४ महिनादेखि स्थगित चालक अनुमतिपत्र परीक्षा आजदेखि, यस्तो छ नयाँ मापदण्ड र प्रश्नप्रत्रको स्वरुप


प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार

बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले सवारी चालक अनुमतिपत्रको परीक्षा आजदेखि सुचारु गरेको जनाएको छ । गत वैशाख १५ गतेदेखि कोरोना महामारीका कारण लिखित तथा प्रयोगात्मक परीक्षा स्थगन गरिएका थिए ।

मन्त्रालयद्वारा भदौ १३ मा जारी सूचनामा प्रयोगात्मक परीक्षाका लागि आवेदन दिइ बायोमेट्रिक गरेका लिखित परीक्षा र लिखित परीक्षा दिइ प्रयोगात्मक परीक्षामा संलग्न हुने, एकपटक प्रयोगात्मक परीक्षा अनुत्तीर्ण हुने तथा कार्यालयमा उपस्थित भई वर्ग थपका लागि राजश्व बुझाइसकेका सेवाग्राहीका लागि परीक्षा सञ्चालन हुने जनाएको थियो ।

यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७८ स्वीकृत गरेसँगै रोकिएका परीक्षा सञ्चालन गर्न मन्त्रालय मातहतका निकायलाई बाटो खुला भएको हो । कोरोनाका कारण देशभर परीक्षा रोकिँदा झण्डै आठ लाख सेवाग्राही समस्यामा परेका छन् ।

अब सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७८ का अनुसार परीक्षा हुने भएको छ । यो नयाँ मापदण्डमा परीक्षार्थीले जनस्वास्थ्यका मापदण्डलाई अनिवार्य पालना गर्दै मास्क र स्यानिटाइजर प्रयोग गर्नुपर्ने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

परीक्षाका क्रममा भीडभाड नगरी भौतिक दूरी कायम गर्नुपर्ने, परीक्षा केन्द्रमा प्रवेश गर्नु अगाडि परीक्षार्थीको शारीरिक तापक्रम मापन गर्नुपर्ने, प्रश्नपत्र वितरण तथा हाजिरी गराउँदा उच्च सतर्कता अपनाउनुुपर्ने र मापदण्डअनुसार परीक्षा सुरु हुनुअगावै परीक्षार्थीलाई ट्रायल हुने समय तोकी तोकिएको समयमा परीक्षा सञ्चालन गरिने जनाइएको छ ।

तोकिएको समयमा उपस्थित हुन नसक्ने परीक्षार्थीलाई अनुपस्थित भएको मानिने र सोही दिनको अन्य सिफ्टमा सञ्चालन हुने परीक्षामा समेत सहभागी नगराउने मापदण्डमा प्रावधान छ । परीक्षार्थीलाई प्रयोगात्मक परीक्षाको दिन, सिफ्ट र समयको जानकारी परीक्षा सञ्चालन हुनुभन्दा कम्तीमा २४ घण्टा अगाडि उपलब्ध गराइने व्यवस्था मापदण्डमा गरिएको छ । परीक्षा सञ्चालन गर्दा एक सिफ्टमा बढीमा ५० परीक्षार्थीलाई मात्र सहभागी गराइने छ ।

कार्यालयले खुला ठाँउ भएको विद्यालय वा अन्य भवनलाई लिखित परीक्षाको लागि खोजी गरी प्रयोग गर्नुपर्ने मापदण्डमा व्यवस्था छ । अब ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन निर्देशिका, २०७७ अनुसार परीक्षा हुनेछ ।

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि वस्तुगत नमूना प्रश्न सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर सहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको अनुमतिपत्रको लिखित परीक्षामा सोधिने प्रश्नपत्रको नमुना सार्वजनिक गरेको हो ।

लिखित परीक्षामा सवारी तथा यातायात व्यवस्थासम्बन्धी कानुनी प्रावधान, ट्राफिक नियमको पालना तथा सवारी साधनको प्राविधिक पक्षसम्बन्धी सामान्य व्यवहारिक ज्ञानका विषय समेटी पूर्णाङ्क १०० रहने गरी चार/ चार अङ्कका जम्मा २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने छ ।

त्यही सङ्ग्रहभित्रबाट २५ वस्तुगत बहुउत्तर प्रश्न सोधिने र ३० मिनेटका परीक्षामा उत्तीर्ण हुन न्यूनतम ६० अङ्क ल्याउनुपर्ने छ । निर्देशिकामा प्रयोगात्मक परीक्षाका प्रावधानमा समेत परिमार्जन गरिएको बताइएको छ ।

यातायात व्यवस्था कार्यालय ठूलो भर्‍याङले प्रयोगात्मक परीक्षाका लागि ‘ट्रायल सेन्टर’का रूपमा भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरलाई स्वीकृति दिएको छ । चन्द्रागिरि नगरपालिका–१२ बलम्बूस्थित गुर्जुधारामा रहेको सो एकेडेमीले सरकारको मापदण्डअनुसार प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताएको छ ।

एकेडेमीमा सबै प्रकारका यातायातका साधनका लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । कोभिड–१९ का लागि निर्धारण गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै एकेडेमीमा प्रयोगात्मक परीक्षा सुरु हुने जनाइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com