चर्को व्याकलगपछि अमेरिकी पासपोर्ट अनलाइनबाटै नविकरण गर्न सकिने नियम प्रस्ताव


प्रकाशित मिति : श्रावण २५, २०७८ सोमबार

अमेरिकी पासपोर्टका आवेदनमा चर्को ब्याकलगपछि अमेरिकी सरकारको विदेश मन्त्रालयले निश्चित पासपोर्टहरुको नविकरण अनलाइनबाटै गर्न मिल्ने नियम प्रस्ताव गरेको छ । उक्त नियम अनुशार हुलाकबाट नविकरणका लागि पठाउने मापदण्ड पूरा गरेका आवेदकहरुले अमेरिकी सरकारको आधिकारिक वेवसाइटमा गएर अनलाइनमार्फत पनि नविकरण गर्न सक्नेछन् ।

यो प्रावधानले पासपोर्ट नविकरण गर्न चाहनेहरुका लागि थप लचकता प्राप्त हुनेछ भने सहज पनि हुनेछ । साथै सेवाग्राहीको अनुभव राम्रो हुने, समय कम लाग्ने, कामको भार पनि कम हुने अपेक्षा गरिएको छ । यो नियमका लागि अमेरिकी विदेशमन्त्रालयले आगामी अक्टोबर ८ सम्मका लागि कमेन्ट अवधि राखेको छ । त्यसपछिमात्र अन्तिम नियम प्रकाशित हुनेछ ।

अमेरिकी पासपोर्ट

अहिलेको नियम अनुशार पासपोर्ट नविकरणका लागि योग्य आवेदकले हुलाकबाट पठाउने आवेदन भर्नका लागि निश्चित मापदण्डहरु पूरा गर्नुपर्छ । ती आवेदनहरु लकबक्स स्थानहरुबाट प्रकृयामा लगिन्छ, जहाँ आवेदकको फोटो, तथ्यांकहरु र शुल्क लिइन्छ । लकबक्सले ती विवरण र भौतिक आवेदन थप प्रकृयाका लागि पासपोर्ट एजेन्सीमा पठाउँछ । तर नयाँ नियम अनुशार आवेदकले जुनसुकै स्थानबाट पनि सरकारी वेवसाइटमा गएर अनलाइन आवेदन दिनसक्नेछन् ।

एकबर्षभन्दा कम अवधि बाँकी म्याद बाँकी रहेको अवस्थामा विगतका १० बर्षका लागि पासपोर्ट जारी भएका आवेदकले अनलाइनमार्फत आवेदन दिनसक्नेछन् । तर सुरुमा पासपोर्ट जारी हुँदा उनीहरुको उमेर १६ बर्ष वा त्यो भन्दा माथि भएको हुनुपर्छ । त्यस्तै अगाडिको पासपोर्टका लागि आवेदन दिएको १५ बर्ष ननाघेकाहरुले पनि नविकरणका लागि अनलाइनमार्फत आवेदन दिनसक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com