अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा सरकारले थाल्यो प्रयास


प्रकाशित मिति : श्रावण ३२, २०७८ सोमबार

सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको मन्त्रिपरिषद बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ रहेका नेपालीलाई तत्काल उद्धारको पहल गर्ने निर्णय गरेको हो।

बैठकले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि नेपाल सरकारका सम्बन्धित निकायलाई समन्वयात्मक ढङ्गले काम गर्न निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सामाजिक सञ्जालमार्फत् अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र आवश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको जानकारी दिएका छन्।

उनले सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको भन्दै सजकता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउने विश्वास दिलाएका छन्।

अफगानिस्तानको विकसित घटनाका कारण त्यहाँ रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उनीहरुको उद्धार गर्न सरकारले शनिबार एक कार्यदल गठन गरेर काम अघि बढाइसकेको छ। परराष्ट्र मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित कार्यदलमा मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुखहरु एवं अर्थ, गृह, श्रम तथा रोजगार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, नेपाल प्रहरी, कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र कन्सुलर सेवा विभागका राजपत्राङ्कित प्रथम श्रेणी वा सोसरहका सदस्य रहने गरी कार्यदल गठन गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

रोजगारीका सिलसिलामा अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था यकीन गरी आवश्यक समन्वय तथा उद्धारका लागि मुख्यसचिव शङ्करदास बैरागीको कार्यकक्षमा शनिबार अन्तर मन्त्रालयको बैठक बसेको थियो। उद्धार प्रयोजनका लागि अफगानिस्तानमा रहेका नेपाली नागरिकको विवरण सङ्कलनका लागि कन्सुलर सेवा विभागको वेबसाइटमा अनलाइन दर्ता गर्ने व्यवस्था गरिएको छ। अनलाइनमा आफ्नो नामसहितको विवरण उल्लेख गरी दर्ता गर्न सम्बन्धित व्यक्ति वा परिवारलाई आग्रह गरिएको छ।

अफगानिस्तानका सडकमा गस्ती गर्दै तालिबान लडाकू

यस्तै उद्धारका लागि भाइबर, ह्वाट्सएपसहितको मोबाइल नम्बर ९७४९३२६४५८ र ९७४९३२६४५९ को व्यवस्था गरिएको छ । आफ्नो अवस्थाका बारेमा जानकारी गराउन वा मन्त्रालयमा सम्पर्क गर्न बैठकले आग्रह गरेको छ ।

काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपालीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र स्वदेश फर्काउन सरकारले अमेरिका, बेलायत, क्यानडा, जर्मनी, युरोपेली सङ्घ, जापान तथा संयुक्त राष्ट्रसङ्घको कार्यालयलाई औपचारिक पत्राचार गरिसकेको छ ।

अफगानिस्तनमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थाका बारेमा नयाँ दिल्लीस्थित नेपाली नियोगबाट ट्राभल एड्भाइजरी जारी गरिएको छ । आवश्यक सहयोगका लागि दूतावासको विभिन्न फोन तथा अन्य सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

त्यस्तै अफगानिस्तानमा वैदेशिक रोजगारीका लागि पठाउने म्यानपावर कम्पनीले त्यहाँ कार्यरत नेपालीको विवरण तथा उद्धार कार्यका लागि भरपर्दो सूचना एवं तथ्याङ्क उपलब्ध गराउनसमेत आग्रह गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अफगानिस्तानमा रहेका नेपालीको वस्तुगत अवस्था पत्ता लगाई उद्धारका लागि समन्वय गर्न सम्बन्धित सरकारी निकायले समन्वय गरेर काम गरिरहेको जानकारी दिइन्। उनका अनुसार अहिलेसम्म त्यहाँ कति नेपाल छन् भन्ने यकीन विवरण भने प्राप्त भइसकेको छैन।

निगमका वाइडबडी र न्यारोबडी जहाज काबुल उड्दै

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज केही दिनभित्रै अफगानिस्तानको राजधानी काबुल उड्ने तयारीमा रहेको छ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले निगमका नेपालीको उद्धारका लागि निगमका जहाज काबुल जाने तयारी अवस्थामा रहेको तर कहिले कसरी जाने भन्ने अझै यकीन भइनसकेको जानकारी दिए।

उनका अनुसार निगमका दुई न्यारोबडी र एक वाइडबडी जहाजमार्फत दुई टिप गरेर नेपालीलाई स्वदेश फर्काइनेछ। अन्य गैरसरकारी संस्थाका कर्मचारीलाई भने निजी क्षेत्रका हवाई सेवा प्रदायकले दुबइ हुँदै गन्तव्यमा उद्धार गर्ने जनाइएको छ।

सरकारले उद्धार गर्नुपर्ने संख्या यकीन हुनासाथ तत्काल त्यसतर्फ जाने प्रक्रिया आरम्भ गरिने र सोका लागि बढीमा पाँच दिन लाग्ने निगमको भनाइ छ। केही नेपालीलाई रोजगारदाता कम्पनीले नै उद्धार गर्ने बताइएको छ।

तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षितरूपमा तत्काल उद्धार गर्न कूटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आइतबारको बैठकले तालिवान विद्रोही राजधानी काबुल नियन्त्रणमा लिने प्रयासमा रहेकाले भिडन्तका क्रममा नेपाली नागरिक अप्ठ्यारो स्थितिमा पर्नसक्ने भन्दै छिटोभन्दा छिटो हवाई उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो।

बैठकमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले अफगानिस्तानमा भइरहेको घटनालाई केही समयदेखि नियालीरहेको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीलाई सकुशल स्वदेश ल्याउन मन्त्रालयले गम्भीररूपमा प्रयास गरिरहेको जानकारी दिएका थिए।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com