अक्टोबरको भिसा बुलेटिनमा टसमस भएन परिवारमा आधारित कुनै श्रेणीको ग्रिनकार्ड पाउने मिति


प्रकाशित मिति : भाद्र २९, २०७८ मंगलबार

अमेरिकी सरकारको विदेश मन्त्रालय अन्तरगत ब्यूरो अफ कन्सुलर अफेयर्सले अक्टोबरको भिसा बुलेटिन जारी गरेको छ । तर अक्टोबरको भिसा बुलेटिनमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड पाउने र ग्रिनकार्ड फाइल गर्ने मितिमा टसमस भएको छैन ।

जसको अर्थ परिवारमा आधारित विभिन्न श्रेणीको ग्रिनकार्ड पाउने लाग्ने समय र अमेरिकामा नै हुनेहरुले फाइल गर्नका लागि लाग्ने समय एकमहिना बढेको छ । अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरी, अमेरिकी नागरिकका विवाहित छोराछोरीहरु र अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउने र फाइल गर्ने मितिमा कुनै फेरवदल नभएको हो ।

ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा भने भिसा करेन्ट रहेको छ । जसको अर्थ अमेरिकाबाहिर रहेका ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा नेशनल भिसा सेन्टरले भिसा करेन्ट हुने मिति प्रतिक्षा नगरी सिधै प्रकृया अगाडि बढाउँछ । अमेरिकाभित्रै हुने ग्रिनकार्ड बाहकका दम्पत्ति र २१ बर्ष नकाटेका छोराछोरीका सन्दर्भमा आई १३० फर्मका साथमा ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गरेर वर्क परमिट र ट्राभल डकुमेन्ट प्राप्त गर्नसकिन्छ । साथै अध्यागमन स्टाटस जोगाउने झन्झट पनि हुँदैन ।

अक्टोबरको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीले ग्रिनकार्ड पाउन लाग्ने अवधि ६ बर्ष १० महिना रहेको छ । ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि ६ बर्ष रहेको छ । अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुले ग्रिनकार्ड पाउन लाग्ने अवधि १२ बर्ष ११ महिना रहेको छ भने अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुका सन्दर्भमा ग्रिनकार्ड पाउन लाग्ने अवधि १४ बर्ष ६ महिना रहेको छ ।

नेपाल सहित चीन र भारतको सन्दर्भमा पनि सोही अवधि नै कायम रहेको छ । तर मेक्सिको र फिलिपिन्सको सन्दर्भमा भने अझ धेरै रहेको छ । मेक्सिकनहरुका सन्दर्भमा अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीले ग्रिनकार्ड पाउन लाग्ने अवधि २२ बर्ष ९ महिना रहेको छ भने ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड पाउन लाग्ने अवधि २१ बर्ष ६ महिना रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com