अमेरिकामा हुने नेपालीका लागि रोजगारमा आधारित सबै श्रेणीका भिसा अक्टोबरमा करेन्ट


प्रकाशित मिति : भाद्र २९, २०७८ मंगलबार

रोजगारमा आधारित सबै श्रेणीका भिसा अक्टोबरमा करेन्ट रहेको छ । अक्टोबरको भिसा बुलेटिन अनुशार अक्टोबरमा अमेरिकामा हने रोजगारमा आधारित सबै श्रेणीका आवेदकहरुले आई १४० आवेदनका साथमा नै आई ४८५ अर्थात् ग्रिनकार्ड आवेदन पेश गर्न सक्नेछन् ।  भिसा करेन्ट भएकाले कुनै समय प्रतिक्षा गर्नुपर्नेछैन ।

आई ४८५ फाइल गरेपछि उक्त आवेदन पेन्डिङ रहेको अवधिसम्म उनीहरुले वर्क परमिट प्राप्त गर्नसक्नेछन् ।

ग्रिनकार्ड प्राप्त नहुँदै आवेदन पेन्डिङ रहेको अवस्थामा अमेरिकाबाहिर यात्रा गर्नुपरेको खण्डमा उनीहरुले एड्भान्स परोल डकुमेन्टका लागि समेत आवेदन दिन सक्नेछन् । आई ४८५ फाइल गर्न पाउने भएकाले फाइल गरेको मितिदेखि उनीहरु अन्य अध्यागमन स्टाटसमा रहेको खण्डमा उक्त स्टाटस जोगाइराख्ने झन्झट हुँदैन । किनभने आई ४८५ फाइल भएको मितिपछिको समयलाई गैरकानूनी उपस्थीति गणना गरिदैन ।

विगतमा केही समय देखि नेपालीहरुका लागि रोजगारमा आधारित भिसाहरु करेन्ट रहदै आएका छन् ।

त्यसभन्दा अगाडि भिसा करेन्ट नभएको अवस्थामा रोजगारमा आधारित ग्रिनकार्डका लागि आई १४० दिइसकेपछि एकसाथ ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्न मिल्ने अवस्था थिएन । आई ४८५ फाइल गर्नका लागि भिसा करेन्ट हुन्जेल प्रतिक्षा गर्नुपर्ने अवस्था थियो ।

जसका कारण भिसा करेन्ट हुन्जेल आई १४० आवेदन दिनेहरुले आफ्नो स्टाटस जोगाइराख्नुपर्ने बाध्यता र झन्झट समेत थियो । उक्त झन्झटका कारण अमेरिकामा विभिन्न गैरआप्रवासी भिसामा आउनेहरुले अमेरिकामा आई १४० आवेदन दिएर नेपाल फर्केर ग्रिनकार्ड कुर्ने अवस्था समेत आएको थियो ।

आई १४० का साथमा आई ४८५ ग्रिनकार्ड आवेदन फाइल गरेको भएतापनि यदि आई १४० आवेदन अस्वीकृत भएमा भने युएससीआईएसले आई ४८५ आवेदन स्वत अस्वीकृत गर्दै आएको छ ।

नेपालीहरुका सन्दर्भमा रोजगारमा आधारित सबै श्रेणीका भिसा करेन्ट रहेपनि चाइनिज, इन्डियन, एल साल्भाडोर, ग्वाटेमाला र होण्डुरसकाका नागरिकलाई सबै श्रेणीका रोजगारमा आधारित भिसा करेन्ट छैनन् । त्यस्तै मेक्सिको र फिलिपिन्सका नागरिकका सन्दर्भमा भने अक्टोबरमा सबै श्रेणीका रोजगारमा आधारित भिसा करेन्ट छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com