ब्याकलगका कारण अमेरिकी दूतावासमा कैयन आप्रवासी भिसामा अन्तरवार्ता छुटको तयारी


प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार

कोरोना महामारीका कारण आप्रवासी भिसामा चर्को ब्याकलग कायम रहेको छ भने परिवार, डिभी र रोजगारमा आधारित कैयन भिसा आवेदकहरुले भिसा पाउन सकेका छ्रैनन् । यो अवस्थामा अमेरिकी विदेश मन्त्रालयले विदेशमा रहेका दूतावास वा कन्सुलेटहरुका सन्दर्भमा लागु हुने गरी आप्रवासी भिसाबारे दुईवटा नियमहरु ल्याउने योजना बनाएको छ ।

सेप्टेम्बरमा प्रकाशित हुने नियमको सारसंक्षेप

भिसाको ब्याकलग चर्को बनेका कारण त्यसलाई सम्बोधन गर्न नयाँ नियम ल्याउन लागिएको हो । यो नियम अन्तरिम तर अन्तिम नियम हुनेछ ।

सन् २०१९ को सेप्टेम्बर वा त्यसपछि आवेदनहरु स्वीकृत भएका दोहोरिएका निश्चित आप्रवासी भिसा आवेदकहरुले दूतावास वा कन्सुलेटमा उपस्थीत भएर अन्तरवार्ता दिनु नपर्ने गरी यो नियम ल्याउन लागिएको छ । अर्थात् निश्चित आप्रवासी भिसा आवेदकले अन्तरवार्ताको छुट प्राप्त गर्नेछन् ।

यो नियम आगामी सेप्टेम्बरमा प्रकाशित गर्ने योजना बनाइएको छ । कोरोना महामारीको राष्ट्रिय संकटकाल समाप्त भएको १८० दिनसम्म पनि यो नियम कार्यान्वयनमा नै रहनेछ । त्यसपछि यो नियम हटाइनेछ ।

त्यस्तै भिसाबारेको अर्को नियम पनि आगामी सेप्टेम्बरमा नै प्रकाशित गर्ने योजना बनाइएको छ । त्यसमा निश्चित आप्रवासी भिसा आवेदकलाई अन्तरवार्ता र सपथमा छुट दिइनेछ । अर्थात् उनीहरुले अन्तरवार्ता र सपथ लिनुपर्ने छैन । त्यसका लागि को को योग्य हुनेछन् भन्नेबारे अझै स्पष्ट छैन ।

जुलाईमा प्रकाशित रिपोर्ट अनुशार नेशनल भिसा सेन्टरमा सबै कागजातहरु बुझाएर अन्तरवार्ताका लागि तयार भएका आप्रवासी भिसाका आवेदनहरु ५ लाख ६६ हजार ३ सय ८४ रहेका थिए । जसमध्ये ३४ हजार ४ सय ८ आवेदनको जुलाईका लागि अन्तरवार्ता तय गरिएको थियो ।

जुलाईमा अन्तरवार्ता भइसकेपछि पनि ब्याकलगमा रहेका आप्रवासी भिसाका आवेदनहरु ५ लाख ३१ हजार ९ सय ७६ रहेको अमेरिकी विदेश मन्त्रालयको नेशनल भिसा सेन्टरले जनाएको छ । सन् २०१९ मा अर्थात् कोरोना महामारी अगाडि हरेक महिना औषतमा ६० हजार आप्रवासी भिसाका आवेदनहरु अन्तरवार्ताको प्रतिक्षामा रहने गर्थे । अहिले यो ब्याकलग ९ गुणा बढेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com