Follow @khasokhasmag

भाद्रकृष्ण औँसी श्राद्ध आज, कुशे औँसी मङ्गलबार: यस्तो छ कुशको आयुर्वेदिक महत्व


प्रकाशित मिति : भाद्र २१, २०७८ सोमबार

आज भाद्रकृष्ण औँसी श्राद्ध । भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ । बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म भने भोलि गर्नुपर्ने जनाइएको छ । अपराह्नमा औँसी भएका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यताअनुसार यस्तो निर्णय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

आज बिहान ६:५६ मिनेटसम्म चतुर्दशी तिथि र त्यसपछि औँसी भएकाले अपराह्नकालमा औँसी तिथि परेको छ । सूर्योदयमा औँसी भएका दिन स्नान, दान आदि कर्म गर्ने, हलो बार्ने, बाबुको मुख हेर्ने आदि पर्व मनाउनुपर्ने शास्त्रीय विधिका आधारमा यी कर्म भदौ २२ गते मङ्गलबार गर्नुपर्ने समितिले स्वीकृति दिएको पञ्चाङ्गमा उल्लेख छ । मङ्गलबार बिहान ६:२५ सम्म औँसी तिथि छ ।

मघा नक्षत्र भएकाले आज पिण्ड दिएर  श्राद्ध गर्न नहुने धर्मशास्त्रविद् धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । मघा नक्षत्र भएका दिन श्राद्ध गरेमा जेठो छोरा नाश हुने शास्त्रीय वचन छ । सन्तान नहुनेले भने आज श्राद्ध गर्छन् । मघामा पिण्ड नदिई गरिने श्राद्ध भने आज गरिन्छ । तीर्थमा गरिने श्राद्ध मघा नक्षत्र परे पनि गर्नुहुन्छ भन्ने मान्यता राख्नेहरु आज बिहानैदेखि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा पुगेका छन् ।

आज श्राद्ध गर्न आउनेलाई दूरी कायम गरेर कर्म गर्न दिइने भएपनि मङ्गलबार कुशे औँसीका अवसरमा हुने मेला भने स्थगित गरिएको छ ।

भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा श्राद्ध गरेमा घर र मामाघरतिरका २१ पुस्तासम्मका पितृले पार पाउँछन् भन्ने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा प्रत्येक वर्ष गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भक्तजन आउने गर्छन् ।

कोरोना महामारीका कारण यस वर्ष पनि मन्दिर क्षेत्रमा लाग्ने मेला रोकिएको छ । यस अवसरमा मन्दिरमा हुने नित्य पूजा आराधना भने यथावत छ ।

कुशे औंसीको शास्त्रीय मान्यता

कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।

कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा पुर्‍याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन् ।

कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

यज्ञादी कर्म गरिँदा कुशको आहुति केतु ग्रहलाई वैदिक मन्त्रकासाथ दिने चलन छ । यज्ञ गरिँदा यज्ञकुण्डको चारैतिर कुश ओछ्याइन्छ र रात्रिकालमा शुद्ध पानीमा भिजाएर राखेको कुशको पानीको प्रयोग वीणादि कलश स्थापना गरिँदा कलशमा राख्ने चलन पनि छ ।

हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् ।

गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् ।

‘पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

कुशको आयुर्वेदिक महत्व

वैज्ञानिक दृष्टिकोणबाट कुशको प्रयोग लाभदायक मानिएको छ । भनिन्छ कुशले बनेको गुन्द्री वा चटकीमा नियमित बसाइले उच्च रक्तचापका विरामीलाई लाभ हुन्छ ।

आयुर्वेदिक उपचारमा पनि कुशको खास महत्व छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारका लागि आयुर्वेदिक औषधि बनाइन्छ । कुशको प्रयोग श्वास, दाह, रक्तपित्त, रक्तविकार, तिर्खा, मिर्गौलाको पत्थरी, मानव शरीरको रक्तसँग सम्बन्धित रोग तथा जण्डिस, छालामा देखिएका खटिरा आदिको उपचारमा गर्न सकिन्छ ।

कुश मानवले धारण गर्दा आयु बढ्ने र प्रदूषित वातावरण नास गर्ने र यसलाई पानीमा डुबाउँदा पानी शुद्धीकरण हुने विश्वास छ । जप, पूजापाठ र यज्ञ गरिँदा त्यसबाट शक्ति रक्षा गरिदिने कुशलाई आसनको रुपमा प्रयोग गरिन्छ ।

जप, ध्यान, पूजा, हवन र श्रद्धा गर्दा पृथ्वीको गुरुत्वाकर्षणले मानवदेहलाई प्रभाव पार्न नसकोस, रोग फैलाउने भाइरसहरु निस्क्रिय होउन् भनेर कुशको प्रयोग गरिन्छ । ग्रहण लागेको समयमा दही, दूध, अन्न, पानी तथा अन्य खाद्य वस्तुहरुमा कुश राखिदिदिएमा ग्रहणकालमा निस्किएका अशुद्ध विकीरणको दुष्प्रभाव नपर्ने विश्वास छ ।

(नोट: समाचारमा उल्लेख गरिएका विवरणहरु स्वास्थ्य सल्लाह होइनन् । स्वास्थ्य सल्लाहका लागि प्रामाणिक चिकित्सकसँग सम्पर्क गर्नुपर्छ ।)

 

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com