भेरोसेलको दोस्रो डोज शुक्रबारदेखि


प्रकाशित मिति : श्रावण २०, २०७८ बुधबार

सरकारले कोरोनाविरुद्धको खोपको दोस्रो डोज अभियान शुक्रबार साउन २२ गतेदेखि सञ्चालन गर्ने भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो डोज आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो। गत असार २९ गतेदेखि सञ्चालन भएको पहिलो डोज खोप लगाएका ५५ वर्षभन्दा माथिका उमेर समूहका मानिसलाई लगाउन थालिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। दोस्रो डोजको खोप अभियान यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ । पहिलो डोज लगाएको २१ दिन पुगेका सबैलाई दोस्रो डोजको खोप दिन थालिएको हो।

आफूलाई पायक पर्ने काठमाडौँ जिल्लाका ४२ वटा खोप केन्द्रमा गएर खोप लगाउन विभागले आग्रह गरेको छ।

काठमाडौँ महानगरपालिकामा ३२ वडा र अन्य नगरपालिकाका १० खोप केन्द्र रहेका छन् । मन्त्रालयले खोप लगाउन बाँकी भएका व्यक्तिलाई मन्त्रालयको वेबसाइटमा गएर दर्ता गर्नसमेत आग्रह गरेको छ। अहिलेसम्म नेपालमा करिब ९७ लाख खोप आइसकेको छ भने २० लाख दुई हजार ७०३ पूर्ण र ४२ लाख ५४ हजार ५४० पहिलो मात्रा खोप लगाइसकेका छन्।

जापानी खोपको पहिलो खेप शनिबार आइपुग्ने

जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी ल्याइने भएको छ ।

बिहीबार र शुक्रबार जापानबाट ती खोप ढुवानी काठमाडाै‌ंस्थित जापानी राजदूतावासले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

बाँकी खोप सम्बद्ध निकायहरूसँगको समन्वयमा यथाशक्य चाँडो नेपाल ल्याइनेछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको सहकार्य र समन्वयमा नेपाल सरकारले थालेको कोभिड–१९ खोप अभियानमा जापान निर्मित अस्ट्रा जेनिका खोप उपयोग हुने विश्वास नेपालका लागि जापानका राजदूत किकुता युराकाले व्यक्त गरेका छन्।

महामारीको वर्तमान कठिन परिस्थितिमा नेपाल सरकारसँग हातेमालो गर्दै धेरैभन्दा धेरै नेपालीको जीवनरक्षा तथा महामारीपछिको सामाजिक एवं आर्थिक पुनरुत्थानमा सहकार्य गर्न जापान तयार रहेको राजदूत किकुताले विज्ञप्तिमा उल्लेख गरेका छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com