अब खोप लगाएर नेपाल आएकालाई गन्तव्यतिर, नलगाएकालाई परीक्षणतिर, पोजेटिभ आए आइसोलेसनतिर


प्रकाशित मिति : आश्विन ७, २०७८ बिहीबार

अब खोप लगाएर आउने एनआरएन वा विदेशबाट आउने नेपालीहरुलाई गन्तव्यतिर जान दिइनेछ भने नलगाई आउनेहरुलाई परीक्षणतिर पठाइनेछ । परीक्षणमा कोरोना पोजेटिभ देखिए तोकिएको अस्पताल वा आइसोलेसनमा पठाइने छ । खोप लगाएका विदेशीले अनअराइभल भिसा पाउनसक्नेछन् । तर उनीहरुको पनि एन्टीजेन परीक्षण गरेर नेगेटिभ देखिए गन्तव्यमा जान दिइनेछ भने पोजेटिभ देखिए तोकिएको अस्पताल वा आइसोलेसनमा पठाइने छ ।

नेपाल सरकारले विदेशबाट नेपाल आउने र नेपालबाट विदेश जाने यात्रुहरूका मापदण्डहरुका सम्बन्धमा नयाँ आदेश जारी गरेको छ । उक्त नयाँ मापदण्ड आजैदेखि लागु गरिएको छ । यात्रा व्यवस्थापनबारे नयाँ आदेश जारी गरेको छ।

विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ लाई संस्कृति, पर्यटन तथा नागरिक मन्त्रायलले बिहीवार प्रकाशित गरेको हो। यो आदेश मन्त्रिपरिषद्‌ले पारित गरेको थियो ।

कोरोनाबिरुद्धको खोपको मात्रा पूरा गरेका विदेशीहरुलाई अब अनअराइभल भिसा दिइने भएको छ । तर उनीहरु प्रचलित कानूनबमोजिम अनअराइभल भिसा प्राप्त गर्न सक्ने मुलुकका नागरिक हुनुपर्नेछ ।

कोभिडबिरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकहरुले अन अनराइभल भिसा पाउनेछन् भने कोभिडविरुद्धको खोप नलगाएका वा मात्रा पूरा नगरेकाहरुले सम्बन्धित मुलुकका लागि तोकिएको नेपाली नियोगमार्फत भिसा लिएर र एजेन्सीमार्फत मात्र नेपाल भ्रमणको अनुमति दिइनेछ ।

अनअराइभल भिसाले पर्यटकहरूको आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ । अनअराइभल भिसा लिन चाहने विदेशी नागरिकले नेपालको अध्यागमन प्रवेशबिन्दुमा भिसाका लागि आवेदन गर्दा भिसाका लागि आवश्यक अन्य कागजपत्रका अतिरिक्त थप कागजात समेत पेश गर्नुपर्नेछ ।

उनीहरुले कोभिड खोपको पूर्ण मात्रा पूरा गरेको १४ दिन पूरा भएको प्रमाणका साथमा विमान चढ्न चेकइन हुँदाको अवधिले ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट भएको प्रमाण समेत पेश गर्नुपर्नेछ । पर्वतारोहण र पदयात्रामा आउनेहरुले सो सम्बन्धी अनुमतिको प्रतिलिपि समेत पेश गर्नुपर्नेछ । अनुमति लिनुपर्ने अन्य विषयको हकमा पनि अनुमति प्रतिलिपि पेश गर्नुपर्नेछ । साथमा नेपालमा होटल बुक गरेको प्रमाण पनि पेश गर्नुपर्नेछ ।

नयाँ व्यवस्था अनुसार नेपाल प्रवेश गर्ने सबै विदेशी नागरिकको नेपालस्थित अध्यागमन प्रवेशबिन्दुमा एन्टिजन परीक्षण गरिनेछ । परीक्षणबाट पोजिटिभ देखिएमा अनिवार्य रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तोकेको आइसोलेशन वा अस्पतालमा पठाइने जनाइएको छ ।

एन्टिजन परीक्षणबाट नेगेटिभ देखिएपछि मात्र आइसोलेशनमा बसेको होटलबाट बाहिर जान दिइने छ।

नेपाल प्रवेश गरेपछि विदेशी नागरिकले अनिवार्य रूपमा आफ्नै खर्चमा होटल क्वारन्टिनमा बस्नुपर्ने हुन्छ । कोभिड परीक्षण गर्दा वा आइसोलेशनमा बस्दा तथा बीमा लगायत अन्य खर्च विदेशी नागरिकले नै बेहोर्नुपर्छ । नेपाल भ्रमणमा रहेका सबै विदेशी नागरिकले कोभिडका लक्षण देखिएमा तत्काल परीक्षण गराउनुपर्छ र पोजिटिभ रिपोर्ट आएमा आइसोलेशनमा बस्नुपर्ने हुन्छ।

सरकारले नेपाली वा गैरआवासीय नेपालीहरूको आवतजावतका लागि पनि शर्तहरू निर्धारण गरेको छ। कोभिड खोपको मात्रा पूरा गरेको १४ दिन पूरा भएका विदेशमा बसोबास गरिरहेका वा विदेश भ्रमणमा रहेका अथवा वैदेशिक रोजगारीमा गएका नेपाली हवाई उडानमा चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट भएको प्रमाण र नेपाल आउने व्यक्तिले भर्नुपर्ने फारम भरी त्यसको प्रिन्ट प्रति साथमा राख्नुपर्ने हुन्छ।

नेगेटिभ रिपोर्ट लिएर आउने कोभिडबिरुद्धको खोप लगाएकाहरुलाई गन्तव्यमा जान दिइनेछ । तर खोप नलगाएकाहरुलाई अध्यागमन बिन्दुमा परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछिमात्र गन्तव्यमा जान दिइनेछ । रिपोर्ट पोजेटिभ देखिएमा आइसोलेसन वा अस्पताल पठाइनेछ ।

 

त्यस्ता व्यक्ति प्रवेश गर्दा कोभिडका लक्षण नभएमा गन्तव्यमा जान दिइनेछ। कूटनीतिक नियोग वा अन्य निकाय सम्बद्ध व्यक्तिहरू पनि नेपाल आउँदा त्यस्तै शर्तहरू पालना गर्नुपर्ने जनाइएको छ ।

स्थलमार्गबाट आउनेहरुका सन्दर्भमा समेत मापदण्डहरु बनाइएको छ ।

विमानस्थलमा ट्रान्जिट बनाएर सिधै तेश्रो मुलुक जानेहरुलाई कुनै मापदण्डको पालना गर्नुपर्नेछैन । तर नेपालभित्र छिरेर वा केहीदिन बसेर तेश्रो मुलुक जानेहरुले भने मापदण्डहरु पूरा गर्नुपर्छ ।

बालबालिकाहरुका सन्दर्भमा ५ बर्ष मुनीकालाई खोपको प्रमाण वा कोरोना परीक्षण आवश्यक छैन । ५ बर्षदेखि १८ बर्षसम्मकाहरुले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्छ, खोपको प्रमाण आवश्यक पर्दैन ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com