चेतावनी दिएको छ । यात्रा गर्नैपरे पूर्णरुपमा भ्याक्सिन लगाएरमात्र यात्रा गर्न सुझाव दिइएको छ । तेश्रो स्तरमा रहेका देशमा भ्याक्सिन नलगाएकाहरुलाई अत्यावश्ययक बाहेकका यात्रा नगर्न सुझाव दिइएको छ । दोश्रो स्तरमा रहेका देशमा भ्याक्सिन नलगाएका र जोखिममा रहेकाहरुलाई यात्रा नगर्न सुझाव दिइएको छ ।

त्यस्तै कम जोखिमयुक्त पहिलो स्तरको सुचीमा रहेका देशमा यात्रा गर्दा पनि भ्याक्सिन लगाउन सुझाव दिइएको छ ।

अमेरिकाले आफ्ना नागरिकलाई सकभर नेपाल नजान सुझाव दिएको छ । जानै परे पूर्णरुपमा भ्याक्सिन लगाएको सुनिश्चित गर्न भनिएको छ । नेपालको अहिलेको वर्तमान अवस्थामा पूर्णरुपमा भ्याक्सिन लगाएका व्यक्तिपनि संक्रमित हुने र अरुलाई फैलाउने जोखिममा रहेको सीडीसीको भनाई छ । भ्याक्सिन लगाएकै भएपनि नेपालमा ६ फिटको दुरी कायम गर्न र मास्क लगाउन सुझाव दिइएको छ ।

नेपालबाट अमेरिका जाँदा के गर्ने ?

नेपाललाई चौथो स्तरमा राखेपनि नेपालीलाई अमेरिका प्रवेशमा भने कुनै समस्या छैन । अमेरिकाले भिसावाहक नेपालीहरुलाई कोरोना परीक्षण नेगेटिभ रिपोर्टका आधारमा सहजै प्रवेश दिदै आएको छ । अमेरिकाले चीन, इरान, युरोपको शेंगेन क्षेत्र, यूके, आयरल्याण्ड, ब्राजिल, साउथ कोरिया र भारतबाट अमेरिका जानेहरुमाथि कोरोना सम्बन्धित प्रतिबन्धहरु लगाएको छ । तर नेपालबाट अमेरिकामा जानमा कुनै रोकतोक छैन । अमेरिका प्रवेश गर्दा कोरोनाबिरुद्धको खोप लगाएको प्रमाण पनि पेश गर्नुपर्दैन । नेपालबाट खोप नलगाएकाहरु पनि अमेरिका सहजै जान सक्छन् ।

नेपालबाट कोरोना नेगेटिभ रिपोर्ट सहित अमेरिका गइसकेपछि यदि पूर्णरुपमा भ्याक्सिन लगाइसकेको छ भने तीनदेखि ५ दिनभित्र कोरोना परीक्षण गर्न सीडीसीले सुझाव दिएको छ । त्यस्तै राज्यहरुले तय गरेका मापदण्डहरु पालना गर्न भनिएको छ । कोरोना पोजेटिभ देखिएमा आइसोलेसनमा बस्न भनिएको छ । यी सबै काम आफ्नै जिम्मेबारी ठानेर गर्नुपर्ने हुन्छ ।

नेपालबाट कोरोना नेगेटिभ रिपोर्ट सहित अमेरिका गइसकेपछि यदि पूर्णरुपमा भ्याक्सिन लगाएको छैन भने एकसातासम्म क्वारेन्टीनमा बस्न सुझाव दिइएको छ । तीनदेखि ५ दिनभित्र परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपनि ७ दिनसम्म क्वारेन्टीनमा नै बस्न भनिएको छ । यदि अमेरिका गइसकेपछि कोरोना परीक्षण नगराएको खण्डमा १० दिनसम्म आइसोलेसनमा बस्न सीडीसीले सुझाव दिएको छ ।

अमेरिकन पासपोर्टवाहक नेपाल आउँदा के गर्ने ?

अमेरिकाबाट नेपाल आउँदा अमेरिकन नागरिकले कोभिडबिरुद्धको खोपको मात्रा पूरा गरेको भएमा अन अनराइभल भिसा प्राप्त गर्न सक्छन् । तर कोभिडबिरुद्धको खोप नलगाएको भएमा भने उनीहरुले अमेरिकामा रहेको दूतावास वा कन्सुलेटबाटै भिसा लिएर आउनुपर्छ ।

कोभिडबिरुद्धको खोप लगाएका अमेरिकन पासपोर्टवाहकले अध्यागमन प्रवेशबिन्दुमा भिसाका लागि आवेदन गर्दा भिसाका लागि आवश्यक अन्य कागजपत्रका अतिरिक्त थप कागजात समेत पेश गर्नुपर्नेछ । उनीहरुले कोभिड खोपको पूर्ण मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, विमान चढ्न चेकइन हुँदाको अवधिले ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट, पर्वतारोहण र पदयात्रामा आउनेहरुले सो सम्बन्धी अनुमतिको प्रतिलिपि, नेपालमा होटल बुक गरेको प्रमाण पेश गर्नुपर्नेछ । पर्वतारोहण र पदयात्रामा नआएका अन्य पर्यटकका लागि अनुमतिको प्रतिलिपि आवश्यक पर्दैन । त्यस्तै सीसीएमसीमा अनलाइन लगइन गरेर नेपाल आगमन फारम पनि भरेर त्यसको प्रिन्ट प्रति पनि बुझाउनुपर्नेछ ।

नेपालको अध्यागमन विभाग

कोभिडविरुद्धको खोप नलगाएका वा मात्रा पूरा नगरेकाहरुले नेपाली नियोगमार्फत भिसा लिएर र एजेन्सीमार्फत नेपाल भ्रमणमा आउन सक्छन् । उनीहरुले पनि विमान चढ्न चेकइन हुँदाको अवधिले ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट, नेपालमा होटल बुक गरेको प्रमाण र सीसीएमसी फारम भरेर पेश गर्नुपर्छ । यसरी प्रवेश गर्नेहरु १० दिन आफ्नै खर्चमा होटल क्वारेन्टीनमा बसेपछि ११ औं दिनमा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछिमात्र उद्देश्य बमोजिमको काममा संलग्न हुन पाउँछन् ।

एनआरएन वा उनीहरुका परिवार, नेपालीसँग विवाह गरेका विदेशी नागरिकलाई पनि खोप लगाएको प्रमाण, कोरोना नेगेटिभ प्रमाण र सीसीएमसी फारम भरेर बुझाएपछि अन अराइभल भिसा दिइन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com