एकै दिन फुटे दुई पार्टी, ठाकुर नेतृत्वमा जसपा (लोकतान्त्रिक) र नेपाल नेतृत्वमा एमाले (समाजवादी) गठन


प्रकाशित मिति : भाद्र २, २०७८ बुधबार

नेपालमा एकै दिन २ पार्टी फुटेका छन्। माधवकुमार नेपाल नेतृत्वमा नेकपा एमाले (समाजवादी) गठन भएको हो भने महन्थ ठाकुर नेतृत्वमा जनता समाजवादी पार्टी (लोकतान्त्रिक) नेपाल गठन भएको हो।

दुवै दलका नेताहरु बुधबार निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले ठाकुर र नेपाललाई सजिलो हुने गरी दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि दुवैले नयाँ दल दर्ता गराएका हुन्। चलिरहेको संसद अधिवेशनलाई अन्त्य गरी देउवाले दल विभाजन अध्यादेश ल्याएका हुन्। जसलाई बुधबारै राष्ट्रपतिले अनुमोदन गरेकी छन्। नयाँ अध्यादेशमा केन्द्रीय सदस्य र सांसद संख्याको २० प्रतिशत लिएर दल विभाजन गर्न सकिने प्रावधान छ। यसअघि उक्त संख्या ४० प्रतिशत थियो। अध्यादेश राजपत्रमा प्रकाशित भएपछि नेताहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन्।

नेकपा एमाले २४ वर्षपछि पुनः विभाजित भएको हो। यसअघि महाकाली सन्धिदेखि असन्तुष्ट बामदेव गौतमले २०५४ सालमा ठूलो संख्याका साथ एमाले फुटाएर नेकपा माले गठन गरेका थिए। त्यसपछि गौतम २०५८ सालमा पुनः एमालेमै फर्किएका थिए। त्यसपछि २०५९ सालमा तत्कालीन उपाध्यक्ष अशोक राईलगायतका जनजातीय मुद्धाका पक्षमा वकालत गर्ने नेताहरुले पार्टी परित्याग गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाल नेतृत्वमा गठन गरिएको एमाले (समाजवादी) पार्टीमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका गरी ३१ सांसदहरु सामेल भएका छन्। तर, यसअघि नेपालपक्षमा सक्रियताका साथ लागेका भीम रावल, घनश्याम भुसाल र अष्टलक्ष्मी शाक्य केपी ओलीतर्फ लागेका छन्। शाक्य बागमती प्रदेश प्रमुख डोरमणि पौडेलको प्रस्तावमा बागमती प्रदेश प्रमुख बन्दैछिन्।

नयाँ दलमा झलनाथ खनाललाई वरिष्ठ नेता बनाइएको छ भने पार्टी ९५ सदस्यीय बनाइएको छ। नयाँ पार्टीको राष्ट्रिय सम्मेलन चाँडै गरिने नेताहरुले जानकारी दिएका छन्।

यस्तै, एक वर्षअघि गठन भएको जनता समाजवादी पार्टी पनि फुटेको छ। गत वर्षको वैशाखमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले संघीय समाजवादी पार्टीलक्षित गर्दै दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि समाजवादी र राष्ट्रिय जनता पार्टी रातारात एकीकृत भएर जनता समाजवादी पार्टी गठन गरेका थिए।

तर ओलीले पुसमा प्रतिनिधिसभा विघटन गरेपछि त्यसका बारेमा मत विभाजन हुँदा जसपामा किचलो सुरु भएको थियो। ठाकुरपक्षले आफूहरुसँग निलम्बित सांसद रेशम चौधरीसहित २४ कार्यकारिणी सदस्य र १५ सांसद रहेको दाबी गरेको छ।

ठाकुरपक्षले एकल अध्यक्षीय प्रणालीबाट सञ्चालन हुने गरी जनता समाजवादी पार्टी (जसपा) नेपाल लोकतान्त्रिक दर्ताका लागि आयोगमा निवेदन दिएको छ। उक्त पार्टीको चुनाव चिह्न साइकल राखिएको छ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com