अब मार्च १६ सम्म एसाइलम अन्तरवार्तामा नेपाली भाषा अनुवादक लैजान नपर्ने, सरकारबाटै निशुल्क


प्रकाशित मिति : भाद्र ३१, २०७८ बिहीबार

अब युएससीआईएसमा एसाइलम अन्तरवार्तामा जाँदा नेपाली भाषा अनुवादक लैजान नपर्ने नियम सन् २०२२ को मार्च १६  सम्मका लागि थप गरिएको छ । त्यस्ता नेपाली भाषा अनुवादक सरकारले नै निशुल्क प्रदान गर्ने भएको छ । कोरोनाको महामारीका कारण सन् २०२० को सेप्टेम्बरदेखि भाषा अनुवादक लैजान नपर्ने नियम लागु गरिएको थियो ।

त्यसअगाडि भने एसाइलम आवेदकलाई भाषा अनुवादकको आवश्यकता परेको खण्डमा आफै शुल्क तिरेर लैजानुपर्ने अवस्था रहेको थियो । नयाँ नियम अनुशार अँग्रेजी नबोल्ने एसाइलम आवेदकले युएससीआईएसमा भाषा अनुवादक लैजानु पर्दैन । आवेदकले उसले जान्ने ४७ वटामध्ये एउटा भाषामा अन्तरवार्ता दिन सक्छन्। ती ४७ भाषामा नेपाली समेत सुचिकृत गरिएको छ ।

युएससीआईएसले आज उक्त नियममा म्याद थप गर्दै फेडरल रजिष्टरमा सुचना प्रकाशित गरेको हो । कोरोना भाइरसको फैलावट नियन्त्रणका लागि सरकारले नै भाषा अनुवादक उपलब्ध गराउने नियम ल्याएको हो । सरकारको सम्झौतामा रहेका त्यस्ता भाषा अनुवादकहरुले टेलिफोनमार्फत अनुवाद गर्नेछन् ।

सरकारले प्रदान गर्ने अनुवादकका लागि एसाइलम आवेदकले कुनै शुल्क तिर्नुपर्नेछैन । अनुवादकहरु कडा र सावधानीपूर्वक परीक्षण गरिएका, पृष्ठभूमि परीक्षण गरिएका, व्यवसायिक र प्रतिस्पर्धाबाट आएकाहरु हुने युएससीआईएसले जनाएको छ ।

नियम सेप्टेम्बर २० मा समाप्त हुन लागेकोमा सन् २०२२ को मार्च १६ सम्म थपिएको हो । यो नियम एसाइलम अफिसमा सकारात्मक एसाइलमका सन्दर्भमामात्र लागु हुनेछ । अदालतमा भने यो नियम लागु हुनेछैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com