अक्टोबरदेखि रोजगारमा आधारित ग्रिनकार्डको कोटा दोब्बर, अधिकतम २० हजार नेपालीले पाउनसक्ने


प्रकाशित मिति : भाद्र २९, २०७८ मंगलबार

अक्टोबरदेखि अमेरिकाले रोजगारमा आधारित ग्रिनकार्डको बार्षिक कोटा चालु आर्थिक बर्षको तुलनामा झण्डै दोब्बर बनाउने भएको छ । चालु आर्थिक बर्षका लागि रोजगारमा आधारित ग्रिनकार्डको बार्षिक कोटा १ लाख ४० हजार रहेकोमा आगामी आर्थिक बर्षका लागि त्यो झण्डै दोब्बरभन्दा बढी अर्थात् २ लाख ९० हजारभन्दा बढी बनाइने भएको छ ।

एउटा देशका लागि पूर्ण कोटाको अधिकतम ७ प्रतिशतसम्म ग्रिनकार्ड जारी गर्नसकिने भएकाले नेपालीहरु अधिकतम २० हजारभन्दा बढी ग्रिनकार्डका लागि यो श्रेणीको ग्रिनकार्डका लागि योग्य हुनसक्नेछन् । यो श्रेणीको ग्रिनकार्ड नेपालबाटै पनि फाइल गर्नसकिन्छ ।

चालु आर्थिक बर्षमा महामारीका कारण रोजगारमा आधारित ग्रिनकार्डमा धेरै आप्रवासी भिसाहरु जारी हुन नसकेपछि उक्त कोटा आगामी आर्थिक बर्षका लागि थपिने भएको हो । कोरोनाको महामारीका कारण विदेशमा रहेका अमेरिकी दूतावास र कन्सुलेटहरुले रोजागारमा आधारित ग्रिनकार्डका लागि आप्रवासी भिसा अत्यन्तै कम संख्यामामात्र जारी गरेका छन् ।

त्यस्तै अमेरिकामा पनि युएससीआईएसमा रोजगारमा आधारित ग्रिनकार्ड लगायतका आवेदनमा चर्को ब्याकलग रहेको छ । नेपालका लागि आगामी अक्टोबरमा पनि रोजगारमा आधारित सबै श्रेणीका ग्रिनकार्डहरु करेन्ट रहेका छन् ।

भिसा करेन्ट नभएको अवस्थामा अमेरिकामा हुनेले ग्रिनकार्ड आवेदन आई ४८५ दिनका लागि भिसा करेन्ट हुन्जेल प्रतिक्षा गर्नुपर्छ भने अमेरिकाबाहिर हुनेका सन्दर्भमा भिसा करेन्ट भइसकेपछिमात्र नेशनल भिसा सेन्टरले प्रकृया अगाडि बढाउँछ । रोजगारमा आधारित ग्रिनकार्डमा अस्थायी कामदार भिसाहरु एच श्रेणीका भिसाहरु पर्दैनन् ।

रोजागारमा आधारित पहिलो श्रेणीमा विज्ञान, कला, शिक्षा, व्यवसाय, खेलकुदमा असाधारण प्रतिभा भएकाहरु पर्छन् । त्यस्तै उत्कृष्ट शोधकर्ताहरु र प्राध्यापाकहरु यो श्रेणीमा पर्छन् । उनीहरुसँग कम्तीमा तीनबर्षसम्म प्राध्यापन वा शोधको अनुभव भएको हुनुपर्छ । त्यस्तै बहुराष्ट्रिय प्रबन्धक वा कार्यकारीहरु पनि यो श्रेणीमा पर्छन् । अमेरिकी रोजगारदाताको विदेशमा रहेको शाखा, सम्बन्धित कम्पनी वा सहायक कम्पनीमा कम्तीमा तीनबर्ष काम गरेकाहरु यो श्रेणीको ग्रिनकार्डका लागि योग्य हुन्छन् ।

दोश्रो श्रेणीमा एड्भान्स डिग्रीहोल्डरहरु र अपवादयुक्त क्षमता भएकाहरु पर्छन् । तेश्रो श्रेणीमा दक्ष कामदार, पेशाकर्मी र कम क्षमता भएका कामदारहरु पर्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com