भ्याक्सिन नलगाएकालाई अमेरिका प्रवेश नदिने नियमको तयारीमा बाइडेन प्रशासन


प्रकाशित मिति : श्रावण २१, २०७८ बिहीबार

बाइडेन प्रशासनले पूर्ण रुपमा भ्याक्सिन लगाएका विदेशी पर्यटकहरुलाईमात्र अमेरिका प्रवेश दिने नियमको तयारी गरिरहेको छ । न्युयोर्क टाइम्समा प्रकाशित समाचार अनुशार बाइडेन प्रशासनले केही अपवादबाहेक सबै विदेशी पर्यटकहरुलाई पूर्णरुपमा भ्याक्सिन लगाएको प्रमाण पेश गरेमामात्र अमेरिका प्रवेशको अनुमति दिने नियम विकाश गरिरहेको छ ।

पहिले रोयटर्सले खुलासा गरेको यो योजना अनुशार वर्तमान प्रतिबन्धहरु हटाइएपछि नयाँ नियम लागु गरिने छ । तर कहिलेदेखि नयाँ नियम कार्यान्वयनमा आउने भन्नेबारे अधिकारीहरुले केही बताएका छैनन् । अमेरिका यात्रा गर्न चाहनेहरुका सन्दर्भमा प्रतिबन्धहरु खुकुलो बनाउनुपर्ने दवाव बाइडेन प्रशासनमाथि परेको छ ।

खासगरी बेलायत र क्यानडा लगायतका मुलुकबाट अमेरिका आउनेहरुका सन्दर्भमा प्रतिबन्धहरु खुकुलो बनाउन दबाब बढिरहेको छ । ह्वाइट हाउसका अधिकारीहरुले कोरोना सम्बन्धित अहिलेका प्रतिबन्धहरु तत्कालै हटाउने सम्भावना भने नरहेको बताएका छन् । डेल्टा भेरियन्टको संक्रमण बढेकाले अमेरिकाले तत्काल त्यस्ता प्रतिबन्धहरु नहटाउने देखिएको हो ।

ह्वाइट हाउसका अधिकारीहरुले बुधबार बेलुका बताए अनुशार अमेरिका आउने विदेशी पर्यटकलाई भ्याक्सिन अनिवार्यको तालिका अहिलेसम्म बनाइएको छैन । तर चरणबद्ध रुपमा नियमहरु लागु गर्दै जाँदा उक्त नियम लागु गर्ने योजनामा ह्वाइटहाउस रहेको छ ।

इरान, चीन, ब्राजिल, ब्रिटेन, साउथ अफ्रिका, भारत, आयरल्याण्ड र युरोपको शेंगेन क्षेत्रसहित २९ वटा देशबाट अमेरिका आउनमा प्रतिबन्धहरु कायमै रहेका छन् । यी देशका नागरिकले सीडीसीले निषेध गरेको देशबाहेक अन्य देशमा १४ दिन बिताएर अमेरिका आएको खण्डमा भने उनीहरुलाई छुट दिइनेछ । त्यस्तै अमेरिकी नागरिक, ग्रिनकार्डवाहक लगायतलाई पनि छुट रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com