अमेरिकी दूतावास काठमाडौंबाट भिजिटर भिसामा रेकर्ड ब्रेक, महामारी सुरु हुनु अगाडिकै दरमा भिसा


प्रकाशित मिति : भाद्र १४, २०७८ सोमबार

अमेरिकी दूतावास काठमाडौंले गत महिना लगभग महामारी सुरु हुनु अगाडिकै दरमा भिजिटर भिसा जारी गरेको छ । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार जुलाईमा अमेरिकी दूतावास काठमाडौंले ११३६ जनालाई भिजिटर भिसा जारी गरेको छ, जुन कोरोना महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो ।

कोरोना महामारीका कारण गतबर्षको मार्चदेखि भिसा सेवा प्रभावित भएको थियो । त्यो अगाडि सन् २०२० को फरबरीमा अमेरिकी दूतावास काठमाडौंले ११५८ जनालाई बी श्रेणीको भिजिटर भिसा जारी गरेको थियो । त्यो अगाडि अमेरिकी दूतावास काठमाडौंले सन् २०२० को जनवरीमा ११९८ जनालाई भिजिटर भिसा जारी गरेको थियो ।

जुन महिनामा ३२६ जनालाईमात्र भिजिटर भिसा जारी गरिएकोमा अमेरिकी दूतावास काठमाडौंले जुलाईमा यो संख्या झण्डै ३ गुणा बृद्धि गरेको हो । मे महिनामा पनि ३५४ जनालाईमात्र काठमाडौंबाट अमेरिकाको भिजिटर भिसा जारी गरिएको थियो । अप्रिलमा ५०९ जनालाई र मार्चमा ७६० जनालाई काठमाडौंबाट अमेरिकाको भिजिटर भिसा जारी गरिएको थियो ।

अमेरिकी दूतावास काठमाडौं

फरबरीमा ४९४, जनवरीमा ४१२, गत बर्षको डिसेम्बरमा ५६६, नोभेम्बरमा १९६, अक्टोबरमा ४०४, सेप्टेम्बरमा ९३ जनालाई काठमाडौंबाट अमेरिकाको भिजिटर भिसा जारी गरिएको थियो । सन् २०२० को अगस्तमा १४४ र जुलाईमा २०४ जनालाईमात्र काठमाडौंबाट भिजिटर भिसा जारी गरियो ।

त्यस्तै सन् २०२० कै जुनमा ८ जनालाई भिजिटर भिसा जारी गरिएकोमा मेमा कसैलाई पनि भिसा दिइएन । अप्रिलमा ९ जनालाई र मार्चमा ७८५ जनालाई काठमाडौंबाट अमेरिकाको भिजिटर भिसा दिइएको थियो । यसरी हेर्दा महामारी सुरु भएको १७ महिनाको अवधिमा अमेरिकी दूतावास काठमाडौंले जुलाईमा भिजिटर भिसामा रेकर्ड ब्रेक गरेको छ ।

अहिलेसम्म अमेरिकी दूतावास काठमाडौंले अन्तरवार्ता आवश्यक नपर्ने भिजिटर भिसाको नविकरण र आपतकालिन अवस्थामा मात्र भिजिटर भिसा जारी गरेको बताएको छ । तत्काल अमेरिकाको भ्रमण गर्नुपर्ने अवस्था भएमा तीब्र गतिको अप्वाइन्टमेन्टका लागि अनुरोध गर्न सकिन्छ ।

अमेरिकी कम्पनीको लिखित अनुरोधमा विशेष कार्यक्रममा भाग लिन चाहनेहरुले पनि भिजिटर भिसाका लागि तीब्र गतिको अप्वाइन्टमेन्ट लिन सक्छन् । त्यस्तै स्वास्थ्य लगायतका मानवीयताका आधारमा गरिने अनुरोधमा पनि तीब्र गतिको अप्वाइनटमेन्टका लागि अनुरोध गर्न सकिन्छ । अहिले अमेरिकी दूतावास काठडमौंले विद्यार्थी भिसाका सन्दर्भमा भने तीब्र गतिको अप्वाइन्टमेन्ट स्वीकार नगरिने जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com