डिभी २०२१ को भिसा जारी गर्ने डेडलाइन एकसाताभन्दा कम, अहिलेसम्म १३,१९९ लाई भिसा


प्रकाशित मिति : आश्विन ८, २०७८ शुक्रबार

डिभी २०२१ को भिसा जारी गर्ने डेडलाइन अब एकसाताभन्दा पनि कम रहेको छ । कोरोना महामारी र विभिन्न कानूनी दाउपेचकाबीच अहिलेसम्म डिभी २०२१ का विजेताहरुलाई इतिहासमा नै सबैभन्दा कम भिसा जारी गरिएको छ ।

गत आर्थिक बर्ष २०२० मा कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका बाबजुत १९ हजार १ सय २५ जना डिभी विजेताले भिसा पाउन र स्टाटस एड्जस्ट गर्न सफल भएको अमेरिकी सरकारको विदेश मन्त्रालयको तथ्यांक छ । तर आर्थिक बर्ष २०२१ मा सेप्टेम्बर २३ सम्म जम्मा १३ हजार १ सय ९९ जनालेमात्र भिसा प्राप्त गर्न सफल भएका छन् ।

बिहिबार डिभी विजेताहरुको प्रतिनिधित्व गर्ने वकिलहरु र अमेरिकी सरकारका तर्फबाट प्रतिवादीहरुले अहिलेसम्म जारी भएका भिसाबारे संयुक्त रिपोर्ट अदालतमा पेश गरेका छन् । गत सेप्टेम्बर ९ मा वासिंटन डिसीको अदालतका न्यायाधिस अमित मेहताले डिभीलाई सबैभन्दा कम प्राथमिकता दिने अमेरिकी विदेश मन्त्रालयको नीति कार्यान्वयनमा रोक लगाउँदै सत्प्रयासका साथ सेप्टेम्बरभरमा सकेजति भिसा जारी गर्न सरकारलाई आदेश दिएका थिए ।

अदालतमा विहिबार पेश गरिएको रिपोर्ट अनुशार संसदले तय गरेका ५५ हजार डाइभर्सिटी भिसामध्ये बिहिबारसम्म जम्मा १३ हजार १ सय ९९ ले भिसा प्राप्त गरेको उल्लेख छ । अदालतमा मुद्दा दायर गरेका २२ हजार २ सय ३ डिभी विजेता र लाभग्राहीहरुले अहिलेसम्म भिसा पाउन सकेका छैनन् । अमेरिकी सरकारले सेप्टेम्बर ३० सम्म जारी गरेको भिसाको आधारमा त्यसपछि न्यायाधिस मेहताले आर्थिक बर्ष २०२१ का निश्चित संख्याका डाइभर्सिटी भिसा संरक्षणको आदेश दिने अपेक्षा समेत गरिएको छ ।

बिहिबार विहान ११ बजेसम्मको रिपोर्ट अनुशार सेप्टेम्बर २३ देखि ३० सम्मका लागि जम्मा २१४२ अन्तरवार्ताहरु तय गरिएका छन् । सेप्टेम्बर १ देखि २३ सम्मका लागि ८ हजार ५ सय ४३ अन्तरवार्ताहरु तय गरिएकोमा सेप्टेम्बर १ देखि १७ सम्म ५ हजार ६ सय १४ जनाको अन्तरवार्ता लिइएको थियो । जस अनुशार सेप्टेम्बर १ देखि १७ सम्म ४ हजार ६ सय ३६ जनालाई डाइभर्सिटी भिसा जारी गरिएको थियो ।

अगस्तमा ५ हजार ७ सय ९४ जनाको अन्तरवार्ता तय गरिएकोमा ४ हजार ५ सय ७७ जनाको अन्तरवार्ता लिइएको थियो भने ३ हजार ८ सय ७५ जनालाई भिसा जारी गरिएको थियो । जुलाईमा १९९५ जनाको अन्तरवार्ता लिइएको थियो भने १७३९ जनालाई भिसा जारी गरिएको थियो । जुनमा १६८३ जनाको अन्तरवार्ता लिइएको थियो भने १४८८ जनालाई भिसा जारी गरिएको थियो ।

मे महिनामा १०१५ जनाको अन्तरवार्ता लिइएको थियो भने ९२८ लाई भिसा जारी गरियो । अप्रिलमा ५७९ जनाको अन्तरवार्ता लिइयो भने ५१४ जनालाई भिसा जारी गरिएको थियो । मार्चमा १८ जनाको अन्तरवार्ता लिएर सबैलाई भिसा जारी गरिएको थियो । फेबु्रअरीमा एकजनालाईमात्र भिसा जारी गरिएको रेकर्ड छ । झण्डै ५ महिनासम्म अमेरिकाले डिभी २०२१ का विजेतलाई भिसा जारी गरेको थिएन ।

कति नेपालीले पाए डाइभर्सिटी भिसा?

अहिलेसम्म डिभी २०२१ का कतिजना नेपाली विजेताहरुले भिसा पाए भन्ने यकिन तथ्यांक प्राप्त भएको छैन । तर अमेरिकी दूतावास काठमाडौंले जुलाई महिनामा ८३ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । जुनसम्म अत्यन्तै कममात्र डिभी विजेताहरुलाई भिसा जारी गरेको अमेरिकी दूतावास काठमाडौंले जुलाईबाट उल्लेख्यमात्रामा डिभी विजेताहरुलाई भिसा जारी गर्न सुरु गरेको थियो ।

जुन महिनामा अमेरिकी दूतावास काठमाडौंले जम्मा १६ जनालाई डाइभर्सिटी भिसा जारी गरेको थियो । मे महिनासम्म आर्थिक बर्ष सन् २०२१ का डिभी विजेताहरुलाई अमेरिकी दूतावास काठमाडौंले भिसा जारी गरेको थिएन ।

सन् २०२१ का लागि डिभी विजेता नेपालीहरुको संख्या ३८०१ रहेको छ । सन् २०२१ का डिभी विजेताहरुमा नेपाल एसियामा दोश्रो भएको थियो । गत आर्थिक बर्ष २०२० मा कोरोना महामारीका बाबजुत पनि २ हजार ८५ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा स्टाटस एड्जस्ट गर्न सफल भएका थिए । त्यो भन्दा अगाडि आर्थिक बर्ष २०१९ मा २७९५, आर्थिक बर्ष २०१८ मा ३३०७, आर्थिक बर्ष २०१७ मा ३४७७ र आर्थिक बर्ष २०१६ मा ३२४७ जना नेपालीहरुले डाइभर्सिटी भिसा पाउन वा डाइभर्सिटी भिसामार्फत स्टाटस एड्जस्ट गर्न सफल भएका थिए ।

 

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com