एमाले एकता प्रयास : बिहीबार चौथो दिनको प्रयास पनि सफल भएन, नेताहरु अझै आशावादी


प्रकाशित मिति : असार २४, २०७८ बिहीबार

सत्तारुढ एमालेभित्रको विवाद टुंगोमा पुर्‍याउने लगातार चौथो दिनको प्रयास पनि सफल हुन सकेन। विवाद समाधान कार्यदलमा रहेका  केपी ओली तथा माधव नेपाल पक्षका नेताहरु लगातार वार्तामा बसे पनि कुनै टुंगोमा पुगेन।

बिहीबार मध्यान्ह अर्थ मन्त्रालयमा भएकाे वार्ता थप गृहकार्यका लागि भन्दै साँझ ७ बजेसम्मका लागि स्थगित गरियाे। तर साँझको बैठक झन विषयवस्तुमा प्रवेश नै नगरी स्थगित गरियो।

बुधबार राति दुई शीर्ष नेताबीच साढे २ घण्टा भएको वान टु वान वार्ता सकारात्मक भएकाे भन्दै नेताहरु उत्साहित थिए। त्यसैले अधिकांश नेताहरु बिहीबार सहमति हुने र साँझसम्म संयुक्त वक्तव्य आउनेमा आशावादी थिए।

कार्यदलमा ओलीपक्षका संयोजक सुवास नेम्वाङले भरसक बिहीबार साँझै निष्कर्षमा पुर्‍याउन प्रयास रहने बताएका थिए।

‘निष्कर्षमा पुर्‍याउन थोरै तयारी गर्नुपर्ने भयो, त्यसैले त्यसका लागि बैठक ७ बजेसम्मका लागि स्थगित गरेका छौं, भरसक आजै निष्कर्षमा पुर्‍याउने हामीहरुको जोड रहन्छ,’ उनले भनेका थिए।

तर साँझको बैठक विषयवस्तुमा प्रवेश नै नगरी सकियो। यद्यपि नेम्वाङले शुक्रबार बस्ने बैठकले विवादित विषय टुंग्याउनेमा आशावादी रहेको बताए। नेपालपक्षीय नेता घनश्याम भुसालले पार्टी एकताको प्रयास १० दिनअघिकै स्थितिमा रहेको बताए। ‘१० दिन अगाडि जहाँ थियौं अहिले पनि त्यहीँ छौं। १० दिनदेखिको प्रयासमा खास प्रगति भएन,’ उनले भने।

दुवै पक्षबीच शक्ति बाँडफाँट तथा जेठ २ पछि थपिएकाहरुको व्यवस्थापनका विषयमा मिल्न बाँकी रहेको बताइएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com