मन्त्रिपरिषद्ः लुम्बिनी र गण्डकी प्रदेश प्रमुख परिवर्तन सिफारिस, नयाँ प्रधानसेनापतिमा प्रभुराम शर्मा


प्रकाशित मिति : श्रावण १२, २०७८ मंगलबार

सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखहरु परिवर्तनको सिफारिस गरेको छ। मन्त्रिपरिषद्को मंगलबारको बैठकले चितवनका पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्तको प्रक्रियामा गएका छन्। शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए। केपी ओली नेतृत्वको सरकारले उनलाई पदमुक्त गरेको थियो। पूर्वउपप्रधानमन्त्रीसमेत रहेका शेरचनलाई नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुखमा सिफारिस गरेको हो। यस्तै गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति थिए।

बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल र सदस्यद्वयमा रामकुमार फुयाँल र दिलबहादुर लिम्बूलाई नियुक्त गरेको नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकले यही साउन २६ गतेदेखि लागू हुने गरी नेपाली सेनाका बलाधिकृत रथि प्रभुराम शर्मालाई कायममुकायम प्रधानसेनापतिमा मुकरर गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापा उमेर हदका कारण यसै महिना सेवाबाट निवृत्त हुँदैछन्।

यसैगरी बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८ स्वीकृत गर्ने निर्णय पनि मंगलबारकाे मन्त्रिपरिषदबाट भएको कार्कीले बताए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com