यस्तो छ ऋषिपञ्चमीबारेको धार्मिक विश्वास, फरक विचार राख्नेहरु पनि उल्लेख्य


प्रकाशित मिति : भाद्र २६, २०७८ शनिबार

भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज सप्तऋषिको पूजा आराधना गरी मनाउने चलन छ ।

ऋषिपञ्चमीमा महिलाले बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।

तीजको व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमको भनाई छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटि भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।

नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने धार्मिक विश्वास गरिन्छ । यसैकारण ऋषिपञ्चमीमा दत्तिउन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछूतको दोष निवारण हुन्छ भन्ने धार्मिक विश्वास छ ।

यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । यसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ । सप्तऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो ।

ऋषिपञ्चमी सुरु हुनुको मान्यता महिलाको रजस्वलासित जोडिएको ऋषिपञ्चमीका विषयमा एउटा किंवदन्ती पनि प्रचलित छ ।

प्राचीन समयमा इन्द्रले विश्वरूपको शिरलाई तीन टुक्रा पारी हत्या गरेका कारण ब्रह्म हत्याको पाप भोग्नुपर्‍यो । यस हत्याबाट पिरोलिएका इन्द्रले आफ्नो दुःख ब्रह्मालाई सुनाए । इन्द्रको ब्रह्म हत्या निवारणका लागि ब्रह्माले एक वर्षसम्मको दोष इन्द्रलाई भोग गराई बाँकी दोष पृथ्वी, वृक्ष, जल र स्त्रीमा चार भाग लगाई चारैतिर फयाँकिदिए ।

यसैकारण उब्जनी नहुने उषरभूमि, वृक्षबाट निस्कने खोटो, पानीमा निस्कने बुदबुद फेन अर्थात् फिँज र स्त्रीमा रज देखिन थालेको धार्मिक विश्वास रहेको छ ।

रजस्वला भएका बेलामा अरुलाई छोइछाई गर्दा महिलाको शरीरबाट निस्कने विकृत रजका कीटाणुले नराम्रा रोग निम्त्याउने र त्यसले गर्दा महिलालाई नै पाप लाग्ने भएकाले छुन नहुने र जानी नजानी छोइछाई भएमा आजको दिनमा अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यस पापबाट मुक्त भइने धार्मिक विश्वास रहेको हो ।

रज भनेको फोहर हो जुन महिलामा मासिक धर्मका समयमा निस्कन्छ । यसबाट बच्नु स्वास्थ्यका लागि राम्रो हुने भएकाले अध्ययन अनुसन्धानबाट प्रमाणित भएपछि समाजमा लागू गरिएको विश्वास गरिन्छ ।

ऋषिपञ्चमीमा स्नान गरी पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रतविधि छ ।

मान्यता बदलिंदै

पछिल्लो समयमा ऋषिपञ्चमीबारेको मान्यता बदलिदै गएको छ । कैयन महिलाहरुले महिनावारीको पापसँग जोडिएको ऋषिपञ्चमी बहिष्कार समेत गर्ने गरेका छन् ।

सुषमा नामकी ट्वीटर प्रयोगकर्ता लेख्छिन् – ‘मैले पनि महिनावारीको पाप सँग जोडिएको ऋषिपञ्चमी बहिष्कार गरेको अढाइ दशक पुगेछ। शिरका स्वामीका लागि व्रत नबसेको पनि थुप्रै भो। पर्व र कुरीति छुट्टाछुट्टै विषय हुन् भन्ने मान्यता छ मेरो चाहिँ।’

त्यस्तै योगमाया नामकी ट्वीटर प्रयोगकर्ता लेख्छिन् -‘ पस्चिमाहरुको फास्टिङ् ठीक हाम्रो तीजको ब्रत कसरी बेठिक ? भनेर ‘पुर्विय दर्शन’को वकालत गर्नुभन्दा पहिला यति बुझौ ब्रत बसेर,’पतिदेव’को खुट्टाको पानी खाएर ब्रत तोड्नु कसरी ठीक ? कसरी एकजना परमेश्वर अर्को भक्त ब्रतको होइन कि योसँग गासिएको मान्यताको बिरोध हो सिधा छैन र कुरा ?’

त्यस्तै पारस राहदी मगर ट्वीटरमा लेख्छन् – ‘तिज/ऋषिपञ्चमी जस्ता चाडले महिलालाई बर्गसंघर्षबाट अलग्याइरहेकाे छ । महिला मुक्ति वर्गसंघर्षबाट मात्र संभव छ । अरु भ्रम हुन् ।’ 

तस्वीरमा गैरिधारामा ऋषिपञ्चमी मनाउने क्रममा महिलाहरु ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com