५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या २२ पुग्यो


प्रकाशित मिति : भाद्र ६, २०७८ आईतबार

नेपालमा ५ सयभन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या २२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकासहित २२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित पुगेका हुन्।

ती जिल्लामा मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, नुवकोट, दोलखा, सिन्धुपाल्चोक, नवलपरासीपूर्व, कास्की, बाग्लुङ, गोरखा, स्याङजा, तनहुँ, सुर्खेत र कैलाली रहेका छन्।

आइतबार देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ५१ छ। जसमा ३५ हजार ५५५ जना होम आइसोलेसन र ३ हजार १९६ जना संस्थागत आइसोलेसनमा छन्। ४२१ जना क्वारेन्टाइन, ६८१ जना आइसीयू र १६९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
नेपालमा कोरोना संक्रमितको दैनिक संख्या भने आइतबार घटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४४३ जनाको पीसीआर परीक्षणमा १ हजार ७०२ र ३ हजार ७३ जनाको एन्टिजेन परीक्षणमा २१८ जनामा कोरोना पुष्टि भएको हो।

आइतबार थप २४ कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५ सय ९ पुगेको छ।

२४ घण्टामा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २४८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म ६ लाख ९८ हजार १ सय ७३ जना संक्रमणमुक्त भइसकेका छन्।

आइतबारसम्म ४९ लाख ४२ हजार २ सय ५० जनाले पहिलो डोज र ३८ लाख ४६ हजार ७ सय ३६ जनाले दोस्रो डोज खोप लगाइसकेका छन्। आइतबार १८ हजार ३ सय २२ जनाले खोप प्राप्त गरेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com