आप्रवासी भिसा र ग्रिनकार्डको प्रकृया ढिलो गरेकोमा अमेरिकी सरकारबिरुद्ध मुद्दा


प्रकाशित मिति : श्रावण २१, २०७८ बिहीबार

अमेरिकी सरकारले ग्रिनकार्डको आवेदनमा निर्णय दिन ढिलो गरेपछि सरकारबिरुद्ध मुद्दा दायर गरिएको छ । ग्रिनकार्डको प्रकृयामा भएको ढिलाईको कारण अमेरिकी संसदले तोकेको ग्रिनकार्डको कोटा खेर जाने अवस्था आएपछि १२५ जनाको समुहले मुद्दा दायर गरेको हो ।

सन् २०२० को डिसेम्बर वा त्योभन्दा अगाडि ग्रिनकार्ड आवेदन फाइल गरेकाहरुले निर्णयमा ढिलाई भएको भन्दै मुद्दा दिएका छन् । मुद्दा दायर गर्नेमा ग्रिनकार्डका मुख्य आवेदक, उनीहरु दम्पत्ति र २१ बर्ष नपुगेका छोराछोरीहरु समेत छन् ।

मुद्दामा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले निश्चित ग्रिनकार्ड आवेदनहरु समयमै निर्णय गर्न नसक्दा हजारौं भिसा र ग्रिनकार्ड खेर जाने अवस्था आएको उल्लेख छ । साथै आवेदकहरु कैयन बर्षका लागि ब्याकलगमा परेको मुद्दामा जनाइएको छ ।

चर्को ब्याकलगका कारण ती श्रेणीका ग्रिनकार्डका लागि तोकिएको बार्षिक कोटा पूरा नहुने देखिएको छ । रोजगारमा आधारित श्रेणीका भिसाको कोटा पूरा नहुने देखिएको छ भने युएससीआईएसको पछिल्लो तथ्यांक अनुशार २ लाख ७३ हजार रोजगारमा आधारित ग्रिनकार्डका आवेदनहरु पेन्डिङ अवस्थामा रहेका छन् ।

युएससीआईएसले ग्रिनकार्ड आवेदनबारे समयमै निर्णय नगर्दा ६० दिनमामात्रै १ लाखभन्दा धेरै ग्रिनकार्डहरु खेर जाने अवस्था रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com