पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु नेपालबाट स्वीट्जरल्याण्ड गएपछि क्वारेन्टीन बस्न र परीक्षण गर्न नपर्ने


प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार

पूर्णरुपमा भ्याक्सिन लगाएकाहरु नेपालबाट स्वीट्जरल्याण्ड आएपछि क्वारेन्टीन बस्न र परीक्षण गर्न नपर्ने भएको छ । स्वीट्जरल्याण्डले नेपालबाट आउनेहरुका लागि प्रवेश प्रतिबन्धहरु खुकुलो बनाएको हो ।

त्यस्तै भारत र बेलायतबाट आउनेहरुका सन्दर्भमा पनि पूर्णरुपमा भ्याक्सिन लगाएकाहरुलाई क्वारेन्टीन बस्न र परीक्षण गराउन नपर्ने भएको छ । त्यस्तै विगतमा कोरोना संक्रमण भएर निको भएको प्रमाण देखाउनेहरुलाई पनि स्वीट्जरल्याण्ड आएपछि क्वारेन्टीन बस्न र परीक्षण गराउन नपर्ने जनाइएको छ ।

स्वीट्जरल्याण्ड सरकारको यो निर्णय आज अर्थात् अगस्त ४ बाट लागु भएको छ । स्वीट्जरल्याण्डले तीनवटा देशहरु नेपाल, भारत र बेलायतलाई चिन्तायुक्त भाइरस भेरियन्ट भएका देशको सुचीबाट हटाएको हो । यी तीन देशबाट कार, ट्रेन, बस, विमान जुनसुकै माध्यमबाट स्वीट्जरल्याण्ड आउनेहरुलाई भ्याक्सिन लगाएको प्रमाणपत्र देखाएको खण्डमा कुनै पनि कोरोनाभाइरस सम्बन्धित प्रतिबन्धहरुबाट छुट दिइएको छ ।

त्यस्तै यी देशबाट आउनेहरुले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट देखाएको खण्डमा पनि स्वीट्जरल्याण्डमा कोरोनाभाइरस सम्बन्धित प्रतिबन्धहरुबाट छुट दिइएको छ । तर स्वीट्जरल्याण्ड प्रवेश अगाडि प्रवेश फर्मभने भर्न जरुरी हुन्छ । बालबालिकाहरुले समेत यो फर्म भर्नुपर्ने जनाइएको छ ।

स्वीट्जरल्याण्डमा प्रवेश गर्नका लागि फाइजर, मोडेर्ना, आष्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन, कोभिशिल्ड, भेरोसेल, कोरोनाभ्याक मध्येका भ्याक्सिन स्वीकृत गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com