Follow @khasokhasmag

अक्टोबर १ पछि कोरोनाबिरुद्धको भ्याक्सिन नलगाएकालाई ग्रिनकार्ड र आप्रवासी भिसा नदिइने


प्रकाशित मिति : भाद्र १०, २०७८ बिहीबार

आगामी अक्टोबर १ देखि ग्रिनकार्ड आवेदकहरुले अध्यामगन मेडिकल परीक्षा उत्तिर्ण गर्न र ग्रिनकार्ड प्राप्त गर्नका लागि अनिवार्य रुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउनुपर्ने भएको छ । अमेरिकन सीडीसीले जारी गरेको नयाँ आदेश अनुशार ग्रिनकार्ड आवेदकले मेडिकल रिपोर्ट पेश गर्दा पूर्णरुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाएको रेकर्ड समेत पेश गर्नुपर्ने भएको छ ।

यो प्रावधान अमेरिकामा ग्रिनकार्ड आवेदन दिने र अमेरिकाबाहिर दूतावास तथा कन्सुलेटहरुमा आप्रवासी भिसाको आवेदन दिने सबैका सन्दर्भमा लागु हुने भएको छ । तर भ्याक्सिन लगाउनका लागि उमेरले योग्य भएकाहरु र कोरोनाबिरुद्धको भ्याक्सिन प्राप्त गर्न स्वास्थ्यका हिसाबले पनि उपयुक्त रहेकाहरुका सन्दर्भमामात्र यो नियम लागु हुने जनाइएको छ ।

अमेरिकाको अध्यागमन कानूनको १२१ ए १ अनुशार स्वास्थ्यबारेको प्रवेश निषेध आधारसँग समन्धित रहेर अध्यागमन मेडिकल जाँच हुने गरेको छ । अमेरिकी सरकारकाबाट आपतकालिन प्रयोगको अनुमति पाएका वा विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त भ्याक्सिनहरु लगाएको प्रमाण मेडिकल रिपोर्टमा पेश गर्नुपर्नेछ । विना प्रमाण स्वघोषित भ्याक्सिन लगाएको बताउँदैमा त्यसलाई मान्यता दिइने छैन ।

यदि आवेदकले पूर्णरुपमा भ्याक्सिन लगाएको छैन भने मेडिकल रिपोर्ट तयार गर्ने सिभिल सर्जन वा चिकित्सकलाई आवेदकको सहमतिमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउन पाउने अधिकार समेत दिइएको छ । यद्यपी मेडिकल परीक्षण अगाडि नै आवेदकले कोरोनाबिरुद्धको भ्याक्सिनको पूर्ण डोज लगाउनुपर्ने र भ्याक्सिन नलगाइकनै मेडिकल परीक्षणमा जानेको आवेदन प्रकृयामा ढिलाई हुने चेतावनी दिइएको छ ।

यदि आवेदक भ्याक्सिन लगाउन स्वीकृत गरिएभन्दा कम उमेरको भएको खण्डमा स्वत भ्याक्सिन नलगाए हुने छुट प्रदान गरिनेछ । तर यदि कोही व्यक्तिले धार्मिक वा नैतिक आधारमा भ्याक्सिन नलगाउने भएमा त्यस्ता आवेदकले युएससीआईएस समक्ष छुटका लागि आवेदन दिनुपर्नेछ । उक्त छुटका लागि गरिएको आग्रह स्वीकार गर्ने वा नगर्ने अधिकार युएससीआईएसमा रहनेछ ।

ग्रिनकार्डका लागि मेरिकल रिपोर्ट पेश गर्दा कोरोनाबिरुद्धको प्रतिरोधात्मक क्षमताको भने परीक्षण गर्नुनपर्ने सीडीसीको सुझाव रहेको छ । प्रतिरोधात्मक क्षमताको प्रमाण भएपनि वा विगतमा कोरोना संक्रमण भएको भएतापनि आवेदकले भ्याक्सिन लगाएको प्रमाण पेश गर्नुपर्नेछ ।

अक्टोबर १ अगाडि नै मेडिकल रिपोर्ट पेश गरिसकेकाहरुका सन्दर्भमा भने नयाँ नियम लागु हुनेछैन ।

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com