१२ देशबाहेक विश्वका सबै देशका खोप लगाएका नागरिकलाई नेपालमा अन अराइभल भिसा


प्रकाशित मिति : आश्विन ९, २०७८ शनिबार

विश्वका विभिन्न १२ देशबाहेक विश्वका सबै देशका कोरोनाबिरुद्धको भ्याक्सिन लगाएकाहरुलाई नेपालमा अन अराइभल भिसा दिन सुरु गरिएको नेपाल सरकारको अध्यागमन विभागले जनाएको छ । कोरोना महामारीका कारण नेपालमा अन अराइभल भिसामा रोक लगाइदै आएको थियो । तर अब नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्याण्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथोपिया, इराक, प्लोस्टाइन, अफगानिस्तान र सिरियाका नागरिकबाहेक अरुलाई अन अराइभल भिसा दिइनेछ ।

सरकारको मन्त्रिपरिषद् बैठकदे विदेशबाट नेपाल आउने र नेपालबाट विदेश जाने यात्रुहरूका मापदण्डहरुका सम्बन्धमा विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ पारित गरेको थियो । जस अनुशार कोभिडबिरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकहरुले अन अनराइभल भिसा पाउनेछन् ।

अनअराइभल भिसा लिन चाहने विदेशी नागरिकले नेपालको अध्यागमन प्रवेशबिन्दुमा भिसाका लागि आवेदन गर्दा भिसाका लागि आवश्यक अन्य कागजपत्रका अतिरिक्त थप कागजात समेत पेश गर्नुपर्नेछ । उनीहरुले कोभिड खोपको पूर्ण मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाण, विमान चढ्न चेकइन हुँदाको अवधिले ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट, पर्वतारोहण र पदयात्रामा आउनेहरुले सो सम्बन्धी अनुमतिको प्रतिलिपि, नेपालमा होटल बुक गरेको प्रमाण पेश गर्नुपर्नेछ । पर्वतारोहण र पदयात्रामा नआएका अन्य पर्यटकका लागि अनुमतिको प्रतिलिपि आवश्यक नपर्ने अध्यागमन विभागले स्पष्ट पारेको छ । त्यस्तै सीसीएमसीमा अनलाइन लगइन गरेर नेपाल आगमन फारम पनि भरेर त्यसको प्रिन्ट प्रति पनि बुझाउनुपर्नेछ ।

कोभिडविरुद्धको खोप नलगाएका वा मात्रा पूरा नगरेकाहरुले सम्बन्धित मुलुकका लागि तोकिएको नेपाली नियोगमार्फत भिसा लिएर र एजेन्सीमार्फत मात्र नेपाल भ्रमणको अनुमति दिइनेछ । उनीहरुले पनि विमान चढ्न चेकइन हुँदाको अवधिले ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट, नेपालमा होटल बुक गरेको प्रमाण र सीसीएमसी फारम भरेर पेश गर्नुपर्नेछ । यसरी प्रवेश गर्नेहरु १० दिन आफ्नै खर्चमा होटल क्वारेन्टीनमा बसेपछि ११ औं दिनमा कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछिमात्र उद्देश्य बमोजिमको काममा संलग्न हुन पाउनेछन् ।

एनआरएन वा उनीहरुका परिवार, नेपालीसँग विवाह गरेका विदेशी नागरिकलाई पनि खोप लगाएको प्रमाण, कोरोना नेगेटिभ प्रमाण र सीसीएमसी फारम भरेर बुझाएपछि अन अराइभल भिसा दिइनेछ । स्थल नाकाबाट आउने भारतीयहरुले कोरोनाको नेगेटिभ रिपोर्ट र सीसीएमसी फारम भरेर बुझाएपछि नेपाल प्रवेश पाउने अध्यागमन विभागले जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com