Follow @khasokhasmag

अमेरिकाका १३ राज्यमा साढे ३ महिनाको अवधिमा भ्याक्सिन लगाएका ६१६ जनाको कोरोनाबाट मृत्यु


प्रकाशित मिति : भाद्र २७, २०७८ आईतबार

अमेरिकामा १३ राज्य र स्थानमा साढे ३ महिनाको अवधिमा कोरोनाबिरुद्धको भ्याक्सिन पूर्णरुपमा लगाएका ६१६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अप्रिल ४ देखि जुलाई १७ सम्मको अवधिमा उनीहरुको मृत्यु भएको तथ्यांक सीडीसीले सार्वजनिक गरेको छ ।

कोरोनाको डेल्टा भेरियन्टको प्रभाव बढेको अवस्थामा यो तथ्यांक निकालिएको हो । यो तथ्यांक अलाबामा, एरिजोना, कोलोराडो, इन्डियाना, क्यालिफोर्नियाको लस एन्जलस, लुजियाना, मेरिल्याण्ड, मिनेसोटा, न्यू मेक्सिको, न्युयोर्कको न्युयोर्क सिटी, नर्थ क्यारोलिना, वासिंटनको शियाटल र किङ काउन्टी र युटाहको तथ्यांक हो ।

यो अवधिमा भ्याक्सिन नलगाएका ५ लाख ६९ हजार १ सय ४२ जना संक्रमित भएका थिए भने भ्याक्सिन लगाएकाहरु ४६ हजार ३ सय १२ जना संक्रमित भएका थिए । अर्थात् कुल संक्रमितमध्ये ९२ प्रतिशत भ्याक्सिन नलगाएकाहरु र ८ प्रतिशत भ्याक्सिन लगाएकाहरु थिए ।

त्यस्तै यो अवधिमा ३४ हजार ९ सय ७२ जना भ्याक्सिन नलगाएकाहरु अस्पतालमा नै भर्ना हुनु परेको थियो । भ्याक्सिन लगाएकाहरु भने २९ सय ७६ जना अस्पतालमा भर्ना भएका थिए । अर्थात कुल अस्पतालमा भर्ना हुनेहरुमध्ये ९२ प्रतिशत भ्याक्सिन नलगाएकाहरु र ८ प्रतिशत भ्याक्सिन लगाएकाहरु थिए ।

यही अवधिमा भ्याक्सिन नलगाएका ६ हजार १ सय ३२ जनाको मृत्यु भयो । जबकी भ्याक्सिन लगाएकाहरु ६१६ जनाको मृत्यु भएको थियो । अर्थात अर्थात् कोरोना संक्रमणबाट कुल मृत्युमध्ये ९१ प्रतिशत भ्याक्सिन नलगाएकाहरु र ९ प्रतिशत भ्याक्सिन लगाएकाहरु थिए ।

नयाँ अध्ययन अनुशार पूर्ण रुपमा भ्याक्सिन नलगाएकाहरुमा संक्रमणको खतरा भ्याक्सिन लगाएकाहरुको तुलनामा पाँचगुणा बढी हुने सीडीसीले सुझाव दिएको छ । त्यस्तै भ्याक्सिन लगाएकाहरुको तुलनामा नलगाएकाहरु अस्पतालमा भर्ना हुने वा सिकिस्त हुने जोखिम १० गुणा बढी हुने र मृत्यु हुने जोखिम पनि १० गुणा बढी हुने सीडीसीको भनाई छ ।

गत साता सीडीसीले सार्वजनिक गरेको एउटा तथ्यांकमा अमेरिकामा पूर्ण रुपमा भ्याक्सिन लगाएरपनि संक्रमित हुनेहरुको कुल संख्या १२ हजार ९ सय ८ रहेका थिए । अमेरिकामा १७८ मिलियन व्यक्तिले पूर्णरुपमा कोरोनाबिरुद्धको खोप लगाइसकेका छन् । यो तथ्यांक अनुशार पूर्णरुपमा भ्याक्सिन लगाएका व्यक्तिमा १३ हजारमा एकजनामामात्र संक्रमणको सम्भावना देखिएको थियो ।

के भ्याक्सिन लगाएपछि कोरोना संक्रमण हुँदैन ?

कोरोनाबिरुद्धका स्वीकृत भ्याक्सिनहरुले कोरोना संक्रमणबिरुद्ध बलियो संरक्षण प्रदान गर्छन् । फाइजर, मोडेर्ना, आष्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन लगायतका भ्याक्सिन व्यापक रुपमा वितरण गरिएका देशहरुमा कोरोनाबाट संक्रमित हुने दर पनि कम रहेको छ । तर भ्याक्सिन लगाउँदैमा सबै व्यक्ति संक्रमणबाट बच्न सक्छन् भन्ने हुँदैन ।

आष्ट्राजेनेका भ्याक्सिन प्रयोगका लागि स्वीकृत हुँदा यो भ्याक्सिनले ७० प्रतिशतमा संक्रमण हुन नदिने देखिएको थियो । त्यस्तै फाइजर भ्याक्सिनले ९० प्रतिशतमा संक्रमण हुन नदिने देखिएको थियो । बेलायतको प्रारम्भिक तथ्यांकमा दुबै भ्याक्सिनले ८० प्रतिशतमा संक्रमण रोकेको पाइएको थियो ।

कोरोनाबिरुद्धका कुनै पनि भ्याक्सिनहरु भ्याक्सिन लगाएका शतप्रतिशतमा संक्रमण हुनबाट रोक्न सक्षम छैनन् । संक्रमितहरुको बीचमा जाँदा वा भाइरसको संसर्गमा आउँदा केही भ्याक्सिन लगाएका व्यक्तिमा पनि कोरोना संक्रमण हुनसक्छ । तर भ्याक्सिन लगाएकाहरुमा कोरोना संक्रमण भइहाले पनि अधिकांशमा सामान्य लक्षण वा लक्षण नै नदेखिने हुन्छ । भ्याक्सिन लगाएकाहरु सिकिस्त हुने, अस्पताल भर्ना हुने अवस्था आउने वा ज्यानै जाने घटना दुर्लभ रहेको छ ।

भ्याक्सिनको पूर्ण डोज नलगाउँदै संक्रमणको खतरा बढी हृन्छ ?

भ्याक्सिन लगाउँदैमा तुरुन्तै वा भोलिपल्टदेखि नै संरक्षण प्राप्त हुँदैन । एकडोजमात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको भ्याक्सिन लगाएपछि पूर्ण संरक्षण प्राप्त हुनका लागि कम्तीमा दुईसाता लाग्छ । दुई डोज लगाउनुपर्ने अन्य भ्याक्सिनका सन्दर्भमा पनि दोश्रो डोज लगाएको कम्तीमा दुईसातापछिमात्र पूर्ण संरक्षण प्राप्त हुन्छ ।

भ्याक्सिनको दोश्रो डोज लगाएको दुईसाता नपुग्दै भाइरसको संसर्गमा आएको खण्डमा त्यस्ता व्यक्तिलाई कोरोना संक्रमण हुनसक्छ । वा त्यस्ता व्यक्ति कोरोना संक्रमणबाट सिकिस्त समेत हुनसक्छन् । त्यस्तै भ्याक्सिनको पूर्ण डोज लगाएपछि पनि कति व्यक्तिमा बलियो प्रतिरक्षा प्रणाली विकाश हुन्छ भने कतिपयमा कमजोर प्रतिरक्षा प्रणाली विकाश हुन्छ । कुनै पनि भ्याक्सिनले शतप्रतिशत व्यक्तिलाई संक्रमण हुनबाट संरक्षण प्रदान गर्दैनन् ।

रोयल मेलबर्न इन्स्टीच्युट अफ टेक्नोलोजीकी भ्याक्सिन विज्ञ कायली क्वीन भ्याक्सिन लगाउनुलाई सिटबेल्ट लगाउनुसँग तुलना गर्छिन् । सिटबेल्ट लगाउँदैमा सधै घाइते हुनबाट जोगिन्छ भन्ने छैन तर लगाएको खण्डमा दुर्घटना भइहालेमा अधिकांश समय घाइते हुनबाट वा गम्भिर घाइते हुनबाट भने जोगाउन सक्छ ।

नेपालमा चाइनिज भ्याक्सिन भेरोसेल लगाउने क्रममा

भ्याक्सिन लगाएकाहरु डेल्टाबाट संक्रमित भइरहेका छन् ?

कोरोनाबिरुद्धको भ्याक्सिन लगाएका कैयन व्यक्ति कोरोनाको डेल्टा भेरियन्टबाट संक्रमित भएका विवरणहरु आएका छन् । यो भेरियन्ट बढी संक्रामक तथा छिटो र सजिलोगरी फैलिने भएकाले पछिल्लो समयमा धेरै व्यक्ति यो भेरियन्टबाट संक्रमित छन् । कतिपय अध्ययनले त सुरुको भेरियन्टको तुलनामा डेल्टा भेरियन्टले एकहजार गुणासम्म भाइरल लोड उत्पादन गर्ने निष्कर्ष निकालेका छन् ।

यो भेरियन्टको संसर्गमा आएका धेरै व्यक्तिमा संक्रमणको खतरा रहेको छ । अहिले स्वीकृत कैयन भ्याक्सिनहरुले डेल्टा भेरियन्टबिरुद्ध पनि संरक्षण प्रदान गरिरहेको अध्ययनले देखाएको छ । तर विगतका भेरियन्टको तुलनामा संरक्षण दर भने कम रहेको छ । भ्याक्सिन अनुशार पनि यो भेरियन्टबिरुद्ध संरक्षण दर फरक फरक रहेको छ ।

सीडीसी निर्देशक रोशेल वालेन्स्कीका अनुशार भ्याक्सिन लगाएकाहरुपनि कोरोनाको डेल्टा भेरियन्टबाट संक्रमित भएमा उनीहरुले नाक र घाँटीमा भाइरसको उल्लेख्य लोड बोक्ने पछिल्लो शोधले देखाएको छ । कुनै लक्षण नै नदेखिएका तर डेल्टाबाट संक्रमित भ्याक्सिन लगाएकाहरुले अरुमा सार्न सक्ने खतरा अन्य भेरियन्टको तुलनामा अत्यन्तै बढी रहेको छ ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

के भ्याक्सिन लगाएको व्यक्ति संक्रमित भएमा अरुलाई सार्न सक्छ ?

यदि तपाई भ्याक्सिन लगाइसकेपछि संक्रमित हुनुभएको खण्डमा तपाईले अरुलाई सार्ने जोखिम रहन्छ । तर भ्याक्सिन लगाएको व्यक्ति संक्रमित हुने सम्भावना कम हुने भएकाले सार्ने जोखिम पनि स्वत कम हुन्छ । बर्षको सुरुतिरको तथ्यांकहरुले भ्याक्सिन लगाएका व्यक्तिले अरुलाई सार्ने सम्भावना निकै दुर्लभ रहेको देखाएका थिए । तर डेल्टा भेरियन्टका कारण त्यो जोखिम केही बढेको छ ।

जव कुनै व्यक्ति कोरोना भाइरसबाट संक्रमित हुन्छ, तब उसले आफ्नो सेलहरुभित्र भाइरस पुनर्उत्पादन गरिरहेको हुन्छ र भाइरल लोड बढी हुन्छ । यस्तो अवस्थामा उसले श्वास फेर्दा, खोक्दा, बोल्दा, हाछ्यु गर्दा भाइरसहरु बाहिर निस्कन्छन् र अरुलाई संक्रमण हुन्छ । जुन व्यक्तिमा धेरै भाइरस उत्पादन हुन्छ वा भाइरल लोड बढी हुन्छ, त्यस्ता व्यक्तिले अरुलाई सार्ने जोखिम बढी हुन्छ । बेलायत र इजरायलमा गरिएको अध्ययनले कोरोनाबिरुद्धको खोप लगाएका व्यक्ति संक्रमित भइहाले पनि थोरैमात्र भाइरस उत्पादन गर्ने र बाहिर निकाल्ने भएकाले त्यस्ता व्यक्तिबाट अन्यमा संक्रमणको जोखिम पनि अत्यन्तै दुर्लभ हुन्छ ।

३ लाख ६५ हजार व्यक्तिमा ईंग्ल्याण्डमा गरिएको अर्को अध्ययनमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको व्यक्ति संक्रमित भइहालेमा पनि उक्त व्यक्तिले सोही परिवारमा आफूसँगै बस्दै आएका व्यक्तिलाई कोरोना सार्ने सम्भावना जम्मा ५० प्रतिशतमात्र रहेको पाइएको थियो । सीडीसीको पछिल्लो मापदण्ड अनुशार भ्याक्सिन लगाएकाहरु डेल्टा भेरियन्टबाट संक्रमित भएको खण्डमा उनीहरुले पनि उल्लेख्य रुपमा अरुलाई कोरोना सार्ने गरेको पाइएको बताइएको छ ।

नेपालमा कोरोनाबिरुद्धको खोप लगाइदै

भ्याक्सिन लगाएको व्यक्ति संक्रमित भएमा सिकिस्त हुन्छ?

आष्ट्राजेनेका, फाइजर, जोन्सन एण्ड जोन्सन, मोडेर्ना लगायतका कैयन स्वीकृत भ्याक्सिनहरुले कोरोनाबिरुद्ध बलियो संरक्षण प्रदान गर्नुका साथै यी भ्याक्सिन लगाएकाहरु अस्पतालमा भर्ना हुने अवस्था तुलनात्मक रुपमा कम रहेको छ ।  अमेरिका, अष्ट्रेलिया लगायतमा मुलुकमा पछिल्लो समयमा अस्पतालमा भर्ना हुनेहरुमध्ये प्राय सबै भ्याक्सिन नलगाएकाहरु वा पूर्णरुपमा भ्याक्सिन नलगाएकाहरु रहेका छन् ।

 

भ्याक्सिन लगाएपछि कोरोनाबाट मृत्यु पनि हुनसक्छ ?

भ्याक्सिनले कैयनको मृत्युहुनबाट जोगाएको छ । तर भ्याक्सिन मृत्यु रोक्न शतप्रतिशत प्रभावकारी भने छैन । भ्याक्सिन लगाएपनि दुर्लभ रुपमा केहीको मृत्यु हुनसक्छ । तर अहिलेका लागि ज्यान जानबाट जोगाउने उपयुक्त हतियार भ्याक्सिन नै हो ।

 

 

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com