फ्याक्ट चेक: अमेरिकामा नेपालीका लागिमात्र अहिले कुनै प्रकारको कामदार भिसा खुलेको छैन


प्रकाशित मिति : श्रावण १५, २०७८ शुक्रबार

कतिपय वेवसाइट र सामाजिक सञ्जालमा अहिले नेपालीका लागि अमेरिकामा कामदार भिसा खुलेको भन्दै भ्रमपूर्ण विवरणहरु प्रकाशित भइरहेका छन् । त्यस्ता विवरणका शीर्षकहरु भ्रमित पार्ने खालका रहेका छन् भने विवरणहरुले समेत भ्रम पैदा गरेको देखिन्छ ।

अमेरिकाले नेपालका लागिमात्र भनेर कामदार भिसा खोल्दैन । र अहिले नेपालीका लागि कुनै पनि श्रेणीको कामदार भिसाका लागि आवेदन खुलेको छैन । यद्यपी अमेरिकामा केही निश्चित प्रकारका कामदार भिसाहरु भने उपलब्ध रहेका छन् । जसमा स्नातक वा स्नातकोत्तर गरेकाहरुका विशेष पेशाका लागि एचवानबी, मौषमी कृषि कामदारहरुका लागि एच टु ए र कृषि कामदार बाहेकका गैरकृषि कामदारका लागि एचटु बी भिसाहरु उपलब्ध रहेका छन् ।

यी भिसामध्ये अस्थायी कृषि कामदार र गैरकृषि कामदारका लागि सुचिकृत देशमा नेपाललाई राखिएको छैन । यद्यपी केही मापदण्डहरु पूरा गरेको खण्डमा भने अत्यन्तै थोरैले नेपालीले पनि यो श्रेणीमा भिसा पाउने गरेका छन् । त्यस्तै विशेष पेशाका लागि एचवानबी कामदार भिसाका लागि हरेक बर्षको मार्चमा रोजगारदाताले आफूले रोजगारदिन चाहेको व्यक्तिका लागि विद्युतीय रुपमा दर्ता गर्न सक्छन् ।

आधिकारिक विवरणहरु युएससीआईएसको वेवसाइटमा हेर्न यहाँ क्लीक गर्नुहोला ।

के हो हालै खुलेको २२ हजार गैरकृषि कामदार भिसा?

अमेरिकाले आर्थिक बर्ष २०२१ का लागि थप २२ हजार अस्थायी गैर कृषि कामदार भिसा एचटु बी उपलब्ध गराएको छ । मे महिनाको अन्तिम सातादेखि त्यसका लागि रोजगारदाताहरुले थप २२ हजार कोटाका लागि आवेदन दिनपाइने व्यवस्था रहेको थियो । याद गर्नुहोस्, यो भिसाका लागि कामदार आफैले आवेदन दिन मिल्दैन । साथै रोजगारदाताले कामदारबाट कुनै शुल्क पनि लिन मिल्दैन ।

यो भिसाका लागि नेपाललाई योग्य देशको सुचीमा राखिएको छैन । सामान्यतया अमेरिकी सरकारले यो भिसाका लागि सुचीमा रहेका देशका नागरिककोमात्र भिसा आवेदन स्वीकृत गर्छ । तर हरेक आवेदनको छुट्टा छुट्टै मूल्यांकन गरेर युएससीआईएसले सुचीमा नभएका देशका नागरिकका लागि समेत यी भिसाका आवेदनहरुलाई स्वीकृत गर्नसक्ने जनाएको छ ।

यो आधारमा हेर्दा नेपालीहरुले समेत यो भिसाका लागि आवेदन दिन पाउने त देखिएको छ । तर नेपालीहरु स्वत योग्य हुने नभई आवेदन अनुशार युएससीआईएसले निर्णय दिनेछ । जसले गर्दा नेपालीहरुका सन्दर्भमा अत्यन्तै थोरैमात्र अर्थात् दुईचारजनामात्र यो भिसा पाउन सक्छन् ।

मे महिनामा थपको घोषणा गरिएका २२ हजार गैरकृषि कामदार भिसा मध्ये आर्थिक बर्ष २०१८, २०१९ र २०२० मा अस्थायी गैर कृषि कामदार एच टु बी भिसामा रहेका र फेरी काममा फर्केका कामदारहरुका लागि १६ हजार भिसा उपलब्ध हुने छ । त्यस्तै बाँकी ६ हजार भिसा काममा पुन फर्कने कामदारको मापदण्डबाट छुट पाएका एल साल्भाडोर, होण्डुरस र ग्वाटेमालाका कामदारका लागि उपलब्ध हुनेछ ।

के हो एचवानबी कामदार भिसा ?

त्यस्तै अमेरिकाको कामदार भिसा एचवान बी पनि कामदार आफैले फाइल गर्न मिल्दैन । यसका लागि अमेरिकामा रहेको रोजगारदाता कम्पनीले अमेरिकामा कामदार भिसामा आउन चाहने व्यक्तिलाई जागिरको अफर गरेको हुनुपर्ने अमेरिकाका चर्चित कानुन व्यवसायी केशवराज सेडाईले जानकारी दिनुभएको छ । अमेरिकामा रहेको कम्पनीले जागिरको अफर दिइसकेपछि कम्पनीका तर्फबाटमात्र यो भिसाका लागि अनलाइनमार्फत प्रारम्भिक रजिस्ट्रेशन गराउन सकिन्छ । प्रारम्भिक रजिष्ट्रेशन सामान्यतया मार्च महिनामा खुल्छ ।

उक्त अवधिबाहेक अरु समयमा अनलाइनमार्फत प्रारम्भिक रजिस्ट्रेशन गराउन मिल्दैन । यो बर्ष मार्च ९ मा अनलाइनमार्फत प्रारम्भिक रजिस्ट्रेशन सुरु भएर मार्च २६ मा समाप्त भएको थियाृे ।

अमेरिकन कम्पनीले अनलाइनमार्फत प्रारम्भिक दर्ता गरिसकेपछि त्यसमा छनौट भएमा विदेशमा रहेको कामदार अमेरिका आउनका लागि प्रकृया सुरु हुन्छ । उदाहरणका लागि यदि कुनै व्यक्ति नेपालमा छ र उसलाई अमेरिकन कम्पनीले रोजगारको अफर गरेको छ भने सुरुमा अमेरिकन रोजगारदाता कम्पनीले मार्चमा तोएिको अवधिभित्र उसका लागि आवेदन अनलाइनमार्फत दर्ता गराउनुपर्छ । त्यसमा छनौट भएमा अमेरिकामा रहेको रोजगारदाता कम्पनीले नै प्रकृया अगाडि बढाउँछ । र, युएससीआईएसबाट आवेदन स्वीकृत भएमा नेपालमा रहेको व्यक्ति कामदार भिसा लिएर अमेरिका आउनसक्छ ।

अमेरिकामा रहेका र अमेरिकाबाहिर रहेका स्नातक वा स्नातकोत्तर डिग्री हासिल गरेकाहरुलाई रोजगारदाता कम्पनीले जागिरको अफर गर्न सक्छन् । तर अमेरिकन डिग्री हुनेहरुलाई यसमा विशेष प्राथमिकता दिइएको छ ।

कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।

कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।

त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।

लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।

वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।

वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् ।  यसरी दर्ता गराइएका आवेदनहरुलाई लोटरीमार्फत छनौट गरिन्छ । छनौटमा परेका आवेदनहरुकोमात्र प्रकृया अगाडि बढाइन्छ ।

के हो बुधबार दोश्रोपटक खोलिएको लोटरी ?

आर्थिक बर्ष २०२२ का लागि जारी गर्नका लागि तय गरिएको कामदार भिसा एचवानबीको संख्या नपुग्ने देखिएपछि अमेरिकी सरकारको युएससीआइएसले दोश्रोपटक लोटरीमाफर्त बुधबार आवेदक छनौट गरेको छ । गत मार्चमा अनलाइनमार्फत दर्ता गराएका र पहिलो लोटरीमा छनौट नभएकाहरुमध्येबाटै दोश्रोपटक लोटरी गरेर आवेदकहरु छनौट गरिएको हो ।

बुधबारको लोटरीमार्फत छनौट भएकाहरुले अनलाइनमा नोटिफिकेशन प्राप्त गर्नेछन् । उनीहरुले अगस्त २ देखि नोभेम्बर ३ सम्म भिसाका लागि पूर्ण आवेदन फाइल गर्नुपर्ने जनाइएको छ ।

छनौट भएकाहरुले माइ युएससीआईएस एकाउन्टमा अपडेट प्राप्त गर्नेछन्, जसमा छनौट भएको सुचना समेत हुनेछ । उक्त सुचनामा कहिले र कहाँ भिसाका लागि पूर्ण आवेदन फाइल गर्ने भन्ने सम्पूर्ण विवरण उल्लेख गरिएको हुनेछ । लोटरीमार्फत छनौट भएकाहरुले आवेदन सही सर्भिस सेन्टरमा तोकिएको मितिभित्र आवेदन पठाइसक्नुपर्नेछ ।

एचवान बी भिसाका लागि अनलाइन फाइल गर्ने सुविधा उपलब्ध छैन । आवेदकले कागजमार्फत फाइल गर्नुपर्नेछ भने लोटरीमार्फत छनौट भएको सुचना र प्रिन्ट गरिएको आवेदनको पूर्ण प्रतिसहित अन्य कागजातहरु हुलाकमार्फत पठाउनुपर्नेछ । बुधबारको लोटरीबाट छनौट भएकाहरु आवेदन दिनका लागिमात्र योग्य भएकाहरु हुन्, उनीहरुको एचवान बी भिसा स्वीकृत भएको होइन ।

कति नेपालीहरु आउँछन् कामदार भिसामा अमेरिका ?

अमेरिकाको अस्थायी कृषि कामदार र अस्थायी गैर कृषिकामदारका रुपमा भिसा प्राप्त गर्ने नेपालीहरुको संख्या निकै कम अर्थात् नगन्य रहेको छ । उनीहरुको छुट्टै संख्या अमेरिकी सरकारले सार्वजनिक गरेको छैन । तर अमेरिकामा रहेका र अमेरिकाबाहिर रहेका स्नातक वा स्नातकोत्तर डिग्री हासिल गरेकाहरुले विशेष पेशाका लागि पाउने एचवानबी भिसा पाउने नेपालीहरुको संख्या भने उल्लेख्य छ ।

हरेक बर्ष झण्डै १ हजारको हाराहारीमा नेपालीहरुले अमेरिकाको कामदार भिसा एचवानबी प्राप्त गर्दै आएका छन् । आर्थिक बर्ष २०१९ मा ९८३ जना नेपालीहरुले कामदार भिसा एचवानबी पाएका थिए भने कुल अस्थायी कामदार भिसा पाउनेहरु उनीहरुको परिवारको संख्या जोड्दा १४९९ रहेको थियो । जसमध्ये ६४१ जनाले अमेरिकाबाहिरबाट भिसा प्राप्त गरेर अमेरिका आएका थिए ।

आर्थिक बर्ष २०२० मा कोरोना महामारीका कारण ५१७ जना नेपालीहरुमात्र अमेरिकाबाहिरबाट कामदार भिसामा अमेरिका आउन सफल भए । तर आर्थिक बर्ष २०२० मा अमेरिकाभित्रै रहेर कामदार भिसामा आफ्नो स्टाट्स एडजस्ट गर्नेहरुको संख्या भने उल्लेख्य रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com