बजेट पकृयाबाटै कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने प्रस्ताव सिनेटबाट पारित


प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार

कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने योजना समेटेर डेमोक्रेटिक सांसदहरुले ल्याएको ३ दशमलव ५ ट्रिलियन डलरको बजेट सिनेटबाट स्वीकृत भएको छ । झण्डै १४ घण्टा लामो लगातारको संसोधन मतदानहरुपछि बजेट प्रकृयाबाट यो प्याकेजलाई अगाडि बढाउनका लागि सिनेटले स्वीकृत गरेको हो ।

९२ पृष्ठ लामो यो प्याकेज बजेट प्रकृयाबाट अगाडि बढाउनका लागि दुबै सदनबाट स्वीकृत भएपछि यसलाई बजेट पक्रृयामा लगिन्छ र दुबै सदनमा अन्तिम मतदानका लागि पेश गरिनेछ । त्यसपछि सिनेटमा सामान्य बहुमत अर्थात् ५१ मत प्राप्त भएपछि यो बिल पारित हुन्छ । त्यसका लागि डेमोक्र्याट्सहरुलाई रिपब्लिकन समर्थन आवश्यक पर्दैन तर सबै डेमोक्र्याट्सहरुको आवश्यकता पर्छ । साथै उपराष्ट्रपतिको टाइब्रेक मतको समेत आवश्यकता पर्नसक्छ ।

बुधबार यो बिललाई अगाडि बढाउने समर्थन प्राप्त गर्दा सिनेटमा पक्षमा ५० मत र विपक्षमा ४९ मत खसेको थियो । रातभरको संसोधन मतदानपछि विहान ४ बजे सिनेटबाट उक्त बिल अगाडि बढाउनमा बहुमत जुटेको हो । सिमा सुरक्षामा खर्चको विषयलाई प्राथमिकताका साथ समेटिएको प्याकेजमा लाखौं कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने विषय समेटिएको छ ।


सोमबार बिलको विवरण सार्वजनिक गरिएको थियो । सांसदहरुलाई सेप्टेम्बर १५ को डेडलाइन दिइएको यो बिलमा सिनेटको न्यायायिक कमिटिका लागि हरेक खर्चका लागि १०७ बिलियन डलर छुट्याइएको छ । बिलमा कुन समुह र कति व्यक्ति बिलले समेट्ने उल्लेख गरिएको छैन तर योग्य आप्रवासीहरुलाई ग्रिनकार्डको बाटोमा लैजान निर्देश गरिएको छ ।

त्यस्तै बिलको सारांशमा लाखौं आप्रवासी कामदारहरु र परिवारलाई ग्रिनकार्ड प्रदान गर्ने उल्लेख छ । हाउसका डेमोक्र्याट्सहरुले अमेरिकामा बाल्यकालमा आएका कागजपत्रविहिनलाईमात्र होइन, कृषि कामदार र टीपीएसले समेटेकाहरुलाई पनि ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजाने योजना अगाडि सारेका छन् ।

समग्रमा डेमोक्र्याट्सहरुले १० मिलियन कागजपत्रविहिनहरु ग्रिनकार्डका लागि योग्य हुनेगरी बिल अगाडि बढाउनसक्ने जनाइएको छ । राष्ट्रपति जो बाइडेनले यसअगाडि सार्वजनिक गरेको र संसदमा अड्केको बिलले झण्डै ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्डको बाटोमा लैजाने प्रस्ताव गरेको छ ।

गतमहिना राष्ट्रपति बाइडेनले अध्यागमनको विषय बजेट प्याकेजमा नै समावेश गर्ने विषयलाई समर्थन गरेपछि अहिले बजेट प्याकेजमा अध्यागमनको विषय समावेश गरिएको हो । रिपब्लिकन सिनेटरहरु जोन कोर्नयन र थोम टिलिसले डेमोक्र्याट्सहरुलाई बिलमा पहिले डाकाले समेटेकाहरुलाईमात्र समावेश गर्न सुझाव दिएका छन् ।

पहिले डाकाबाट संरक्षण प्रदान गरिएकाहरुमात्र समेटिएमा झण्डै ७ लाखमात्र पर्नेछन् । तर बाल्यकालमा अमेरिका आएर कागजपत्रविहिन भएकाहरु थप १३ लाख भएको अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com