काठमाडौंमा भेरोसेलको दोस्रो डोज असोज ४ देखि, भेरोसेलबारे जान्नैपर्ने कुराहरु


प्रकाशित मिति : आश्विन २, २०७८ शनिबार

काठमाडौं जिल्लामा असोज ४ गतेदेखि चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइँदैछ । पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्‍म चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयलले जनाएको छ । निर्देशनालय अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडामा खोप लगाइँदैछ ।

वडा भित्रको तोकिएको ठाउँमा कार्ड देखाएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।यस्तै कीर्तिपुर नगरपालकिामा १० ठाउँमा दोस्रो डोज लगाइदैछ भने चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा दोस्रो डोज चिनियाँ खोप लगाइँदैछ ।

काठमाडौंको नागार्जुन नगरपालिकाको १० ठाउँ, तार्केश्वर नगरपालिकाको ११ ठाउँ, दक्षिणकाली नगरपालिकाको ९ ठाउँ, बुढानीलकण्ठ नगरपालिकाको १३ ठाउँ, टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको ९ ठाउँ, शंकरापुर नगरपालिकाको ९ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको ९ ठाउँमा भेरोसेल दोस्रो डोज खोप लगाउन लागिएको मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्‍ज, शसस्त्र प्रहरी अस्पताल, बलम्बु, बीर अस्पताल, रत्नपार्क, शिक्षण अस्पताल, महाराजगञ्‍ज, निजामती कर्मचारी अस्पताल बानेश्‍वर, परोपकार प्रसूतीगृह, स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा खोप केन्द्र तोकिएको छ ।काठमाडौंको कुन ठाउँमा खोप लगाइँदैछ भन्नेबारेमा सूची तल उल्लेख गरिएको छ ।

कसकसले पाउनेछन् खोप ?

चीनबाट कोरोनाविरुद्धको ४४ लाख डोज खोप शुक्रबार काठमाडौं आइपुगेको थियो । नेपाल एयरलाइन्सको वाइडबडीमार्फत् उक्त परिमाणको भेरोसेल खोप आइपुगेको हो।

खोप लिन बिहीबार राति वाइडबडी विमान बेइजिङ उडेको थियो। नेपाल सरकारले खरिद गरेको ६० लाख डोजमध्ये ४४ लाख डोज खोप ल्याइएको हो । यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ।

केही दिनबाट सुरू हुने खोप अभियानमा हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने योजना रहेको स्वास्थ्य सेवा विभागले जनाएको छ। जसअनुसार ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, सखुंवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा, र दार्चुला रहेका छन्।

त्यसैगरि, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्षभन्दा माथिका नागरिकलाई खोप दिइनेछ । काभ्रे र चितवनमा ३५ वर्षभन्दा माथि र अन्य ५५ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ।

१८ वर्षभन्दा माथिका खोप लगाउन छुट भएका विद्यार्थी, फ्रन्टलाइनमा खटिएका, अतिआवश्यक सेवाका कर्मचारी, शिक्षक, पर्यटन क्षेत्रका मानिसलाईसमेत खोप दिने योजना रहेको विभागले जनाएको छ।

भेरोसेलबारे जान्नैपर्ने कुराहरु

भेरोसेल कति उमेरको व्यक्तिले लगाउन सक्छ ?

यो भ्याक्सिन १८ बर्षभन्दा माथिकाहरुलाई लगाउन अनुमति दिइएको छ । मे ६ मा विश्व स्वास्थ्य संगठनले यो भ्याक्सिनलाई प्रयोगको अनुमति दिएको हो ।

गर्भवती महिलाले भेरोसेल लगाउन हुन्छ ?

गर्भवती महिलाहरुमा भ्याक्सिनको प्रभावकारिता वा जोखिमबारे प्रयाप्त तथ्यांक अहिलेसम्म उपलब्ध छैन । तर यो भ्याक्सिन अन्य कैयन भ्याक्सिनमा नियमित प्रयोग हुने प्रणालीबाट बनाइएको र त्यसको प्रोफाइल गर्भवती महिलाहरु लगायतका लागि समेत सुरक्षित भएकाले गर्भवती महिलाले यो भ्याक्सिन गर्भवती महिलाहरुमा पनि प्रभावकारी र सुरक्षित हुने अपेक्षा छ ।

विश्व स्वास्थ्य संगठनले पनि अन्तरिम रुपमा यो भ्याक्सिन गर्भवती महिलाहरुलाई पनि लगाउन सिफारिस गरेको छ । जोखिमको तुलनामा गर्भवती महिलालाई भ्याक्सिन लगाउँदा फाइदा धेरै हुने विश्व स्वास्थ्य संगठनको निष्कर्ष रहेको छ । विश्व स्वास्थ्य संगठनले भ्याक्सिन लगाउनु अगाडि गर्भवती भए नभएको परीक्षण गर्न भने सिफारिस गरेको छैन ।

अरु कस्ले लगाउन सक्छ भेरोसेल ?

विगतमा कोरोना संक्रमण भएकाले पनि यो भ्याक्सिन लगाउन सक्छन् । सामान्यतया कोरोना संक्रमणभएको ६ महिनाभित्र अर्को पटक संक्रमण हुने अवस्था असाधारण भएकाले संक्रमण भएको ६ महिनापछिमात्र भ्याक्सिन लगाउँदा उपयुक्त हुने सुझाव छ । तर जहाँ कोरोनाका नयाँ प्रकारहरु फैलिरहेका छन्, त्यहाँ भने ६ महिना नकुर्न सुझाव दिइएको छ ।

यो भ्याक्सिनको प्रभावकारिता अन्य बयस्क महिलाहरुजस्तै स्तनपान गराउने महिलाहरुमा पनि उस्तै हुने अपेक्षा गरिएको छ । विश्व स्वास्थ्य संगठनले अन्य महिलाहरुजस्तै स्तनपान गराउने महिलालाई पनि भ्याक्सिन लगाउन सिफारिस गरेको छ । भ्याक्सिन लगाएपनि स्तनपान रोक्न विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छैन ।

एचआईभी संक्रमितहरु कोरोनाबाट सिकिस्त हुने उच्च जोखिममा हुन्छन् । एचआईभी संक्रमितहरु परीक्षणमा सहभागी नभएपनि यो भ्याक्सिन एचआईभी संक्रमितहरुलाई प्राथमिकताका साथ दिन सिफारिस गरिएको छ ।

भेरोसेल भ्याक्सिन कस्ले लगाउनु हुँदैन ?

विगतमा खानेकुरा, भ्याक्सिन वा अन्य कुनै पनि प्रकारको एलर्जीको इतिहास भएकाहरुले यो भ्याक्सिन लगाउनु हुँदैन । ३८ दशमलव ५ डिग्री सेल्सियस भन्दा धेरै शरीरको तापक्रम भएकाहरुलाई पनि तत्काल यो भ्याक्सिन नलगाउन सुझाव दिइएको छ । उनीहरुले ज्वरो निको भएपछि भने भ्याक्सिन लगाउन सक्नेछन् ।

भेरोसेल कति डोज लगाउनुपर्छ ?

यो भ्याक्सिन दुईडोज लगाउनुपर्छ । हरेक डोज शुन्य दशमलव ५ मिलिलिटरको हुन्छ । पहिलो डोज लगाएको तीनदेखि चार हप्ताभित्र दोश्रो डोज लगाउन विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको छ । यदि कसैले पहिलो डोज लगाएको तीनसाता अगाडि नै दोश्रो डोज लगाएको छ भने पनि दोहोराएर लगाउनु नपर्ने विश्व स्वास्थ्य संगठनको भनाई छ । चारहप्ता भन्दा ढिलो भएमा पनि यथाशीघ्र लगाउन सुझाव दिइएको छ । तर सबैलाई दुई डोज लगाउन सिफारिस गरिएको छ ।

भेरोसेल सुरक्षित र प्रभावकारी छ ?

१८ बर्षदेखि ६० बर्षसम्मका व्यक्तिलाई यो भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको तथ्यांक रहेको छ । ६० बर्षमाथिका व्यक्ति परीक्षणमा कममात्र सहभागी भएकाले प्रयाप्त तथ्यांक छैन । तर कम उमेरका र बढी उमेरकाहरुमा सुरक्षाको अवस्थाबारे कुनै फरक नभएकाले यो भ्याक्सिन ६० बर्षमाथिकाहरुलाई पनि दिइएको छ । ६० बर्षमाथिकाहरुलाई भ्याक्सिन दिएका मुलुकहरुलाई उनीहरुको सुरक्षा अवस्थाको सकृय निगरानी राख्न सुझाव दिइएको छ ।

यो भ्याक्सिन २१ दिनको अन्तरालमा २ डोज लगाउँदा ७९ प्रतिशत प्रभावकारी देखिएको छ । दोश्रो डोज लगाएको १४ दिनपछि लक्षणसहितको संक्रमण रोक्न यो ७९ प्रतिशत प्रभावकारी देखिएको हो । त्यस्तै अस्पताल भर्ना हुनेगरी सिकिस्त हुनबाट रोक्न पनि ७९ प्रतिशत प्रभावकारी रहेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com