अमेरिकाको कामदार भिसाको कोटा नपुग्नेभएपछि दोश्रोपटक लोटरीमार्फत छानियो आवेदक


प्रकाशित मिति : श्रावण १४, २०७८ बिहीबार

आर्थिक बर्ष २०२२ का लागि जारी गर्नका लागि तय गरिएको कामदार भिसा एचवानबीको संख्या नपुग्ने देखिएपछि अमेरिकी सरकारको युएससीआइएसले दोश्रोपटक लोटरीमाफर्त आवेदक छनौट गरेको छ । गत मार्चमा अनलाइनमार्फत दर्ता गराएका र पहिलो लोटरीमा छनौट नभएकाहरुमध्येबाट दोश्रोपटक लोटरी गरेर आवेदकहरु छनौट गरिएको हो ।

बुधबार यसरी लोटरीमार्फत आवेदकहरु छनौट गरिएको बताएपनि युएससीआईएसले कतिजना छनौट गरियो भन्नेबारे भने केही खुलाएको छैन । बुधबारको लोटरीमार्फत छनौट भएकाहरुले अनलाइनमा नोटिफिकेशन प्राप्त गर्नेछन् । उनीहरुले अगस्त २ देखि नोभेम्बर ३ सम्म भिसाका लागि पूर्ण आवेदन फाइल गर्नुपर्ने जनाइएको छ ।

छनौट भएकाहरुले माइ युएससीआईएस एकाउन्टमा अपडेट प्राप्त गर्नेछन्, जसमा छनौट भएको सुचना समेत हुनेछ । उक्त सुचनामा कहिले र कहाँ भिसाका लागि पूर्ण आवेदन फाइल गर्ने भन्ने सम्पूर्ण विवरण उल्लेख गरिएको हुनेछ । लोटरीमार्फत छनौट भएकाहरुले आवेदन सही सर्भिस सेन्टरमा तोकिएको मितिभित्र आवेदन पठाइसक्नुपर्नेछ ।

एचवान बी भिसाका लागि अनलाइन फाइल गर्ने सुविधा उपलब्ध छैन । आवेदकले कागजमार्फत फाइल गर्नुपर्नेछ भने लोटरीमार्फत छनौट भएको सुचना र प्रिन्ट गरिएको आवेदनको पूर्ण प्रतिसहित अन्य कागजातहरु हुलाकमार्फत पठाउनुपर्नेछ । बुधबारको लोटरीबाट छनौट भएकाहरु आवेदन दिनका लागिमात्र योग्य भएकाहरु हुन्, उनीहरुको एचवान बी भिसा स्वीकृत भएको होइन ।

हरेक बर्षको मार्चतिर एचवानबी भिसाका लागि अनलाइनमार्फत दर्ता गर्ने अवधि खुला हुन्छ । गतमार्चमा सोही अवधिमा दर्ता भएकाहरुमध्येबाट पहिलो लोटरीबाट योग्य आवेदकहरु छनौट गरिएको थियो । उनीहरुले अप्रिल १ देखि जुन ३० सम्म भिसाका लागि पूर्ण आवेदन फाइल गरेका थिए ।

हरेक बर्ष झण्डै १ हजारको हाराहारीमा नेपालीहरुले अमेरिकाको कामदार भिसा एचवानबी प्राप्त गर्दै आएका छन् । आर्थिक बर्ष २०१९ मा ९८३ जना नेपालीहरुले कामदार भिसा एचवानबी पाएका थिए भने कुल अस्थायी कामदार भिसा पाउनेहरु उनीहरुको परिवारको संख्या जोड्दा १४९९ रहेको थियो । जसमध्ये ६४१ जनाले अमेरिकाबाहिरबाट भिसा प्राप्त गरेर अमेरिका आएका थिए ।

आर्थिक बर्ष २०२० मा कोरोना महामारीका कारण ५१७ जना नेपालीहरुमात्र अमेरिकाबाहिरबाट कामदार भिसामा अमेरिका आउन सफल भए । तर आर्थिक बर्ष २०२० मा अमेरिकाभित्रै रहेर कामदार भिसामा आफ्नो स्टाट्स एडजस्ट गर्नेहरुको संख्या भने उल्लेख्य रहेको छ ।

के हो कामदार भिसा एचवानबी ?

अमेरिकी सरकारले हरेक बर्ष ८५ हजारलाई कामदारभिसा एचवान बी प्रदान गर्दै आएको छ । त्यसका लागि सरकारले लोटरी प्रणाली गर्दै आएको छ । गत बर्षदेखि विद्युतीय रुपमा अनलाइनबाटै दर्ता गर्न सकिने प्रणालीको सुरुवात गरिएको थियो ।

अमेरिकन कम्पनीले अनलाइनमार्फत प्रारम्भिक दर्ता गरिसकेपछि त्यसमा छनौट भएमा विदेशमा रहेको कामदार अमेरिका आउनका लागि प्रकृया सुरु हुन्छ । उदाहरणका लागि यदि कुनै व्यक्ति नेपालमा छ र उसलाई अमेरिकन कम्पनीले रोजगारको अफर गरेपछि अनलाइनमार्फत छनौट भएमा अमेरिकामा रहेको रोजगारदाता कम्पनीले नै प्रकृया अगाडि बढाउँछ । र, युएससीआईएसबाट आवेदन स्वीकृत भएमा नेपालमा रहेको व्यक्ति कामदार भिसा लिएर अमेरिका आउनसक्छ ।

अमेरिकामा रहेका र अमेरिकाबाहिर रहेका स्नातक वा स्नातकोत्तर डिग्री हासिल गरेकाहरुलाई रोजगारदाता कम्पनीले जागिरको अफर गर्न सक्छन् । तर अमेरिकन डिग्री हुनेहरुलाई यसमा विशेष प्राथमिकता दिइएको छ ।

एचवानबी भिसामार्फत आउने पदका लागि कामदारको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।

कम्पनीमा गर्ने काम यति जटिल वा अद्वितीय छ कि त्यसका लागि उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्छ भन्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ ।

कामदारका लागि सामान्यतया डिग्री चाहिने वा उक्त पदका लागि सो सरहको योग्यता चाहिने कुरा कम्पनीले पुष्टी गर्नुपर्छ । वा, कामको प्रकृति यति विशिष्ट वा जटिल छ कि कामका लागि आवश्यक ज्ञान स्नातक वा सो भन्दामाथिको डिग्री आवश्यक छ ।

त्यस्तै काम प्राप्त गर्ने लाभग्राही वा कामदारले पनि चारवटामध्ये एउटा योग्यता पूरा गरेको हुनुपर्छ ।

लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ ।

वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ ।

वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com