Follow @khasokhasmag

देशभर झण्डै ८ हजार पत्रपत्रिका र ३ हजार अनलाइन, टेलिभिजनपछि अनलाइनको लोकप्रियता


प्रकाशित मिति : आश्विन ९, २०७८ शनिबार

मुलुकभर दर्ता भएका पत्रपत्रिकाको सङ्ख्या सात हजार ८७४ रहेको प्रेस काउन्सिल नेपालले जनाएको छ । प्रेस काउन्सिलको ४६औँ वार्षिक प्रतिवेदनमा २०७७/७८ सम्मको दर्ता अभिलेखअनुसार देशभरबाट प्रकाशित हुने दैनिक पत्रपत्रिकाको सङ्ख्या मात्र ७ सय ४४ रहेको छ ।

अर्धसाप्ताहिक ३९, साप्ताहिक दुई हजार ९५६, पाक्षिक ४७६, मासिक दुई हजार ३४७, द्वैमासिक ३८४, त्रैमासिक ६५०, चौमासिक ३९, अर्धवार्षिक ८७ र वार्षिकरुपमा प्रकाशित हुने अखबारको सङ्ख्या ९३ रहेको उल्लेख छ । काउन्सिलका अनुसार, आर्थिक वर्ष २०७७÷७८ सम्ममा दैनिक ७०५, अर्धसाप्ताहिक ३०, साप्ताहिक दुई हजार ८५९, पाक्षिक ३९९, मासिक ५९२, द्वैमासिक ६०, त्रैमासिक १०४ र वार्षिकलगायत अन्य ४० पत्रपत्रिका प्रकाशन भएको अभिलेख छ ।

प्रादेशिकरुपमा पत्रपत्रिका दर्ता स्थितिको अध्ययनबाट बागमती प्रदेश नै पहिलो स्थानमा देखिएको छ । उक्त प्रदेशमा दुई हजार ६५७ पत्रपत्रिका दर्ता भएको पाइएको छ । काउन्सिलका अनुसार, मुगु र मनाङ जिल्लामा भने अझैसम्म कुनै पनि पत्रिका प्रकाशन भई दर्ता भएका छैनन् । सबैभन्दा बढी पत्रपत्रिका प्रकाशन भई दर्ता भएको जिल्ला काठमाडौँ हो । आर्थिक वर्ष २०७७/७८ सम्ममा काठमाडौं जिल्लामा दुई हजार अखबार दर्ता छन् । काठमाडौँपछि पत्रपत्रिका दोस्रो धेरै दर्ता भएको जिल्ला पर्सा हो ।

दर्ता भएका अखबारमध्ये कम मात्र प्रकाशित भएका र प्रकाशित मध्ये पनि सबै नियमित नभएको प्रतिवेदनमा उल्लेख छ । कोरोना सङ्क्रमणका कारण देशभर निषेधाज्ञा जारी भएपछि विविध कारणले पनि अखबार प्रकाशनलाई खुम्च्याएको तथ्याङ्कले देखाएको छ ।

उक्त आर्थिक वर्षसम्म देशभर दुई हजार ७६० अनलाइन काउन्सिलमा सूचीकरण भएका विवरणमा उल्लेख छ । पछिल्लो एक आर्थिक वर्षमा मात्रै पनि ६२२ अनलाइन सञ्चार माध्यम सूचीकरण भएका छन् । काउन्सिल पत्रकारितालाई मर्यादित, जवाफदेही र प्रतिष्ठाको पेसा बनाउन पत्रकार आचारसंहिता जारी गर्दै कार्यान्वयनका लागि पहल र नियमन गर्ने संस्था हो ।

गणतन्त्रपछि टेलिभिजन र अनलाइनको बाढी

नेपालमा संचारमाध्यमको विकाश गणतन्त्रपछि तीब्र गतिमा भएको देखिन्छ । गणतन्त्रपछि नेपालमा टेलिभिजन र अनलाइन संचारमाध्यमको बाढी नै आएको छ ।

२०६१ साल माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेपछि मोबाइल र टेलिफोन लाइन बन्द गराएका थिए भने रेडियोमा समाचार रोक लगाइएको थियो ।

गणतन्त्र आइसकेपछि भने नेपालमा पहिलोपटक समाचार टेलिभिजनहरु पनि सुरु भए । त्योभन्दा अगाडि समाचार र मनोरञ्जनमुलक कार्यक्रम प्रशारण गर्ने टेलिभिजनहरुमात्र थिए । २०४२ साल पुष १४ देखि नेपाल टेलिभिजनले नियमित प्रसारण शुरु भएपनि नेपाल टेलिभिजनको वास्तविक विकास तेस्रो सार्क शिखर सम्मेलन अर्थात् सन् १९८७ पछि मात्र भएको हो ।

२०४६ सालको ऐतिहासिक जनआन्दोलन र यसले प्रदान गरेको २०४७ को संविधानको भाग ३ मा स्पष्ट रुपले नेपाली जनताको मौलिक हक अधिकारको ग्यारेन्टी गरियो । तर पनि टेलिभिजनको उल्लेख्य विकाश हुन सकेन ।

राष्ट्रिय प्रसारण ऐन, २०४९ र राष्ट्रिय प्रसारण नियमावली २०५२ ले स्पष्टरुपमा निजी क्षेत्रलाई पनि टेलिभिजन प्रसारणमा मार्ग खुला गरिदियो । २०५७ असोज १२ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ को नियम ३ बमोजिम पहिलो पटक राइजिङ नेपालमा सूचना प्रकाशित गरी निजि क्षेत्रबाट संचालन गर्न प्रस्ताव आब्हान गरिएको थियो । यसमा नेपाल वातावरण पत्रकार समूह, सगरमाथा टेलिभिजन, इमेज च्यानल, प्राइम ब्रोडकास्टिड, स्पेश टाइम नेटवर्क प्रालि, हिमालयन टिभी, सांग्रीला च्यानल प्रालि, कान्तिपुर टेलिभिजन नेटवर्क, अन्नपूर्ण मिडिया ट्रान्समिसन, प्रोफेसनल ब्रोडकास्टिड प्रालि गरी ९ वटा संघसंस्थाहरुले आवेदन दिएका थिए ।

यस पछि फेरि २०५८ असोज २३ गते पुनः प्रस्ताव आब्हान गर्यो । तयसपछि सांग्रीला च्यानल प्रालिलाई २०५९ वैशाख ४ मा सेटलाईटबाट प्रसारणका लागि अनुमति प्रदान गरियो । त्यसै गरी सोही मितिमा कान्तिपुर टेलिभिजन नेटवर्क र इमेज मेट्रोलाई टेरेस्टेरियल प्रबिधिमा प्रसारण गर्न स्वीकृति प्रदान गरेको थियो । त्यसैगरी २०६० चैत्र ५ मा एड एभेन्यूज र च्यानल नेपाललाई प्रसारणको लागि अनुमति गरी कुल पाँच वटा च्यानलहरुलाई अनुमति प्रदान गरेको थियो ।

अहिले नेपालमा दर्जनौं टेलिभिजनले प्रसारणको लागि अनुमति प्राप्त गरेका छन् । तर पछिल्लो चरणमा आर्थिक समस्याका कारण कैयन टेलिभिजनहरु बन्द समेत भइसकेका छन् ।

पछिल्लो चरणमा अनलाइन संचारमाध्यमको लोकप्रियता बढेको छ । एलेक्सा अनुशार अनलाइनखबर, रातोपाटी, सेतोपाटी लगायतका अनलाइन संचारमाध्यमहरु सबैभन्दा अग्रपंक्तिमा रहेका छन् ।

अमेरिकामा नेपाली पत्रकारिता

विभिन्न तथ्यहरु हेर्दा अमेरिकामा नेपाली पत्रकारिताको उल्लेख गर्न लायक विकाश सन् १९९० को दशकदेखि भएको पाइन्छ । अमेरिकामा पनि नेपाली पत्रकारिताको विकाश साहित्यिक पत्रकारितासँगै भएको पाइन्छ । सन् १९९१ मा होमनाथ सुवेदीको नेतृत्वमा अन्तर्दृष्टी नामको साहित्यिक पत्रिका प्रकाशन भएको थियो । ९० कै दशकमा अमेरिकाको न्युयोर्कमा अध्ययनरत विद्यार्थीहरुले पनि एउटा पत्रिका प्रकाशन गरेका थिए ।

सन् १९९० को दशकको मध्यतिर राजपाल सिंह लगायतले नेपाल डाइजेष्ट नामको इलेक्ट्रोनिक मिडिया संचालन गरेका थिए । त्यो त्यतीबेला निकै चर्चित रहेको पाइन्छ । १९९९ मा अमेरिका दर्पण मासिकका नामबाट प्रदीप थापामगर, भीम कार्की लगायतको पहलमा केही अंक पत्रिका प्रकाशन भएयतामात्र अमेरिकामा नेपाली पत्रकारिताको विकाश अलिक व्यवस्थीत देखिन्छ । अमेरिका दर्पणका प्रकाशक जनक रानामगर थिए भने कार्यकारी सम्पादक प्रदीप थापामगर थिए ।

सन् २००२ पछि अमेरिकामा नेपाली पत्रकारिताको उल्लेख्य विकाश भयो ।  सन् २००१ को अगस्तमा वासिंटन डिसीबाट पत्रकार गिरिश पोखरेलले सुरु गरेको अनलाइन नै नेपाली भाषाको पहिलो समाचार अनलाइन हो । यद्यपी समाचार अनलाइन बाहेकका अन्य नेपाली भाषाका वेवसाइट भने यसअगाडि नै संचालनमा आएका थिए । त्यसपछि अमेरिकामा कैयन अनलाइन, पत्रपत्रिकाहरु , रेडियो हुँदै टेलिभिजनसम्म स्थापना भए । कतिपय बन्द भए भने कतिपय संचालनमा छन् ।

सन् २००५ मा न्युयोर्कमा विश्व शाह, गगन विरही लगायतको पहलमा नेपाल खबर साप्ताहिक प्रकाशन भएको थियो । त्यो भन्दा अगाडि न्युयोर्कबाट नै चन्द्रप्रकाश शर्मा लगायतको पहलमा एउटा साप्ताहिक सुरु गरिएपनि विश्व शाह लगायतको पहलमा सुरु भएको पत्रिका लामो समय चलेको थियो । पछि पाक्षिकमा रुपान्तरण भएको यो पत्रिका २००८ मा बन्द भयो । यो पत्रिका बन्द हुँदै गर्दा अमेरिकामा नेपाली भाषाका अनलाइनहरु खुल्ने क्रम सुरु भइसकेको थियो ।

यसैक्रममा  सामुदायिक न्युज पोर्टल युएसनेपाल अनलाईन सन् २००७ डिसेम्बर ३ मा खुलेको थियो । यो अनलाइन सन् २०१९ सम्म सकृय रुपमा संचालन भयो ।  त्यतीबेलै न्युयोर्कबाट सुरु भएको विश्व सन्देश पाक्षिक पछि साप्ताहिकमा रुपान्तरण भएर चल्यो । त्यसको एकवर्षपछि एभरेष्ट टाइम्स पाक्षिक सुरु भएको थियो ।

सन् २००९ मा प्रशान एलुङ राईले  प्रेसचौतारी डटकम  सुरु गरे ।  राई लगायतले सन् २०१३ मा मेरो नेपाल नामको मासिक पत्रिका सुरु गरेर ६ अंक चलाए । तर यो पछि बन्द भयो । त्यस्तै विष्णु पौडेल प्रधानसम्पादक रहेर नेपालय सुरु गरे भने न्युयोर्क मिडिया इन्टरनेशनल इन्कले न्युयोर्क समाचार पाक्षिक सुरु गरेको थियो ।

सन् २०१२ देखि ह्वाइटहिमाल साप्ताहिकका रुपमा किशोर पन्थीको सम्पादनमा सुरु भएको पत्रिका पछि खसोखास साप्ताहिकमा रुपान्तरण भयो । अहिले सकृय न्यूज पोर्टलका रुपमा संचालित रहेको छ ।

न्युयोर्क बाहेक भर्जिनियाबाट गोबिन्द गिरी प्रेरणाको पहलमा  विश्वपरिक्रमा प्रकाशित भयो ।  बोष्टनबाट पनि उत्तमबाबु श्रेष्ठ लगायतको पहलमा नेपाली खबर पाक्षिक प्रकाशनमा आएपनि केही बर्षमा बन्द भयो । अँगेजी भाषामा क्यालिफोर्नियाबाट पुरुषोत्तम ढकाल प्रधानसम्पादक रहेको हिमालयन भ्वाइसले प्रकाशन आरम्भ गरेपनि धेरै समय टिकेन ।

अहिले अमेरिकामा नेपाली भाषाका समाचार अनलाइनहरु दर्जनबढी रहेका छन् । अमेरिकामा डिसी नेपालको लामो इतिहास रहेको छ भने इनेपलिज लगायतका कैयन अनलाइनहरु समुदायमा लोकप्रिय छन् । कोरोना महामारीपछि भने अधिकांश छापा माध्यम बन्द भइसकेका छन् ।

सन् १९९० को दशकको अन्त्यतिर अमेरिकामा नेपाली भाषाको टेलिभिजनका रुपमा कार्यक्रमहरु निर्माण गर्न सुरु गरिएको थियो । राम खरेलको नेतृत्वमा सगरमाथा टेलिभिजनका रुपमा नेपाली भाषाको कार्यक्रम सुरु गरिएको थियो । सन् २०११ को डिसेम्बरबाट न्युयोर्कबाट ह्वाइटहिमाल टेलिभिजन संचालन गरियो । रमा सिंह लगायतको पहलमा वासिंटन डिसीबाट अमेरिका नेपाल टेलिभिजन संचालन गरियो । तर कुनै संचारमाध्यमको भविश्य उत्साहजनक हुन सकेन ।

न्युयोर्कबाटै सहदेव पौडेलले हिमाली स्वरहरु नामको रेडियो संचालन गरे । यही बीचमा रवि लामिछाने , कृष्ण शर्मा लगायतले मेरिल्याण्ड र भर्जिनिया क्षेत्रबाट टेलिभिजन शोहरु पनि संचालन गरे । यसबीचमा न्युयोर्कबाटै पनि स्थानीय च्यानलमा समय किनेर केही टेलिभिजन शोहरु संचालनमा आए । न्युयोर्कबाट किशोर पन्थीको साप्ताहिक टेलिभिजन शो ‘टक अफ द टाउन’ नेपालको एबीसी टेलिभिजनबाट प्रशारण भयो । न्युयोर्कका संचारकर्मी शैलेश श्रेष्ठको ‘सम्प्रेषण’ पनि न्युयोर्कबाट संचालित ह्वाइटहिमाल टेलिभिजनबाट प्रशारण गरियो ।

(राससका लागि नारायण न्यौपानेले लेखेको समाचारमा खसोखासको थप रिपोर्टिङ)

 

 

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com