चाइल्ड ट्याक्स क्रेडिटको प्रति बच्चा २५० देखि ३ सय डलर आजबाट बैंक एकाउन्टमा आउन सुरु


प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार

अमेरिकामा आइआरएसले आजदेखि चाइल्ड ट्याक्स क्रेडिटको प्रति बच्चा २५० देखि ३ सय डलर पठाउन सुरु गरेको छ । आज पहिलो मासिक किस्ता रकम पठाएको हो । बैंक अनुशार यो रकम खातामा देखिन एकदेखि तीनदिनसम्म लाग्नसक्नेछ ।

आईआरएसले अगस्त १३ मा दोश्रो किस्ता, सेप्टेम्बर १५ मा तेश्रो किस्ता, अक्टोबर १५ मा चौथो किस्ता, नोभेम्बर १५ मा पाँचौं किस्ता र डिसेम्बर १५ मा छैठौं किस्ता पठाउने भएको छ । झण्डै ३९ मिलियन अमेरिकन परिवारका लागि दोश्रो चरणको राहत प्याकेजमा समेटिएको समृद्ध चाइल्ड ट्याक्स क्रेडिट अन्तरगत यो रकम दिइन लागेको हो ।

आईआरएसँग बैंक एकाउन्ट भएकाहरुको खातामा सिधै पठाइनेछ भने नभएकाहरुलाई हुलाकमार्फत चेक पठाइनेछ ।

उनीहरुको मासिक रकम जुलाईदेखि डिसेम्बरसम्म प्राप्त गर्नसक्नेछन् । बाँकी रकम सन् २०२१ को ट्याक्स फाइल गर्दा प्राप्त हुनेछ । ट्याक्स पोलिसी सेन्टरका अनुशार औषतमा ९० प्रतिशतभन्दा धेरै परिवारले ४३८० डलर प्राप्त गर्नेछन् ।

बच्चाका सन्दर्भमा प्राप्त गर्ने रकम आम्दानी र बच्चाको संख्यामा भर पर्छ । यदि तपाईको बार्षिक आम्दानी एकल कर फाइल गर्नेको सन्दर्भमा ७५ हजार वा त्योभन्दा कम, घरमुलीका रुपमा फाइल गर्नेको सन्दर्भमा १ लाख १२ हजार ५ सय वा त्योभन्दा कम र संयुक्त रुपमा फाइल गर्ने दम्पत्तिका सन्दर्भमा १ लाख ५० हजार डलर वा त्योभन्दा कम रहेको छ भने तपाईले चाइल्ड ट्याक्स क्रेडिटको पूरै रकम पाउनुहुनेछ । तर उक्त थ्रेसहोल्डभन्दा माथि आम्दानी छ भने हरेक १ हजार बढी आम्दानीका लागि चाइल्ड ट्रयाक्स क्रेडिट रकम ५० डलरले घट्दै जानेछ ।

विगतका बर्षहरुमा अधिकांश परिवारका लागि चाइल्ड ट्याक्स क्रेडिट रकम २ हजार डलर रहेको थियो । तर राहत प्याकेजले यो रकम बढाएर ३ हजारदेखि ३६ सयसम्म बनाएको हो ।

यदि तपाईले अमेरिकामा सन् २०२० को ट्याक्स रिटर्न फाइल गर्न आवश्यक थिएन, फाइल गर्नुभएन वा गर्ने योजनामा पनि हुनुहुन्न भने तपाईका लागि चाइल्ड ट्याक्स क्रेडिट रकम प्रदान गर्नका लागि आईआरएसले विशेष टुलको व्यवस्था गरेको छ । तपाईको पछिल्लो विवरण आईआरएसँग नभएकाले तपाईले चाइल्ड ट्याक्स क्रेडिट रकम प्राप्त गर्न अनलाइनमार्फत विवरणहरु बुझाउनुपर्छ ।

नयाँ बच्चा जन्मेको भएमा वा बैवाहिक स्थीतिमा परिवर्तन भएको भएमा उक्त टुलमार्फत जानकारी दिनुपर्नेछ । यदि तपाईले सन् २०२० को ट्याक्स फाइल गर्ने योजनामा हुनुहुन्छ भने तपाईले उक्त टुलमार्फत विवरण दिनुपर्दैन । त्यस्तै सन् २०२० को अन्तिममा विवाह भएकाले पनि उक्त टुलमार्फत छुट्टै विवरण दिन आवश्यक पर्दैन । तर दम्पत्तिको विवरण उल्लेख गर्ने अवस्थामा भने गर्न सकिनेछ । सन् २०२१ अगाडि जन्मिएको योग्य बच्चा नभएको खण्डमा र सन् २०२१ को मे १७ अगाडि सोसल सेक्युरिटी जारी भएको बच्चा नभएको खण्डमा पनि उक्त टुलमार्फत विवरण दिनुपर्दैन ।

ट्याक्स फाइल नगरेका वा बच्चाको विवरण बदलिएकाहरुले चाइल्ड ट्याक्स क्रेडिट रकम पाउन आफ्नो विवरण आईआरएसलाई जानकारी दिन यहाँ क्लीक गर्नुहोला ।

उक्त टुलमार्फत विवरण दिंदा तपाईको पूरा नाम, अहिलेको ठेगाना, इमेल ठेगाना, जन्ममिति, सोसल सेक्युरिटी नम्बर, बैंक विवरण लगायत उल्लेख गर्नुपर्छ । विवरणहरु उपलब्ध गराएपछि आईआरएसले स्वत योग्यता निर्धारण गर्नेछ र चाइल्ड ट्याक्स क्रेडिट वापतको रकम उपलब्ध गराउनेछ ।

हरेक महिना किस्तामा रकम लिन नचाहने र आगामी बर्ष सन् २०२१ को ट्याक्स फाइल गर्दा उक्त रकम लिन चाहनेहरुका लागि आईआरएसले टुलको व्यवस्था गरेको छ । एकमुष्ठ रकम लिन चाहनेहरुले उक्त रकम अहिले नै प्राप्त गर्न सक्नेछैनन्, उनीहरुले आगामी बर्ष ट्याक्स फाइल गर्दासम्म प्रतिक्षा गर्नुपर्नेछ ।

अग्रिम रकम लिन नचाहनेहरुले आईआरएसको वेवसाइटमा दिइएको टुलमार्फत उक्त विकल्प रोज्न सक्नेछन् । आईआरएसमा पहिले नै एकाउन्ट भएकाहरुले उक्त एकाउन्ट साइनइन गरेर उक्त विकल्प रोज्न सक्नेछन् भने नभएकाहरुले आईआरएसमा वा आईडी डट मीमा एकाउन्ट बनाउनुपर्छ । एकाउन्ट लगइन गरेपछि दिइएको निर्देशन अनुशार अग्रिम रकम नलिने र एकमुष्ठ रकम लिने विकल्प रोज्न सकिन्छ ।

अग्रिम भुक्तानी नलिई आगामी बर्ष ट्याक्स फाइल गर्दा एकमुष्ठ रकम लिन चाहनेहरुले यहाँ क्लीक गर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com