Follow @khasokhasmag

२०२० का ९०९५ डिभी विजेतालाई २०२३ अगाडि भिसा जारी गर्न नसकिने बाइडेन प्रशासनको तर्क


प्रकाशित मिति : भाद्र १०, २०७८ बिहीबार

आर्थिक बर्ष २०२० का ९०९५ डिभी विजेतालाई आर्थिक बर्ष २०२३ मामात्र भिसा जारी गर्न सकिने बाइडेन प्रशासनको तर्क रहेको छ । अदालतले दुबै पक्षलाई अगस्त २५ सम्म टाइमलाइनबारे सहमति कायम गरेर सुचित गर्न निर्देशन दिएकोमा अमेरिकी विदेश मन्त्रालयले यस्तो तर्क पेश गरेको हो ।

अब अदालतले यसबारे अन्तिम आदेश जारी गर्ने अपेक्षा गरिएको छ । गतसाता अमेरिकाको संघीय अदालतले २०२० का ९०९५ डिभी विजेताको भिसा प्रकृया अगाडि बढाउन सरकारलाई आदेश दिएको थियो । न्यायाधिस अमित मेहताले विगतमा संरक्षणको आदेश दिइएका ९ हजार ९५ भिसा जारी गर्नका लागि प्रकृया अगाडि बढाउन आदेश दिएका थिए ।

तर उनीहरुले कहिलेसम्म भिसा पाउने भन्ने टुंगो लाग्न बाँकी रहेको छ । आर्थिक बर्ष २०२२ का डिभी विजेताहरुलाई भिसा जारी गर्ने क्षमता प्रभावित हुने भन्दै अमेरिकी विदेशमन्त्रालयले २०२० का ९ हजार ९५ जनालाई आर्थिक बर्ष २०२३ मा भिसा जारी गर्ने तर्क गरेको हो । अमेरिकामा आर्थिक बर्ष २०२३ झण्डै १३ महिनापछि अर्थात सन् २०२२ को अक्टोबर १ बाट सुरु हुनेछ ।

त्यस्तै न्यायाधिसले तत्काल २०२० का ९ हजार ९५ जनालाई भिसा जारी गर्न आदेश दिएको खण्डमा त्यसबाट अफगानिस्तानको संकट सम्बोधन गर्ने विदेश मन्त्रालयको क्षमता प्रभावित हुने तर्क समेत बाइडेन प्रशासनको रहेको छ । महामारी र अफगानिस्तानको संकट सम्बोधनका लागि साधनश्रोतको अभाव रहेको अमेरिकी विदेश मन्त्रालयको तर्क रहेको छ ।

सन् २०२० को सेप्टेम्बर ३० मा दिइएको आदेशमा न्यायाधिस मेहताले आर्थिक बर्ष २०२० का ९ हजार ९५ डिभी विजेताको भिसा संरक्षणको आदेश दिएका थिए । तर संरक्षित भिसाहरु अहिलेसम्म प्रकृयामा भने लगिएको थिएन ।

९ हजार ९५ जनालाई केस नम्बरका आधारमा नभई र्याण्डम आधारमा भिसा प्रकृया अगाडि बढाइनेछ । ९ हजार ९५ संख्या नपुग्दासम्म उनीहरुले भिसा पाउनेछन् । त्यसपछि बाँकी रहेकाहरुले भने भिसा पाउनेछैनन् । न्यायाधिस मेहताले ९ हजार ९५ बाहेक थपका डिभी विजेताका लागि भने कुनै आदेश जारी गरेका छैनन् ।

कोरोनाको महामारी र तत्कालिन राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशका कारण आर्थिक बर्ष २०२० का ठूलो संख्यामा डिभी विजेताहरुले भिसा पाउन सकेका थिएनन् ।

आर्थिक बर्ष २०२० का लागि ३६९६ जना नेपालीहरुले डिभी लोटरी पारेका थिए । तर उनीहरुमध्ये झण्डै साढे १३ सय जना प्राथमिक डिभी विजेताहरुलेमात्र अमेरिकाको भिसा प्राप्त गर्न सफल भए । बाँकी झण्डै २३ सय नेपालीहरुले भिसा पाउन सकेका छैनन् ।

उनीहरुमध्ये कतिपयको त भिसाका लागि अन्तरवार्ताको मिति समेत तय भइसकेको थियो । उनीहरु अमेरिका आउन पाउनेमा लगभग ढुक्क रहेका थिए । तर कोरोना महामारी र ट्रम्पको कार्यकारी आदेशका कारण अन्तरवार्ता हुन सकेको थिएन ।

ट्रम्पले कार्यकारी आदेशमार्फत सन् २०२० को भिसाको औचित्य समाप्त गरेकोमा संघीय अदालतले त्यसको बिरुद्धमा फैसला गरेपछि सेप्टेम्बरमा ४०४ जना नेपालीहरुले डाइभर्सिटी भिसा प्राप्त गरेका थिए । जसमध्ये २२५ जना प्राथमिक डिभी विजेता नेपाली रहेका थिए भने १०५ जना उनीहरुका दम्पत्ति थिए । त्यस्तै ७४ जना उनीहरुका छोराछोरीहरु रहेका थिए ।

काठमाडौंमा रहेको अमेरिकी दूतावासलेमात्र सेप्टेम्बरमा ३७९ जना डिभी विजेताहरुलाई भिसा जारी गरेको थियो । जसमध्ये २१२ जना प्राथमिक डिभी विजेताहरु, ९५ जना उनीहरुका दम्पत्ति र ७२ जना उनीहरुका छोराछोरीहरु रहेका थिए । अदालतको आदेशपछि आफूहरुले सकेजतिलाई भिसा जारी गरेको काठमाडौंस्थीत नेपाली दूतावासले जनाएको थियो ।

आर्थिक बर्ष २०२१ का भिसा नपाएका डिभी विजेताहरुको संख्या पनि उल्लेख्य रहेको छ । ट्रम्पको कार्यकारी आदेश समाप्त भइसकेपछि पनि बाइडेन प्रशासनले डिभीलाई कम प्राथमिकतामा राखेपनि उनीहरुले भिसा पाउन सकेका थिएनन् । उनीहरुले सेप्टेम्बरभित्र भिसा पाइसक्नुपर्ने प्रावधान रहेपनि अहिलेसम्म अत्यन्तै कमलेमात्र भिसा पाएका छन् ।

 

   दर्ता नम्बर: २८२९

नमस्ते मिडिया

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com