Follow @khasokhasmag

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल: ३ वर्षमा सक्ने लक्ष्य तर ७ बर्षमा सकिनेमा पनि अन्यौल, म्याद थपिदै


प्रकाशित मिति : आश्विन १०, २०७८ आईतबार

गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई संसारमाझ जोड्ने उद्देश्यका साथ निर्माण सुरु गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अझै सकिएको छैन । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७१ माघ १ गते शिलान्यास गर्नुभएको राष्ट्रिय गौरवको यो आयोजना निर्माण सुरु भएको तीन वर्षमा सक्ने लक्ष्य राखिएको भए पनि हालसम्म पूरा हुनसकेको छैन ।

तीन वर्षमा सक्ने लक्ष्यका साथ ३१ डिसेम्बर २०१४ मा लगभग रु ६ अर्ब ८२ करोड लागतमा विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशनले लिएको भए पनि निर्माण सुरु भएको ७ वर्षसम्म पनि निर्माण पूरा नभएको हो । छैठौँ पटक थपिएको म्याद सन् २०२१ जुन अन्तिमभित्र निर्माण कार्य नसकिएपछि कम्पनीले नागरिक उड्डयन प्राधिकरणमार्फत सरकारलाई सातौँ पटक म्याद थप्नका लागि पहल गरेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ई प्रवेश अधिकारीले जानकारी दिनुभयो ।

विभिन्न कारणले आयोजना निर्माण कार्य पूरा नभएपछि २०२१ डिसेम्बरसम्ममा सक्ने लक्ष्यका साथ सातौँ पटक म्याद थपका लागि पत्रचार भएको आयोजना प्रमुख ई अधिकारीले बताउनुभयो ।

“विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ”, आयोजना प्रमुख ई अधिकारीले भन्नुभयो, “हामी अहिले प्राविधिक रुपमा ९८ प्रतिशत कार्य सकेका छौँ । अब क्यालिब्रेसन फ्लाइटको तयारी, फिनिसिङ, फर्निचर, फर्निसिङको काम गरिरहेका छौं ।”

निर्माण ढिलो हुनुको कारण मधेस आन्दोलनदेखि महामारीसम्मलाई देखाइदै

विमानस्थलको निर्माण सुरु भएसँगै मधेस आन्दोलन, भारतीय नाका बन्दी, भूकम्प र कोभिडजस्ता विभिन्न कारणले तोकिएको समयमा नसकिएको निर्माण अबका केही महिनाभित्र सकिने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना कार्यालयले जनाएको छ ।

विदेशी दक्ष जनशक्तिले विमानस्थलमा प्राविधिक उपकरण जडान गरिसकेको छ । धावन मार्ग, टावर, विमानस्थलमा सूचना तथा विद्युतीकरण, रनवे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार–उड्डयन सहायक उपकरण, ब्यागेज ह्याण्डलिङ सिस्टम, कन्भेयर बेल्ट, एक्स–रे मेसिनलगायत उपकरण जडान, सुरक्षा पोस्ट सम्पन्न भइसकेको आयोजना कार्यालयले बताएको छ ।

फोटोः खसोखास

आयोजना कार्यालयले सेन्ट्रल एसी, उडान जानकारी डिस्प्ले, फर्ड लाइट, मौसम पूर्वानुमान उपकरण, सीसी टिभीलगायत सम्पूर्ण प्रविधि जडान गरिएको आयोजना कार्यालयको दाबी छ ।

तीन किलोमिटर लामो धावनमार्ग भएको यो विमानस्थलमा बोइङ ७७७–२००, एयरबस, ३३०–३०० र सोही क्षमताका विमान उडान तथा अवतरण गर्नेसक्ने छन् । यो विमानस्थल सञ्चालनपछि लुम्बिनीमा वार्षिक करिब ३० लाखभन्दा बढी बौद्ध धर्मावलम्बी ल्याउने लक्ष्य राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा हेरिएको यो विमानस्थल सञ्चालनपछि देशकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

महामारीले रोकियो क्यालिब्रेसन फ्लाइट

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि बैशाखमा नै तयार भएको बताइएको थियो । क्यालिब्रेसन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्ने धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्दै परीक्षण गर्नुपर्ने हुन्छ ।

चैत दोस्रो सातामै विमानस्थलको टावर, धावनमार्गलगायतका क्षेत्रमा आबश्यक सबै बिद्युतीय उपकरणहरु जडान गर्ने काम सकिएको बताइएको थियो । क्यालिब्रेशन फ्लाइटलका लागि आवश्यक तयारीमा जुटेका बेला कोरोनाको महामारी बढेपछि आवश्यक जहाज र विदेशी प्राविधिक ल्याउने काम रोकिएको थियो ।

जडान भएका उपकरणहरुले काम गरेको या नगरेको, विमानका पाइलटले टावरसँग सम्पर्क गर्दा निर्देशनहरु राम्ररी सुनिएको वा नसुनिएको लगायतका कुरा क्यालिब्रेशन फ्लाइटबाट थाहा हुन्छ । आईसिपी टु को निर्माण जिम्मेवारी पाएको थाइल्याण्डको एरोथाई कम्पनी हो ।

धावनमार्गका लाइट, कन्ट्रोल टावर, कन्भेएर बेल्ट मेसिन, ब्यागेज ह्यान्डलिङ सिस्टमलगायतका सबै काम सकिएको जनाइएको छ ।
विमानस्थल क्षेत्रभित्रका अन्य पूर्बाधार निर्माण कार्य, बिद्युतीकरण लगायतका सबै काम सकिएका छन् । तारबारका काम सम्पन्न भएको छ भने पेरीफेरी रोड निर्माण भएको छ ।

गौतमबुद्ध विमानस्थल २०२३ सालमा भारत सरकारको सहयोगमा निर्माण भएको थियो । त्यसलाई स्तरोन्नती गरी अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा निर्माण गर्न चिनियाँ कम्पनीको नर्थ वेस्ट सिभिल एभिएशन कम्पनीले ग्लोबल टेन्डरबाट आईसिबी जिरो वान प्रोजेक्ट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने सम्झौता गरेको थियो ।

(राससका लागि कमल रायमाझीको समाचारमा खसोखासको थप रिपोर्टिङ)

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com