ग्रिनकार्डको शर्त हटाउन फाइल गरिएको आवेदनको रिसिप्टले २ बर्ष ग्रिनकार्डको काम गर्ने


प्रकाशित मिति : भाद्र १८, २०७८ शुक्रबार

ग्रिनकार्डको शर्त हटाउन फाइल गरिएको आवेदनको रिसिप्टले अब २ बर्ष ग्रिनकार्डको काम गर्ने भएको छ । सेप्टेम्बर ४ देखि लागु हुने गरी ग्रिनकार्डको शर्त हटाउन फाइल गरिएका आवेदनहरु आई ७५१ वा आई ८२९ का रिसिप्टले २ बर्षसम्म स्टाटसको प्रमाणका रुपमा काम गर्ने युएससीआईएसले जनाएको छ ।

यसअगाडि यस्ता रिसिप्टले १८ महिनामात्र स्टाटसको प्रमाणका रुपमा काम गर्ने प्रावधान रहेको थियो । अहिले यी आवेदनहरुमा निर्णय दिने अवधि बढेपछि युएससीआईएसले रिसिप्टले मान्यता पाउने अवधि पनि बढाएको हो ।


यस्तो रिसिप्ट पुरानो ग्रिनकार्डसँगै पेश गरिएको खण्डमा ग्रिनकार्डको म्याद सकिएको २४ महिनासम्म पनि ग्रिनकार्डको काम गर्नेछ । युएससीआईएसमा आवेदन पेन्डिङ रहेको अवस्थामा रिसिप्ट र म्याद सकिएको ग्रिनकार्ड एकसाथ रहेको खण्डमा म्याद भएको ग्रिनकार्ड सरह नै काम गर्ने युएससीआईएसको भनाई छ ।

सेप्टेम्बर ४ अगाडि सही तरिकाले आई ७५१ वा आई ८२९ आवेदन दिएकाहरुका सन्दर्भमा नयाँ म्याद उल्लेख भएको रिसिप्ट जारी गरिने पनि युएससीआईएसले जनाएको छ ।

विवाहको आधारमा २ बर्षे ग्रिनकार्ड पाएकाहरुले शर्त हटाएर पूर्ण ग्रिनकार्ड प्राप्त गर्नका लागि फर्म आई ७५१ फाइल गर्नुपर्छ । त्यस्तै लगानीका आधारका २ बर्षे ग्रिनकार्ड पाएकाहरुले शर्त हटाएर पूर्ण ग्रिनकार्ड प्राप्त गर्नका लागि फर्म आई ८२९ भर्नुपर्छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com