बाइडेन प्रशासनले अमेरिकी नागरिकताका सन्दर्भमा ५ महिनामा गरेका ५ परिवर्तन


प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार

बाइडेन ह्यारिस प्रशासनले योग्यहरुका लागि अमेरिकी नागरिकता प्रकृया सहज र स्वागतयोग्य बनाउने प्रतिबद्धता जनाउँदै आएको छ । जस अनुशार अमेरिकी राष्ट्रपति जो बाइडेनले कार्यकारी आदेश १४०१२ जारी गरेका थिए, जसमा अमेरिकाको कानूनी अध्यागमन प्रणालीप्रतिको विश्वास पुन जगाउने र नयाँ अमेरिकनका लागि एकीकरण तथा समावेशीकरणको प्रकृया सुदृढ बनाउने उल्लेख छ । जस अनुशार युएससीआईएसले कार्यकारी आदेशलाई कार्यान्वयनका क्रममा विभिन्न नीतिगत परिवर्तनहरु गरेको छ ।

नागरिकताका लागि पूरानै परीक्षा प्रणाली कायम

ट्रम्प प्रशासनले गत डिसेम्बर १ बाट ल्याएको अमेरिकाको नागरिकताका लागि नयाँ परीक्षा प्रणाली र प्रश्नहरु बाइडेन प्रशासनले खारेज गरिदिएको छ । मार्च १ देखि पूरानै प्रश्नहरु र परीक्षा प्रणाली कायम गरिएको थियो ।

ट्रम्प प्रशासनले अमेरिकी नागरिकताका लागि लिइने परीक्षामा प्रश्नप्रणाली परिवर्तन गरेर विगतको तुलनामा कठिन प्रश्न र प्रणाली लागु गरेको थियो । नागरिकता आवेदन दिनेहरुका सन्दर्भमा २० वटा प्रश्नहरु सोधिने र त्यसमध्ये १२ वटाको सही जवाफ दिनुपर्ने प्रणाली लागु गरिएको थियो । तर बाइडेन प्रशासनले १० वटा प्रश्नहरु सोधिने र त्यसमध्ये ६ वटाको सही जवाफ दिन आवश्यक हुने सन् २००८ कै पूरानै प्रणाली कायम गरेको छ ।

सन् २००८ को परीक्षा प्रणाली कैयनबर्षको बृहत अध्ययनपछि र १५० भन्दा धेरै संस्थाको सल्लाहसुझावहरु पछि तय गरिएको थियो । अमेरिकाको अध्यागमन एवं राष्ट्रियता ऐनको सेक्सन ३१२ मा अमेरिकी नागरिकता प्राप्त गर्नका लागि अमेरिकाका बारेमा ज्ञान भएको तथा सामान्य अँग्रेजी बोल्न, लेख्न र पढ्न सक्ने हुनुपर्ने प्रावधान रहेको छ । अमेरिकी नागरिकताको अन्तरवार्ता ९० प्रतिशतले उत्तिर्ण गर्ने तथ्यांक रहेको छ । अन्तरवार्ताका क्रममा सोधिने सबै प्रश्नहरु सजिला भने हुँदैनन् ।

धार्मिक कार्यमा संलग्नहरु अमेरिकाबाहिर एकैपटकमा १ बर्षबढी बसेपनि नागरिकताका लागि योग्य

युएससीआईएसले मे २५ मा नीति निर्देशिका अपडेट गर्दै योग्य धार्मिक कार्यमा संलग्न ग्रिनकार्डवाहकहरुलाई अब अमेरिकामा नागरिकता आवेदनको प्रयोजनामा आवासीय निरन्तरताका सन्दर्भमा छुट दिइने जनाएको छ । सामान्यतया अमेरिकामा नागरिकता आवेदन दिने ग्रिनकार्डवाहक अमेरिका छाडेको ६ महिनाभित्र अमेरिका फर्कर्नुपर्ने नियम रहेपनि धार्मिक काममा संलग्नहरुलाई भने यसको छुट दिइने नीति निर्देशिका युएससीआईएसले प्रकाशित गरेको हो ।

अर्थात् उनीहरु अमेरिकाबाहिर एकपटकमा १ बर्षभन्दा धेरै समय बसेतापनि नागरिकताको लागि आवेदन दिन योग्य हुनेछन् । अमेरिकामा अनुपस्थीतिको पहिले, अनुपस्थीतिकै अवधिमा वा पछि समेत उनीहरुले अमेरिकी नागरिकता आवेदन एन ४०० दिनसक्ने स्पष्ट पारिएको छ । उनीहरुले आवासीय निरन्तरताको संरक्षणका लागि एन ४७० समेत भर्नु नपर्ने जनाइएको छ ।

उनीहरु अमेरिकाबाहिर पूजारी वा धार्मिक सहायकका रुपमा रहेको अवधि आवासीय निरन्तरताकै रुपमा अर्थात् अमेरिकाभित्रै रहेको अवधिको रुपमा गणना गरिने छ । तर उनीहरुले अमेरिकी नागरिकता प्राप्तीका लागि अमेरिकी नागरिकका दम्पत्तिका सन्दर्भमा ग्रिनकार्ड प्राप्त गरेको ३ बर्ष र अन्यका सन्दर्भमा ग्रिनकार्ड प्राप्त गरेको ५ बर्ष पूरा भएको हुनुपर्ने मापदण्ड भने अन्य आवेदकले जस्तै पूरा गर्नुपर्छ ।

सामान्यतया अमेरिकी नागरिकताका लागि आवेदन दिंदा आवासीय निरन्तरताको नियम लागु हुन्छ । जस अनुशार ग्रिनकार्डवाहक व्यक्ति अमेरिका छाडेको ६ महिनाभित्र अमेरिका भित्र प्रवेश गरेको हुनुपर्छ । ५ बर्षको अवधिमा ३० महिना अमेरिका बसेको हुनुपर्छ । तर एकपटककै बसाईमा ६ महिना बढी  अमेरिकाबाहिर बसेको खण्डमा भौतिक रुपमा आवासीय निरन्तरता भंग हुन्छ ।

यदि विदेशमा काम गर्ने अमेरिकी सरकारको कर्मचारी भएको खण्डमा, अन्तर्राष्ट्रिय संस्थामा काम गर्ने व्यक्ति भएको खण्डमा, अमेरिकामा रहेको धार्मिक संस्थाको विदेशमा रहेको काममा गएको खण्डमा सुविधा पाउने प्रावधान युएससीआईएसमा छ । अमेरिकी सेनामा रहेका व्यक्तिका ग्रिनकार्डवाहक परिवार जागिरको कारणले ६ महिनाभित्र अमेरिका आउन नसकेका पनि छुट पाउन सक्छन् ।

गल्तीले मतदाता नामावलीमा दर्ता भएकालाई अयोग्य नठहराइने

गल्तीले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका गैर नागरिकहरुलाई अमेरिकी नागरिकताका लागि अयोग्य नठहराइने भएको छ । मे २७ मा युएससीआईएसले आफ्नो नीति निर्देशिकामा अपडेट गर्दै राज्यका विभिन्न सुविधाका लागि आवेदन दिने क्रममा गल्तीले मतदाता नामावलीमा दर्ता गराएका गैर नागरिकहरुलाई अमेरिकी नागरिकताका लागि अयोग्य ठहर नगरिने स्पष्ट पारेको हो ।

अमेरिकी नागरिकताका लागि योग्य हुन राम्रो नैतिक चरित्र भएको पुष्टी गर्न आवश्यक छ । अमेरिकी नागरिक भएको भन्दै विगतमा झुठो विवरण दिएकाहरु वा जानाजान मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका वा संघीय चुनावमा मतदान गरेकाहरु अमेरिकी नागरिकताका लागि राम्रो नैतिक चरित्र नभएको आधारमा अयोग्य हुने नियम रहेको छ ।

राष्ट्रिय मतदाता दर्ता ऐन १९९३ ले राज्यहरुलाई राज्यको मोटर गाडी प्राधिकरणबाट ड्राइभर लाइसेन्स वा स्टेट आईडी प्रदान गर्ने बेलामा योग्य मतदाताहरुलाई नाम दर्ता गराउने अवशर प्रदान गर्ने व्यवस्था गरेको छ । सोही अनुशार कैयन राज्यहरुले ड्राइभर लाइसेन्स वा स्टेट आईडी प्रदान गर्ने बेलामा सोही फर्ममा मतदाता नामावली दर्ताका लागि समेत व्यवस्था गरिएको छ ।

ड्राइभर लाइसेन्स वा स्टेट आईडी प्राप्त गर्ने बेलामा गैर नागरिकले आफूलाई नागरिक दावी गर्दै मतदाता नामावलीमा नाम दर्ता गराएको खण्डमा त्यसले भविश्यमा अमेरिकी नागरिकताका लागि आवेदन दिंदा व्यक्तिलाई नागरिकता प्राप्त गर्नका लागि अयोग्य ठहर गर्नसक्छ । युएससीआईएसबा जारी नयाँ अपडेटमा यसरी मतदाता नामावलीमा गल्तीले नाम दर्ता गर्दा पर्ने प्रभावबारे स्पष्ट पारिएको छ ।

यदि आवेदकले अन्जानमा वा आफ्नो इच्छा बेगर मतदाता नामावलीमा नाम दर्ता गरेको भएमा त्यस्तो व्यक्तिलाई कारवाही नगरिने युएससीआईएसले प्रष्ट पारेको छ । यदि आवेदकले ड्राइभर लाइसेन्स, स्टेट आएईडी वा राज्यका अन्य कुनै सुविधा लिने बेलामा मतदाता दर्ता सेक्सन भरेको छैन वा विद्युतीय तथा अन्य कुनै हस्ताक्षर गरेको छैन भने युएससीआईएसले त्यसलाई गैरकानूनी रुपमा मतदाता नामावलीमा नाम दर्ता गरेको मान्नेछैन । अर्थात् उनीहरुको कारवाहीको भागिदार हुनेछैनन् ।

न्युयोर्कमा ड्राइभर लाइसेन्स वा स्टेट आइडी लिने बेलामा मतदाता नामावलीमा नाम दर्ता गराउन लाइसेन्स वा स्टेट आईडीको फर्ममा यो सेक्सन उपलब्ध छ ।

यदि आवेदकले आफू अमेरिकी नागरिक भएको कुरा सकारात्मक रुपमा आवेदनमा कतै उल्लेख गरेको छैन भने पनि त्यस्तो अवस्थामा आवेदकले गैर कानूनी रुपमा मतदाता नामावलीमा नाम दर्ता गराएको नमानिने युएससीआईएसले स्पष्ट पारेको छ । तर यस्तो अवस्थामा उसले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको छ भने उक्त फर्ममा अमेरिकी नागरिकताबारेको प्रश्न नरहेको वा आफूले अमेरिकी नागरिक भएको कुरा कतै संकेत वा उल्लेख नगरेको प्रमाणित गर्ने भार आवेदकमाथि पर्छ ।

यदि आवेदनमा नागरिकताबारेको प्रश्न रहेको र गैरनागरिक आवेदकले जानाजान आफू नागरिक भएको उल्लेख गरेको रहेछ भने त्यस्तो अवस्थामा भने गैरकानूनी रुपमा मतदाता नामावलीमा नाम दर्ता गराएको ठहर्नेछ । त्यस्तो व्यक्ति राम्रो नैतिक चरित्र नभएको आधारमा अमेरिकी नागरिकता प्राप्त गर्न अयोग्य हुनसक्नेछ । ड्राइभर लाइसेन्स वा स्टेट आइडीको फर्म भर्दा पनि नागरिकताबारेको प्रश्नमा आफू नागरिक भएको उल्लेख गरेमा गैरकानूनी हुनेछ ।

अमेरिकी सेनामा विगतमा काम गरेका तर अहिले अमेरिकाबाहिर हुनेहरुले पनि नागरिकता आवेदन दिनसक्ने

युएससीआईएसले मे २८ मा पोलिसी अलर्ट जारी गर्दै अहिले अमेरिकाबाहिर बस्तै आएका र विगतमा अमेरिकी सेनामा सेवा गरेकाहरु अमेरिकी नागरिकताका लागि योग्य हुने प्रावधानबारे स्पष्ट पारेको छ । तोकिएको अवधिसम्म सेवा पूरा गरेकाहरु अहिले अमेरिकाबाहिर रहेपनि अमेरिकी नागरिकता प्राप्त गर्न योग्य हुने नीति निर्देशिकामा स्पष्ट पारिएको छ ।

सामान्यतया अमेरिकी सेनामा सेवा गरेको आधारमा अमेरिकी नागरिकताका लागि आवेदन दिनेहरुले निश्चित शर्तहरुका आधारमा अमेरिकी ग्रिनकार्ड प्राप्त गर्न आवश्यक हुँदैन । जस अनुशार अमेरिकी सेनामा तोकिएको अवधिभर राम्रोसँग काम गरेर सम्मानजनक तरिकाले डिस्चार्ज भएका तर ग्रिनकार्ड नभएकाहरु अहिले अमेरिकाबाहिर बसेको भएतापनि अमेरिकी नागरिकताका लागि आवेदन दिन योग्य हुन्छन् ।

उनीहरुले अमेरिकामा नागरिकता वा सपथग्रहण समारोहमा भाग लिनका लागि परोल प्राप्त गर्नसक्ने व्यवस्था रहेको छ । त्यसरी अमेरिकाबाहिर रहेकाहरुले नागरिकताको अन्तरवार्ता अमेरिकामा नै दिनुपर्ने प्रावधान रहेपनि युएससीआईएसले सीबीपीसँगको समन्वयमा तजविजका आधारमा त्यस्तो अन्तरवार्ता पोर्ट अफ इन्ट्रीमा समेत लिनसक्नेछ ।

मे २४ मा युएससीआईएसले नीति निर्देशिकामा अपडेट गर्दै अमेरिकी सरकारका तर्फबाट विदेशमा काम गर्ने अमेरिकी नागरिक कर्मचारीहरु र अमेरिकी सेनाका सदस्यहरुका विदेशमा जन्मिएका सन्तान स्वत अमेरिकी नागरिक हुने प्रावधानका सन्दर्भमा थप सुधार गरेको छ ।

अमेरिकी सेनामा काम गर्नेहरु र अमेरिकी सरकारका कर्मचारीका  विदेशमा जन्मने बच्चाहरुका सन्दर्भमा

विदेशमा जन्मने बच्चाहरुका सन्दर्भमा जन्मदाको बखत बुबाआमामध्ये एकजना अमेरिकी नागरिक र अर्को अमेरिकी नागरिक नभएको खण्डमा पनि त्यस्तो बच्चा स्वत अमेरिकी नागरिक हुने प्रावधान छ । तर त्यसका लागि विगतमा अमेरिकी नागरिकताप्राप्त बुबाआमामध्ये एकजना विगतमा अमेरिकामा कम्तीमा ५ बर्ष बसेको हुनुपर्छ । बुबाआमामध्ये एकजना १४ बर्ष उमेर नपुग्दैमात्र ५ बर्ष बसेको भएमा त्यसलाई मान्यता दिइदैन, ५ बर्षमध्ये १४ बर्ष उमेर पुगेपछि कम्तीमा २ बर्ष अमेरिकामा बसेको हुनुपर्छ ।

तर अमेरिकी सेनामा काम गर्नेहरु र अमेरिकी सरकारका निकायमा वा योग्य संगठनहका विदेशमा रहेका कर्मचारीहरुका सन्दर्भमा भने विदेशमा जागिरको दौरान विताएको समयलाई पनि अमेरिकामा भौतिक उपस्थीतिका रुपमा नै गणना गरिने स्पष्ट पारिएको छ । विगतमा यसबारे केही प्राविधिक अष्पष्टता रहेकोमा अहिले स्पष्ट पारिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com