५ महिनापछि लगाउन पाउने भए ज्येष्ठ नागरिकले दोस्रो डोज


प्रकाशित मिति : श्रावण २२, २०७८ शुक्रबार

ज्येष्ठ नागरिकले ५ महिनापछि कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन पाउने भएका छन्। गत फागुनको अन्तिम साता पहिलो डोजका रुपमा कोभिशिल्ड लगाएका उनीहरुले दोस्रो डोज पाउन सकेका थिएनन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २५ गतेदेखि कोभिसिल्ड खोपको पहिलो डोज लगाएका साढे १३ लाख जेष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउने जनाएकाे हो।

सरकारले जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनेका लगाउने तयारी गरेको छ। भुटानले उपलब्ध गराएको २ लाख ३० हजार एस्ट्राजेनेका खोपको शुक्रबार बिहान काठमाडौं आइसकेको छ भने जापानले दिने सोही खोप पनि आउँदैछ।

काठमाडाैंका ३२ वटै वडामा खाेप केन्द्

काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो डाेज लगाउन केन्द्रको व्यवस्था गरिएको छ। महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ। निर्धारण गरिएका सबै केन्द्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाइने छ । खोप आगामी आइतबारसम्म सञ्चालन हुनेछ ।

यसअघि महानगरले १२ खोप केन्द्रमार्फत् असार २९ देखि ३१ गतेसम्म खोप उपलब्ध गराएको थियो। पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएकाले भीड कम गर्न सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको हो। अहिलेसम्म महानगरमा ७२ हजार ६४४ जना कोरोनाबाट सङ्क्रमित भएकामा ६८ हजार ७७१ निको भएका र ५१०को मृत्यु भएको छ। यहाँ तीन हजार ३६३ जना सक्रिय सङ्क्रमित छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com