संविधान दिवस: देशभर कार्यक्रम, संसद विघटन बदर गर्ने न्यायाधीशहरु विभूषित


प्रकाशित मिति : आश्विन २, २०७८ शनिबार

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ ।

जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ ।

तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताका प्रतिनिधिमार्फत जारी गरिएको संविधानको एकअर्कामा अन्यानोश्रित सम्बन्ध रहिआएको छ ।

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराएको छ । सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणालीसमेत अवलम्बन गरेको छ ।

विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष संविधान दिवस मनाइँदै आएको छ । यसपटक सातौँ संविधान दिवस मनाइँदै छ ।

संसद विघटन बदर गर्ने न्यायाधीशहरु विभूषित

सर्वोच्च अदालतका तीनजना न्यायाधीशले प्रसिद्ध प्रवल जनसेवाश्री पाएका छन् । अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीले यो पदक पाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाउज्जवल राष्ट्रद्वीप प्रथम श्रेणीको विभूषण र र न्यायाधीश विश्वम्भर श्रेष्ठलाई उज्जवल कीर्तिमय राष्ट्रद्वीप पदक पाएकाले प्रतिनिधिसभा विघटनको पहिलो मुद्दामा संवैधानिक इजलासमा रहने सबै न्यायाधीशहरु पदकबाट विभूषित भएका छन् ।

महालेखा परीक्षक टंकमणि शर्मा र महान्यायाधिवक्ता खम्मबहादुर खातीले पनि यही पदक पाएका छन् ।पूर्वप्रधानमन्त्री एवं सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की पत्नी सीता दाहाललाई पनि राजनीतिक अभियन्ता भनेर चितवनको ठेगाना राखी यही पदक दिइएको छ ।

मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा, पूर्व प्रदेश प्रमुख तिलक परियार, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले पनि यही पदक पाएका छन् ।प्रतिनिधिसभा विघटनको मुद्दामा तत्कालीन विपक्षी दलका नेता शेरबहादुर देउवाको तर्फबाट बहस गर्ने कानून व्यवसायीहरु सुकीर्तिमय राष्ट्रद्वीपबाट विभूषित भएका छन् ।

वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, महादेवप्रसाद यादव, हरिहर विरही, मुक्ति प्रधान, मिथिलेश सिंह, रमण श्रेष्ठ, दिनेश त्रिपाठी, गोविन्द बन्दी र पदम रोक्का यो पदक पाउनेहरुको सूचीमा छन् ।कानूनका विद्यार्थीहरु सुलभ खरेल र समृत खरेलले पनि जनसेवाश्री पाएर यो सूचीमा थपिएका छन् । यी दुवैजनाले यो मुद्दामा प्रभावकारी बहस गरेका थिए ।

‘संविधानप्रति ग्रहणशीलता बढ्दै’

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान प्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान पुग्न गएको बताएकी छन्।


सातौं संविधान दिवसमा आज शुभकामना दिँदै राष्ट्रपतिले ‘नयाँ संविधान जारी भएयताका वर्षहरूमा संविधानप्रतिको ग्रहणशीलता बढ्दै जाँदा मुलुकको शान्ति र राजनीतिक स्थायित्वका लागि ठूलो योगदान पुग्न गएको छ’ भन्ने सन्देशमा उल्लेख गरेकी छन्।

संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा आवद्ध गर्न मार्गदर्शनसमेत गरेको राष्ट्रपतिको भनाइ छ।

‘वर्तमान संविधानले सामन्ती, निरङ्कुश र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक लगायत सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गर्न मार्गदर्शन गरेको छ। यस संविधानअन्तर्गत नेपालको सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको छ र जनता राज्यशक्तिको स्रोत भएका छन्,’ राष्ट्रपतिले सन्देशमा उल्लेख गरेकी छन्।

साथै राष्ट्रपतिले लामो समयको संक्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दलहरू संविधानप्रदत्त नागरिक अधिकारको उपयोग गरी शान्तिपूर्ण माध्यमबाट आफ्ना राजनीतिक उद्देश्य हासिल गर्न सकिने दृष्टिकोणसहित राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल भइरहेको पनि उल्लेख गरेकी छन्।

‘जनताको राजनीतिक अधिकार प्राप्तिका लागि गरिने संघर्षको चरण पूरा भएको छ र मुलुकको आर्थिक समृद्धिका लागि हाम्रा सम्पूर्ण प्रयासहरू केन्द्रित गर्नु परेको छ,’ सन्देशमा भनिएको छ, ‘संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको छ।’

राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्ने पनि राष्ट्रपतिले उल्लेख गरेकी छन्।

संविधान दिवसमा राष्ट्रपतिले देशभित्र तथा बाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा बधाई तथा शुभकामना व्यक्त गरेकी छन्। उनले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन बलिदान गरेका सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गरेकी छन्।

साथै राष्ट्रपतिले कुमारी इन्द्रजात्रा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेकी छन्।


‘संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील’

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । सातौँ संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले आज अनेक चुनौतीका बावजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने संकल्प गर्नु आवश्यक रहेको उल्लेख गरेका छन् ।

मुलुकको अग्रगामी परिर्वतनका लागि अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञातअज्ञात शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री देउवाले परिवर्तनका लागि भएका संघर्षमा शारीरिक, भौतिक, आर्थिक र मनोवैज्ञानिक क्षति व्यहोरेका व्यक्तिलाई उच्च सम्मानपूर्वक स्मरण गरेका छन् । साथै उनले प्राकृतिक विपद् र कोभिड–१९ को महामारीबाट अकालमा ज्यान गुमाउन पुगेका दिदीबहिनी तथा दाजुभाईलगायत सबैमा श्रद्धासुमन व्यक्त गरेका छन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले कांग्रेस नेतृत्वको सरकारका पालामा संविधानसभाबाट विसं २०७२ असोज ३ गते घोषणा भएको नेपालको संविधान लामो संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको बताएका छन् ।

‘कांग्रेसको नेतृत्वमा सबै दल तथा नागरिकको सहयोगमा मुलुकमा क्रमशः शान्ति स्थापना, संविधान निर्माण तथा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भइ संविधान कार्यान्वयन गरेको सर्वविदितै छ । यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ’, शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री देउवाले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट नेपाली नागरिकको जीवनरक्षा गर्न आगामी चैत मसान्तभित्र सबै नेपाली नागरिकलाई पूर्ण खोप लगाउनु वर्तमान सरकारको मुख्य लक्ष्य रहेको दोहोर्याएका छन् ।

उनले स्वास्थ्यका मापदण्डको पालना गर्दै उच्च सर्तकता र दृढ मनोबलका साथ कोभिड–१९ महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रह गरेका छन् । संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै मुलुकलाई आर्थिक विकासको मार्गमा अग्रसर गराउनु आजको आवश्यकता भएको प्रधानमन्त्री देउवाको भनाई छ ।

‘राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ अग्रसर होऔं’

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्ष पूरा गर्नेतर्फ अग्रसर रहन सबैमा आग्रह गरेका छन् । सातौं संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधानको रक्षा गर्दै यसले निर्दिष्ट गरेको दिशामा अघि बढ्न अग्रसर रहन आग्रह गरेका छन् ।

संविधानले सार्वभौमसत्ता सम्पन्न तुल्याएका जनता नै जनार्दन भएकाले एमालेको निष्ठाको सार नै जनतालाई जनार्दन बनाउने संकल्प रहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।उनले संविधान मुलुकको राजनीतिक प्रणाली व्यवस्थित गर्ने दस्तावेज मात्र नभई लोकतन्त्रप्रति निष्ठा र विश्वासलाई संविधानले आत्मसात गरेको बताए । ‘राष्ट्रलाई एकताको सूत्रमा बाँधेर जनतामा अन्तर्निहित सार्वभौमसत्ता, कानुनको शासन, सामाजिक न्याय र जनताका आधारभूत हक अधिकारको सुनिश्चित गर्ने वर्तमान संविधान सामन्तवादको अन्त्य गर्ने प्रगतिशील राजनीतिक दस्तावेजका रूपमा रहेको छ,’ उनको शुभकामना सन्देशमा उल्लेख छ ।

उनले पृथकतावादको अभियान र राजनीतिक शक्ति प्राप्त गर्न हिंसाको नीति अवलम्बन गरेका शक्तिलाई पनि आफूहरूले संवैधानिक प्रबन्ध अनुरूपको अभ्यासमा सामेल गर्ने सफलता प्राप्त गरेको बताएका छन् । उनले संविधान जारी भएपछिको आम निर्वाचनद्वारा सरकारको नेतृत्व गर्ने जनादेश एमालेलाई प्राप्त गरेको स्मरण गर्दै त्यतिवेला संघीयतालाई व्यवहारमा कार्यान्वयन र जनताका मौलिक हकसम्बन्धी कानून निर्माण गरेको बताए ।

‘पार्टीका नीति र कार्यक्रममा आधारित, घोषणापत्रमा उल्लेखित र निर्वाचनमा जनतासामु गरिएका प्रतिवद्धता पूरा गर्न हाम्रो परिकल्पनालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’को रूपमा शुत्रबद्ध गरी त्यसलाई परिपूर्ण लोकतन्त्रका रूपमा व्याख्या ग¥यौं,’ उनले सन्देशमा भनेका छन्, ‘सबैलाई समान अधिकार, अवसरमा समान पहुँच, समानताको प्रत्याभूति, सामाजिक न्याय र सुरक्षा एवं सम्मानको ग्यारेन्टीसहित परिपूर्ण लोकतन्त्र परिकल्पना र कार्यक्रमको सार हो ।’

संविधान कार्यान्वयनबाटै समाजवाद प्राप्त हुन्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको व्यापक सहभागितामा संविधानसभाले बनाएको संविधान कार्यान्वयनमार्फत नै संविधानले परिकल्पना गरेको समाजवाद स्थापना गर्न सकिने बताएका छन्।

संविधान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै अध्यक्ष नेपालले संविधानको मर्म र भावनालाई व्यवहारमा रूपान्तरण गर्न आआफ्नो तर्फबाट इमान्दार प्रयास गर्न सबैमा आह्वान गरेका छन्।

अध्यक्ष नेपालले सन्देशमा भनेका छन्,“संविधान जारीपछि मुलुकको राज्य संरचना र शासनसत्ता लगायतमा ठूलो परिवर्तन तथा सुधार भएको तर अहिले पनि प्रतिगामी र दक्षिणपन्थी शक्ति संविधानको विरुद्ध लागिरहेको हामी सबैले अनुभूति गरिरहेका छौँ।”

पूर्वप्रधानमन्त्री नेपालले पाँच दलीय गठबन्धनको नेतृत्वमा भएको सडक आन्दोलनले मुलुकलाई प्रतिगमनबाट जोगाउन र संविधानको रक्षा गर्न सफलता प्राप्त गरेको स्मरण गरेका छन्। सर्वोच्च अदालतको फैसलाबाट संविधान र लोकतन्त्रको रक्षा भएको कुरालाई पनि यस अवसरमा उच्च सम्मानसहित स्मरण गर्नैपर्ने उल्लेख गरे। स्वतन्त्र र सक्षम न्यायपालिका, लोकतान्त्रिक व्यवस्थापिका र जवाफदेही कार्यपालिकाबाट नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न सकिने उनको भनाइ छ।

प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा कानुनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात् गर्नु संविधानको उपलब्धि भएको अध्यक्ष नेपालले सन्देशमा उल्लेख गरेका छन्।

अध्यक्ष नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणका लागि भएका विभिन्न आन्दोलनको क्रममा अमूल्य जीवन गुमाउनु हुने ज्ञातअज्ञात शहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

विश्वका विभिन्न मुलुकबाट नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त

नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा विश्वका विभिन्न मुलुकबाट नेपाल र नेपालीको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवम् सरकार प्रमुखले बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर बधाई ज्ञापन गरेका हुन् ।

राष्ट्रपति भण्डारीलाई भारत, बङ्गलादेश, श्रीलङ्का, संयुक्त राज्य अमेरिका, रुसी महासङ्घ, सङ्घीय गणतन्त्र जर्मनी, स्विटजरल्याण्ड, पोर्चुगलका राष्ट्रपति, जापानका सम्राटलगायत २३ राष्ट्रका राष्ट्रप्रमुखले शुभकामना सन्देश पठाएको र ती प्राप्त हुनेक्रम जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसै अवसरमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लींकेनले संविधान दिवसको अवशरमा नेपाली जनतालाई बधाई र शुभकामना दिएका दिएका छन् । अमेरिकी सरकार र अमेरिकी जनताका तर्फबाट सेप्टेम्बर १९ मा संविधान दिवस मनाइरहँदा नेपाल र नेपालीलाई ब्लींकेनले न्यानो बधाई दिएका छन् ।

ब्लींकेनले भनेका छन् – ‘साझा चुनौतीको सामना गरेका कारण यो बितेको वर्ष हाम्रो सम्बन्ध बृद्धि भएको देखिएको छ । विशेष गरी, हामीले कोरोना महामारीको सामना गर्न र जलवायु संकटको सामना गर्न सँगै काम गरेका छौं।’

ब्लीकंनेले भनेका छन् – ‘हामी एक स्थायी मित्रताको खुशीयाली मनाउँछौं जुन जनता(जनताको सम्बन्ध र हाम्रो झण्डै ७५ बर्ष लामो कूटनीतिक सम्बन्धको माध्यमबाट बलियो भएको छ ।’

‘म यो विशेष अवशरमा सबै नेपालीहरुलाई शुभकामना दिन्छु ।’ – ब्लींकेनले भनेका छन् ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले भारत सरकार, भारतीय जनता र स्वयम् आफ्नोतर्फबाट राष्ट्रपति भण्डारीमा शुभकामना व्यक्त गर्दै पठाएको सन्देशमा उनले ऐतिहासिक, सांस्कृतिक, आर्थिक र पारिवारिक सम्पर्कले चिनिएको भारत र नेपालबीचको सम्बन्ध चिरस्थायी रहेको बताए ।

सबल जनस्तरको सम्बन्ध र सुदृढ उच्चस्तरीय आदानप्रदानले आपसी मैत्रीलाई अझ उन्नत तुल्याएको बताउँदै सन्देशमा उनले दुवै देशका जनता र यस क्षेत्रको पारस्परिक लाभका निम्ति अति पुरानो आपसी साझेदारीको आधारलाई थप मजबुत बनाउँदै बहुआयमिक भारत–नेपाल सम्बन्ध विस्तार हुने विश्वास गरेका छन् । भारतका राष्ट्रपतिले राष्ट्रपति भण्डारीको सुख, सुस्वास्थ्यका साथै मित्रवत् नेपाली जनताको निरन्तर प्रगति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका छन् ।

संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता–जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उनले सन्देशमा दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उल्लेख गरेका छन् ।अकल्पनीय कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर एवम् अविचलित सहयोग हुने प्रतिबद्धता प्रधानमन्त्री मोदीले सन्देशमा दोहो¥याएका छन् ।

ओजपूर्ण एवम् बहुआयामिक साझेदारीको माध्यमबाट शान्ति र समृद्धि हासिल गर्ने दुवै देशका जनताको साझा लक्ष्यका निम्ति भारत र नेपालबीचको सुदृढ पारस्परिक सम्बन्धलाई थप गति दिन प्रधानमन्त्री देउवासँग निकटमा रहेर सहकार्य गर्न आफू प्रतीक्षारत रहेको प्रधानमन्त्री मोदीले बताएका छन् ।प्रधानमन्त्री देउवा र समस्त स्नेहशील नेपाली जनताको सुस्वास्थ्यको कामना पनि प्रधामन्त्री मोदीले सन्देशमा गरेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com