बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई ग्रयाजुएसनपछि वर्क परमिट दिने नियम लागू


प्रकाशित मिति : असार १८, २०७८ शुक्रबार

बेलायत सरकारले क्षमतावान अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरि ल्याएको ग्रयाजुएट इमिग्रेसन रुट औपचारिक रुपमा  १ जुलाईबाट लागू भएको छ ।

ग्रयाजुएट इमिग्रेसन रुटमार्फत अब बेलायती विश्वविद्यालयबाट डिग्री गर्ने विद्यार्थीले दुई वर्ष र पिएचडी वा डक्टोरल गर्ने विद्यार्थीले तीन वर्षको वर्क परमिट (पिएसडब्लु) पाउने छन् ।

‘बेलायती विश्वविद्यालयबाट ग्रयाजुएट सकेका विद्यार्थीले अब जुनसुकै क्षेत्रमा फूलटाइम काम गर्न पाउने गरि पिएसडब्लु भिजा अप्लाइ गर्न सक्छन्’, लन्डन र नेपालस्थित युनी ल्याडर कन्सल्टेन्सीका निर्देशक गणेश खड्काले भने, ‘पढाइमा लगनशील र उत्कृष्ट क्षमता प्रदर्शन गर्ने विद्यार्थीलाई बेलायत सम्भावनाको देश बनेको छ । अब कामसंगै भिजा परिवर्तन गरेर ‘सेटलमेन्ट रुट’ मा जाने बाटो पनि खुलेको छ ।’

खड्काले ‘ट्रयाक रेकर्ड अफ कम्प्लाएन्स’ भएका युनिभर्सिटीहरुबाट डिग्री गर्ने विद्यार्थीले मात्र पिएसडब्लु भिजा अप्लाइ गर्न सक्ने बताए ।

बेलायतको नयां नियमबाट नेपाली विद्यार्थी समेत लाभान्वित हुनेछन् । अहिले बेलायती विश्वविद्यालयमा अध्ययन गर्न आउने नेपाली विद्यार्थीको संख्या बढिरहेको छ । तर, कोरोना महामारीसंगै जारी निषेधाज्ञका कारण कयौं विद्यार्थी नेपालमै अड्किएको शैक्षिक परामर्शदाताहरु बताउंछन् ।

बेलायतले गत अप्रिल २०१२ मा पिएसडब्लु रुट खारेज गरिदिएको थियो । ब्रेक्जिटसंगै बेलायतले गत १ जनवरीदेखि आफ्नो अध्यागमन नियममा परिवर्तन गर्दै अंकमा आधारित बनाएको छ ।

क्षमतावान उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पढाइपछि बेलायतमै ‘करिअर’ बनाउन अवसर दिने नीति सरकारको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com