एमालेले निष्कासन गरेका १४ सांसदको पद कायमै रहने


प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार

एमालेले निष्कासन गरेका १४ सांसदको पद कायमै रहने भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले नेकपा एमालेले निष्कासन गरेका १४ सांसदहरूको पद रिक्त नगर्ने निर्णय गरेका हुन् ।

ती सांसदहरूले राजनीतिक दल सम्बन्धी अध्यादेश बमोजिम अलग दल दर्ता गरेको जानकारी निर्वाचन आयोगबाट प्राप्त भइसकेका कारण पद रिक्त नगर्ने निर्णय भएको जनाइएको छ ।

ती सांसदहरू समेत संलग्न भई नेकपा एकीकृत समाजवादी दर्ता भएको जानकारी निर्वाचन आयोगबाट प्राप्त भएकाले नेकपा एमालेको पत्रबारे कुनै कारबाही गरिरहनुपर्ने अवस्था नरहेको सभामुखले निर्णय गरेका हुन् ।

एमालेले माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरीलाई ह्वीप उल्लंघनको आरोपम कारबाही गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राजनीतिक दल सम्बन्धी ऐन अनुसार दलले निष्कासन गरेका सांसदको पद रिक्त हुन सभामुखले संसद् बैठकमा सूचना सुनाउने वा सचिवालयको पाटीमा सूचना टाँस गर्नुपर्ने प्रावधान रहेको छ ।

तर सभामुखले त्यसबारे निर्णय गर्नुअघि नै एमालेले निष्कासन गरेका सांसदहरूले गत बुधवार निर्वाचन आयोगबाट अलग दल दर्ताको प्रमाणपत्र लिइसकेका थिए।

सरकारले २० प्रतिशत सांसद वा केन्द्रीय सदस्य अलग भएर नयाँ दल दर्ता गर्न पाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरे लगत्तै एमालेका सांसदहरूले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्न भदौ १ गते आयोगमा निवेदन दिएका थिए।

सभामुखले एमालेको पत्रबारे तत्कालै कारबाही नगरेकै कारण ती सांसदहरूको पद जोगिएको आरोप एमालेले लगाउँदै आएको छ।

आयोगले ती सांसदहरूको पद रहे नरहेको जानकारी माग गर्दा संसद् सचिवालयले एमालेको पत्रबारे सभामुख विचाराधीन रहेको जवाफ फर्काएपछि आयोगले नयाँ दल दर्ता गर्ने निर्णय गरेको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com