अमेरिकी सिमानामा पुगेर देशनिकालामा परेका हैटियनहरुको आक्रोश: ‘जनावर जस्तै व्यवहार गरियो’


प्रकाशित मिति : आश्विन ११, २०७८ सोमबार

अमेरिका छिर्ने आशामा अमेरिकी सिमाक्षेत्रमा टेक्सासमा पुगेपछि पक्राउ परेर हैटी देशनिकाला भएका हैटियनहरुले आफूहरुलाई जनावरको जस्तो व्यवहार गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन् । अमेरिकामा नयाँ जीवन सुरु गर्ने आशामा सिमाक्षेत्रसम्म पुगेका झण्डै २ हजारलाई यसैसाता अमेरिकाले देशनिकाला गरेर हैटी फिर्ता गरेको छ ।

रियो ग्रान्दे नदी तरेर टेक्सास पुगेका उनीहरु झण्डै एकसाताभन्दा कम अवधिमा नै देशनिकालामा परेका हुन् । उनीहरुलाई अस्तव्यस्त हैटीको राजधानी पोर्ट अउ प्रिन्समा फिर्ता पठाइएको हो । यसरी हैटी फिर्ता पठाइएका कतिपय भने कैयन बर्षदेखि हैटीबाहिर बस्दै आएका थिए । चिलीमा बस्दै आएका र त्यहाँबाट टेक्सास पुगेकाहरुलाई पनि हैटी नै देशनिकाला गरिएको छ ।

आफूहरु ६ बर्षदेखि चिलीमा बस्दै आएको र आफ्नी ४ बर्षकी छोरीसँग हैटीको नागरिकता समेत नभएको देशनिकालामा परेर हैटी पठाइएका इभेन्स डेल्भाले बताए । हैटीमा आफूहरुको सम्बन्ध खासै नरहेको र चिलीमा जन्मिएकी छोरी समेत हैटियन भाषा नबोली स्पानिस भाषा बोल्ने समेत उनले बताए । उनी अमेरिकाको फ्लोरिडामा नयाँ जीवन सुरु गर्ने आशामा अमेरिकाको टेक्सास सिमाक्षेत्रमा पुगेपनि एकसातामै देशनिकालामा परेका थिए ।

अमेरिकी सिमाक्षेत्रबाट प्रवेश गर्ने आशामा आइतबार कोलम्बियाको जंगल पार गरेर पनामातिर अगाडि बढ्दै हैटियनहरु ।

टेक्सासबाट देशनिकाला गरेर हैटी फिर्ता पठाइएकाहरुले आफूलाई पहिले जनावरलाई जस्तो एकैठाउँ जम्मा गरिएको र अपराधीहरुलाई जस्तै हतकडी लगाइएको बताए । विभिन्न प्रकारका संकटबाट गुज्रिरहेको हैटीमा गत जुलाई ७ मा राष्ट्रपतिको हत्यापछि स्थीति अझ खराब बनेको छ । अगस्त १४ मा गएको भूकम्पमा २२ सय भन्दा बढीको ज्यान गएको थियो । यस्तो अवस्थामा हैटियनहरुलाई अमेरिकाबाट देशनिकाला गर्दा विश्वको ध्यान खिचिएिको थियो भने हैटीका लागि अमेरिकी दूतले राजिनामा समेत दिएका थिए ।

गतसाता झण्डै १२ हजार हैटियनहरु टेक्सासको सिमाक्षेत्रमा रहेको अन्तर्राष्ट्रिय पुलमुनी अस्थायी क्याम्प बनाएर बसेका थिए । देशनिकालामा पर्ने कतिपय व्यक्ति अहिलेसम्म हैटीमा पाइला नराखेकाहरु समेत रहेको जनाइएको छ । तीब्र गतिको देशनिकालाका क्रममा हैटीमा देशनिकालका भएका एंगोलियन पुरुषले आफू हैटियन नभएको बताउँदा बताउँदै पनि कुरै नसुनेर जबर्जस्ती हैटी देशनिकाला गरिएको बताए ।

कोलम्बिया, पानामाहुँदै अमेरिकातिर अगाडि बढिरहेका हैटियनहरु ।

देशनिकाला गरेर हैटी पठाइएकाहरुले ५० डलर नगदसहित ट्वाइलेट पेपर, टुथब्रस र साबुन लगायतको प्याकेट प्राप्त गरेका छन् । युएसआईडीको लोगोसहित दिइएको उक्त प्याकेटमा अमेरिकी जनताका तर्फबाट उपहार भनेर लेखिएको छ । तर हैटी फिर्ता पठाइएकाहरुले आफूलाई अमेरिका प्रवेश गर्न नदिइएकोमा अमेरिकी राष्ट्रपति बाइडेनलाई गाली गरेका छन् ।

हैटी देशनिकालामा परेकामध्ये अधिकांश सन् २०१० को भूकम्पपछि चिली र ब्राजिलमा बस्दै आएकाहरु रहेको जनाइएको छ । आफ्नो देश हैटी आउँदा आफूहरुलाइै कुनै डर नभएको तर हैटीमा कुनै भविश्य नभएकाले आफूहरु चिन्तित भएको देशनिकालामा परेकामध्ये एक फ्यानफन क्लेरभियोक्सले बताए ।

कभर तस्वीरमा अमेरिकाबाट देशनिकालामा परेर हैटीको राजधानी पुगेका हैटियनहरु पासपोर्ट प्राप्त गर्ने पालो कुर्दै ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com